~बाजुराम पौडेल~
आगोको पनि धर्म हुन्छ यसको छोई नपोल्ने हुनु
काँडाको पनि धर्म फूलसँग भै घोच्दा नदुख्ने हुनु
धोएका मनभित्र पस्न त्यसरी आगो तरेली बनी
लाखौँ हात उठाइदिन्छ युगको भाका करोडौँ लिई ।
माला बन्दछ मञ्जरी कुसुममा त्यै पल्लवी रागमा
पग्ली सुन्दर तेजमा सलसली बग्छन् सबैका मन
आगो भित्र रहन्छ शीतलपना, पानी, फुलेको वन
उर्ली सागर बग्दछन् घरघरै तिर्खा हटाई दिन ।
आगो देह कला निली समयको सुन्दैन कोलाहल
फुल्नै वैलिदिने रहन्छ क्रममा आएर त्यो हल्चल
बोले बोल्दछ, जल्छ, जल्न नकसे देखिन्छ आकारमा
आकाशैभर ‘प्रेम’ फुल्छ नफुले बग्दैन खोला यहाँ ।
सम्झन्छन्, म फुलिरहेछु यसरी थुङ्गो फिलिङ्गो हुन
पर्खन्छन् नवबैंसमा नयनले डोली चढी अन्मन
आगोमै म फुली जनम् जनमको शालीनता – कोमल
धर्तीमा जति फुल्दछन् त्यति सबै हुन् युद्धकै कौशल ।
राँके-दौड कुदेर पुग्छु म त्यतै बाटो बढाई बडो
आˆनै पौरखमा बनेर झरिलो बाली झुलेको गरी
आगोभित्र म फुल्न सक्छु जलको थोपा उकेली कन
आगोमै म रमाइदिन्छु मनको धोको पुर्याई दिन ।
– जोरपाटी, काठमाडौँ
(स्रोत : मधुपर्क २०६५ चैत)