~रामु गैरे~
सुनसान रात छ
गाडीहरुको हुइँयको आवाज
मात्रै आउँछ
निन्द्रा पटक्कै लाग्दैन
कोल्टे फेर्छु
१२ बज्छ
मनभरि कुरा खेल्न थाल्छन्
मेरो वरिपरिका साथीहरु
मस्त निन्द्रामा
सुतिरहेका छन्
चरीहरु पनि मस्त निन्द्रामा छन्
मनभरि घरको याद्ले
छट्पटाइरहेको छ
फेरि कोल्टे फेर्छु
१ बज्छ
त्यो माली गाई अनि त्यो
गाउँ-घर, ती साथीहरु
अनि त्यो मायाको
मुसुक्कको हाँसो लजालु
बानी त्यसैमा त्यो गाजलु
आँखा अनि
हाँसेर अँगालोमा राखेर
अनि मेरो त्यो जिस्कने बानी
मेरो मस्तिष्कमा तड्पाइरहन्छ
मेरो छोराको याद
फेरि कोल्टे फेर्छु
२ बज्छ
अनि पागल सरि
आफैँमा हाँसो लाग्छ
जिन्दगीले किन यस्तो
मोड लियो कता कता
निन्द्रामा पर्न थाल्छु
फेरि कोल्टे फेर्छु
३ बज्छ
निन्द्रामा पर्ने बित्तिकै
घडीको सुइले
बिउँझने संकेत गर्छ
किनभने मलाई
नोकरीमा जानुछ ।
अर्घाखाँची चिउरामाटी हाल : दुबइ
(स्रोत : कविता कुसुम)