~रुकला अनुरागी~
छोडेर कहिल्यै नफर्किने
बितेका ती वसन्तहरू
उभिएको छु म यो दोबाटोमा
जहाँबाट सुरु भएको छ
मेरो नयाँ परीक्षा ।
फर्केर हेर्छु र छोडेर आएका वसन्तहरू
श्यामश्वेत भइसकेछन्
तर आउँदै गरेको वसन्तजस्तै
ती पनि कति रङ्गीन थिए है !
छोएर हर्ेन खोज्छु
छोडेर आएका पाइलाहरू
मेटिन थालिसकेेछन्
कतै म डुङ्गा त भइनँ –
प्रश्न सोध्छु आफैंलाई ।
पल्टाउँछु पुराना पानाहरू
देख्छु फूलमाथि टेकिएका
रक्ताम्य पाइतालाहरू
र काँडामाथि टेकिएका
साविक पाइतालाहरू
जहाँ लेखिएका छन्
जीवनका दर्शनशास्त्रहरू
बुझन खोज्छु जीवन ।
उभिरहेछु म यो देउरालीमा
सङ्कल्प बोकेर
नखनिएको गोरेटो हिँड्ने ।
यसैवेला
कविताहरू पर्खिरहेछन् शब्द
गीतहरू पर्खिरहेछन् सङ्गीत
क्यानभासहरू पर्खिरहेछन् रङ्ग
सारङ्गीहरू पर्खिरहेछन् धून ।
राम्ररी खोज्न चाहन्छु आज
यी पर्खाइहरूमा
कतै न कतै हुनर्ुपर्छ म ।
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)