~गङ्गा कर्माचार्य पौडेल~
छोराको उदण्ड स्वभाव देखेर सुन्तलिले सम्झाउँदै भनिन् “हेर बले तँ खराव मान्छेको सङ्गत गरेर अरुलाई किन दुःख दिन्छस् ? सात पल्ट जाँच दिएर भएपनि एस.एल.सी पास गरेकै छस् बरु कलेज भर्ना भएर खुरखुरु पढ । भविष्यमा ठूलो मान्छे बन्नु पर्छ क्या ।”
त्यहिबेला उनले झट्ट ज्योतिषको भविष्यवाणी पनि सम्झिन र फेरी भनिन्– “ साँच्ची त जन्मेपछि ज्योतिषले घडीपलाको हिसाब गरेर राशी नक्षत्र जुराएर यो वालक पछि गएर ठूलो मान्छे बन्नेछ, धेरै धन कमाउनेछ, उसको नाम पत्रपत्रिका जताततै छापिने” भनेर भविश्यवाणी गरेका थिए । उनको भविष्यवाणी त ठयाक्कै मिल्छ रे बाबै ।”
आमाका कुरा सुनिसकेपछि बलेले छाती फुलाएर भन्यो “हेर्नुस् आमा म त ठूलो मान्छे बनी सकें । मलाई देख्नु त के मेरो नाम सुन्नासाथ मान्छेहरु थर्कमान हुन्छन् । व्यापारी, ठेकदारहरु खामभित्र भेटी राखी मलाई चढाउन ल्याउँछन् । प्रभावशाली पनि उत्तिकै छु म । यो देशका नेता, मन्त्रीहरुको दाहिने हात भएको छु । उनीहरुलाई परेको बेलामा म नभै हुन्न ।”
एकछिन मौन रहेर बलले फेरि भन्यो “पढ्ने रे केलाई पढ्ने, किन पढ्ने ? दुःख गरि गरि पढ्यो जागिर पाउँनै कठिन । दश जनाको चाकरी गरेर बल्ल बल्ल जागिर खायो तलवले घर खर्च टार्नै मुस्किल । त्यसतो लुते जिन्दगी जिउन भन्दा त यि……….. म जस्तो ‘डन’ बन्नु पर्छ । हेर्नु त अहिले म संग के छैन ? नाम, दाम, सब थोक छ ।”
उसका कुराले सुन्तलीको दिमाग रन्थनियो । दुबै हातले टाउको समातेर उनी थचक्क भुईमा बसिन् ।
(स्रोत : Samajkoawaj)