~देबेन्द्र बस्याल~
दशैंमा रंगीन टिका थाप्ने
तिहारमा गलामा माला लगाउने
तिजमा लाखे बनेर हँसाउने
मिठो चोखो खाएर राम्रा लुगा लगाउने
मेरो पनि इच्छा थियो तर…..
दशैंमा ममीलाई ढोगेर आषिर्वाद लिने
दाजुलाई ढोगेर शिक्षालिने
दिदीबहीनिलाई ढोगेर दक्षिणा दिने
मेरो पनि इच्छा थियो चाडबाडमा घर फर्किने तर…
सके चौपारीको बर-पिपलमा पिङ हाल्ने
नसके चर्केपिङ र लूठो खेल्न
खोलापारी गैरी गाऊँ जाने
बेलुकी देउसीभैलो नाच्दै नाच्दै घर फर्किने
मेरो पनि इच्छा थियो तर….
वसन्त याममा कोईली संग मित लाउने
बिहानी पख हिमाललाई हेरेर मुसुक्क हास्ने
तारेभिरमा गीतगाउदै घासकाट्ने
कालीको बहावसंगै सुसेली हाल्ने
मेरो पनि इच्छा थियो तर …..
मैले राष्ट्रकोलागी रेमिट्यान्स कमाउनु छ
परिवारको निम्ति रसामको जोहो गर्नु छ
खुकुरीको धारमा ज्यानराखी
ठूलो लाहुरे कहलिनु छ
मेरो पनि इच्छा थियो तर…..
मैले लगानी गर्ने धन नपाएर हो
सानो पनि देसमा काम नपाएर हो
स्वदेसमै म बेरोज़गार बनेर हो
गाऊँ घर छोड्न म बाध्य भको हो
मेरो पनि इच्छा थियो तर….
एकदिन म राष्ट्र प्रमुख बन्नु छ
यो देसको काँचुली फेर्नु छ
बेसाहाराको मनमा बस्नु छ
शोषकको राज्यमा आँधील्याउनु छ
मेरो पनि इच्छा थियो तर…..
फर्कौं भो साथीहो कति बस्नु प्रबासमा
एकमुठी पानी खाई बाँच्न सिकौ स्वदेशमा
एकता फुल रोपौं बारीमा
मुक्ति जुक्ति खोजौं स्वदेश मै
मेरो पनि इच्छा थियो तर…..
– देबेन्द्र बस्याल, जापान
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )