~सुधीर ख्वबि~
‘दिनपछि रात, रातपछि दिन किन ?’ – मैले सोधें उसलाई, फेसबुकको च्याट बक्समा।
‘सुखपछि दुःख, दुःखपछि सुख किन ?’-प्रतिप्रश्न रोप्यो मेरो मनमा उसले।
जवाफमा म चुप बसें नजर भित्ताको घडीमा गएर अडियो १२ बज्न लागिसकेथ्यो ।
‘सुखमा दुःख लुकेको हुन्छ अनि दुःखमा सुख नदेखिने हुन्छ।
रातले दिनलाई, दिनले रातलाई पछ्याइरहेको हुन्छ’ -पवनले च्याटबक्समा लेखेर पठायो। म उसको यो दार्शनिकता नबुझेर एकछिन अलमल परें।
‘सुनीता जी आज के भो ? भावुक देखिनु हुन्छ नि’
अँ,- मैले यति लेखेर निन्द्रामा बरबराउन थालेकी मेरी पाँच वर्षकी छोरीको मुख हेरें।
‘किन के भो ?’ – फेरि प्रश्न तेर्साइ हाल्यो उसले।
मैले जवाफ होइन प्रतिप्रश्न गरें – ‘रातपछि कहिले दिन नआवस अनि दिनपछि कहिले रात नआवस के यो सम्भव छ ?’
‘यस्तो वितृष्णा जिन्दगीप्रति ?’ शब्दमा आश्चर्य मिसिएर आयो।
मैले मात्र अँ भने।
ए – एउटा जानकारी प्रेषित गर्यो उसले।
‘दिनसँग बिताउने कला सिक्दासिक्दै रात आइदिन्छ, अनि रातसँग बाँच्न सिक्दासिक्दै दिन आइदिन्छ’ -मैले आफ्नो अलमल पोखें,- ‘त्यसैले कैले सिकिन मैले’
‘दिनलाई पनि रात जस्तै बाँच्न मिल्छ’- फेरि अर्को सुझाव पठायो उसले।
‘उफ़ !’, – मैले लामो सास फेरें कति बोल्न सक्ने, उसको लेखाई मैले बोली नै ठाने।
‘अनि सुनौलो बिहानी ?’
‘पर्खाइमा छ’ – मैले भने।
‘सिन्दुरी साँझको के कुरा छ ?’
‘थाहा नै भएन मलाई’ – मैले थपें – ‘मेरो साँझ सिन्दूरी हुन नपाउंदै अँध्यारोमा रुपान्तर हुने गर्छ।’
‘बिना उज्यालोको रंग,खुशीको उमंग कहाँ हुन्छ जिन्दगीमा ?’- ऊ कहाँ चुप हुने मान्छे हो नि। सायद नाम जस्तै चंचलता छ उसमा।
‘केही थाहा भएन’ – मैले लाचारी पोखें – ‘म सपनामा होइन विपनामा बाँच्ने मान्छे।’
‘बिपना कता हरायो त ! चोरी भयो कि ?’ – उसको वाक्पटुतादेखि दिक्क लाग्न थाले जस्तो भो मलाई।
‘पर्खाइमा छु’ – तर पनि जवाफ लेखें।
‘तपाई कवि जस्तै लाग्यो’ -उसले अँध्यारोमा गोली हान्न खोज्यो। किन किन मलाई हाँस्न मन लाग्यो।
‘तपाईंको मनोभावले यस्तै लाग्यो मलाई’ – उसले साबित गर्न खोज्यो।
‘छैन मैले लेखेको’ – मैले स्पस्ट पारें -’मलाई त चिट्ठी नै लेख्न आउँदैन, कहाँको कविता नि जिन्दगीको बारेमा।’
‘मैनबत्ती झैँ कविता बाल्नुस , मनको अँध्यारो बिस्तारै हट्छ ‘
‘सायद’ – म विस्वस्त हुन सकिन।
‘डेफिनेटली ‘ – ऊ विस्वस्त थियो – ‘अरु भन्नुस !’
‘केही छैन’-
‘मेरो मनमा धेरै प्रस्नको छाल उर्लिरहेछ,यो निरासाको बादल किन ?’- उसको प्रश्न रोकिएन।
किन यो प्रस्नको भेल ? मलाई दिक्क लाग्न थाल्यो, यो पनि त पुरुष नै त हो नि, आफ्नो अनुहार देखाउन थाल्यो, मनमनै सोचें।
‘निराशा होइन आशै आशा’ – मैले जोड गरें।
‘निरासाभित्रको आशा ?’ – उसको प्रश्न तयार थियो।
‘होइन’ – म पनि अडें आफ्नो कुरामा।
के नि ?
‘खोइ मलाई नि थाहा छैन’ – मेरो लेखाइमा झर्काइ महसुश भो आफैलाइ । नयाँ साथी, उसको बारेमा खासै केही थाहा छैन मलाई। एक दुई पटकको च्याटमा कुरा गर्ने तरिका राम्रो लाग्यो सायद मान्छे पनि ,बैचारिक रूपमा। प्राय: राति अबेर सम्म अनलाइन देख्छु म। र म पनि प्राय: अबेरसम्म अनलाइन नै हुन्छु । च्याटको क्रम सुरु भएको कारण यो पनि हुन सक्छ ।
अनि एउटा कुरा सोधुँ ? – मैले सोधें ।
‘के कुरा ? सोध्नुस ‘ -उ उत्साहित जस्तो देखियो ।
‘अनम्यारिड हो ?’ – मैले सोधिहालें ।
‘नोप ! ‘ – उसले इमान्दारिता देखायो ,मलाई राम्रो लाग्यो। एकछिन जिस्किने मन भो।
‘अनम्यारिड भए ……….’ – मैले वाक्य अधुरो छोडें। तर उसलाई थाहा छ मेरो एउटा पाँच वर्षकी एउटी छोरी छ भनेर ।
‘अनम्यारिड भए ………. के ?’ – उसको जिज्ञासाले घेर्यो मलाई ।
‘केही पनि होइन’- मैले कुरा फेरें।
अचानक एउटा प्रश्न बम पड्के सरी सोध्यो, उसले मलाई – ‘हब्बी’ के गर्नु हुन्छ नि ?’
‘के हो हब्बी भनेको ?’- बुझेर पनि अन्जान बनेर उसैलाई सोधें। मेरो प्रश्नमा सायद कठोरता महसूस गर्यो उसले।
‘हजबेन्ड नि’-आफ्नो प्रश्नप्रति उसलाई गुडफील भएन सायद । तर यो प्रश्नले मलाई सँधै पछ्याइरहन्छ किन? यो कुरा मलाई बताउन मन छैन। श्रीमानको कुरा उठ्नासाथ म मर्माहत् भन्दा पनि आक्रोशमा आउँछु।
मैले लेखिहालें- ‘को श्रीमान्, कस्तो श्रीमान् ?’- मेरो प्रतिक्रियाले सायद ऊ अवाक बन्यो। मेरो आक्रोशलाई महसूस गरे। च्याटबक्समा शुन्यता छायो ।
‘आई एम सरी !’- उसले लेख्यो ।
सोध्नु उसको गलती थिएन तर मेरो प्रतिक्रियाले उसमा गल्तीबोध गराइदियो। मेरो अतीतको कुरा म कसैलाई पनि बताउँदिन। प्रश्न तेर्सिरहन्छ तर कमैलाई सत्य, धेरैलाई ढाँटेर आएकी छु। किनकि एउटा प्रस्नको जवाफपछि सयौं प्रश्न पछिपछि लाग्छ , मलाई थाहा छ।
‘सरी अगेन ‘- उसको गल्तिबोधको बोझ बिसाउनु ठिक लाग्यो मलाई ।
‘पवन जी ! लाइफ यस्तै हो ,उसलाई म बाट खोसेर लग्यो कसैले अथवा भनुँ आफै खोसिएर गयो। अरुलाई म यो कुरा बताउँदिन ‘ – मैले मनको घाउ फेरी खोलें।
‘अनि मलाई पनि नबताए नि हुन्थ्यो नि ‘-उ अझ असहज थियो , सायद !
‘खै नबताई बस्न सकिन तपाइलाई ‘ – मैले स्वीकारें सत्यलाई।
‘तपाईंको र छोरीको फोटोमा त्यो खुशी देखिन् मैले, मेरो नजरको दोष लाग्यो मलाई । किन देखिन् मैले त्यो मुहारमा खुशीको झिल्को , देख्नु पर्थ्यो मैले ‘ – उ अपसोच मान्दै थियो।
‘आई हेट ड वर्ड हसबेंड ! मान्छे कतिन्जेलसम्म आफैले आफैलाई ढाँटीरहन सक्छ र ? ‘ -मेरा शब्दहरु पुन आक्रामक बने -’सो ह्वाट टु डु…!’
‘माया पनि मागेर, खोसेर वा रोएर पाइन्छ र ? मैले यस्तै गरेर दुख दिएँ स्वास्नी भएर लोग्नेलाई …. सो आई हेट ड वोर्ड्स हज्बेंड एंड वाइफ ! … तर अन्त मैले जे गरे राम्रै गरे …जिन्दगीमा ठुलो निर्णय गर्न सफल भएँ। न लडाई न झगडा …. न अंश न मुद्धा ….! मेरी छोरी म संगै छे … डाट्स अल …जिन्दगी सँधै किचकिच गरेर बाँच्नुभन्दा ठूलै निर्णय गर्नु राम्रो रहेछ, जति पीडा भए पनि …।’- ल्यापटपको डिस्प्ले धमिलो भएर आयो।आँखामा आँसुको पर्दा लागिदियो चालै नपाई।
‘भन्नुस म चुपचाप सुनिरहेछु भूइंचालोको आवाज ‘ – पवन मर्माहत भए सायद।अक्षरहरु काँपेको जस्तो लाग्यो।
‘थाहा नै नपाई आँखै रसाइदिन्छ कहिले काहिँ ….अनि बेस्सरी रुन्छु म, तर एक्लै रुन्छु र सोच्छु ममा कमि रहेछ धेरै ‘ – मैले मन थामी थामी पोखें पीडाका रंगहरु।
‘मेरा अभिव्यक्तिले किन तपाईंका मन छुन सके बुझ्दैछु ‘- पवन लेख्दै थिए । म मनकोघाऊ फुकाउनतिर लागें।
‘जन्मेर रमाएको थाहा पाउने बेला आमासँग बिछोड …कसैको हात समाएर जीवन हाँकने बेला जीवनसाथीसंग बिछोड …अनि नदेखिने धेरै बिछोड अरु पनि। अझै सम्झन्छु आँगनमा बसेर कैयन रातमा जून हेर्दै आमा !! भनेर रोएको ….साँचै! म जून लागेको रातमा दौडीन्थे। आमालाई देखिन्छ कि भनेर सानो बेलामा। अहिले पनि मलाई रात मन पर्छ। अन्धकारभित्र मनको अँध्यारो साट्नुको मज्जा छुट्टै हुने गर्छ। पीड़ा पोखेर मन एकैछिन हलुङ्गो हुने मात्र हो अरु केहि हुदैन। त्यसैले मैले पीड़ा पोखेकी छैन कसैको पनि सामु। पोखिने भए फेरी भरिन्छ त्यहिँ पीड़ा किन ….? समय मिल्यो …र यो सुनसान रात …केहि कुरा निस्किए मनभित्रबाट …बस ! मन पीड़ाको मुहान बन्दो रहेछ।
संधै उर्लिरहने यो मुहानलाई एकैछिन थुन्न सकिएको भ्रम हुन्छ नि कहिले काहिँ …त्यति बेला खुसीले उन्मत्त हुन्छौ हामी ….
तर थाहै नपाई यो मुहान यसरी उर्लिंछ कि कुनामा बसेर रोइन्छ की निथ्रुक्क होइंछ आँसुले रोम रोम मेरो ….|’
ऊ मौन, केही लेखेन मेरो कुरामा सायद स्तम्भित बने – ‘किन चुपचाप ?’
‘होइन ‘ – ऊ व्यथित पनि थियो सायद, फूलको पीडामा मन रुने कुरा गर्ने मान्छे !
‘ह्वाट हपेंड ? मैले सोधें।
‘आई आएम शक्ड, स्पीच लेस ‘ – ‘जिंदगीको भोगाई किन दर्दनाक हुने गर्छ ‘
‘इट्स माई लाइफ … डेएर आर सो मेनी मिस्टेरिज़ …’
‘मैले बुझें तपाईंको जिन्दगीको कथा , भोगाई र पीडाहरु
अब ? नयाँ यात्रा थाल्ने होइन !’ – पवनको अनुरोध।
‘ के थालिन्छ र अब नयाँ यात्रा ! यो छियाछिया परेको मुटुमा भावनाको तरंग उर्लन छोडिसके। मसँग मेरी छोरी छे, मेरो जिंदगी मेरो यात्रा अब उनीसँग मात्रै।’ – पवन सायद अफलाइनमा गैसकेको थियो। बिना गुडबाई, बिना गुडनाइट ! सायद … मात्रै भन्न सक्छु म।
**********
‘पवन जी’
‘मलाई थाहा थिएन, तपाईँले मेरो कथा यसरी सार्वजनिक गर्नुहुन्छ भनेर। म अक्सर सोध्थें साथीहरुलाई, दिनपछि रात , रातपछि दिन किन आउँछ’ भनेर, तर अब मलाई यो कुरा कसैलाई पनि सोध्न मन छैन। तपाईँलाई बधाई छ, तपाईँ प्रशंसाको बाली थन्काउँदै हुनुहुन्छ नि, फेसबुक च्याट कथामार्फत्।’
मैले मेसेज सेन्ड गरें। पवन अफलाइनमा छ भन्ने मेसेज डिस्प्ले भयो। पछिल्लो समय उसित पटक-पटक च्याट गरेको कुरालाई नै उसले कथा बनाएर माइसंसार डट कममा प्रकाशित गर्यो, फेसबुक च्याट नाम दिएर। मेरा कतिपय साथीहरुले यसबारे सोधखोज गरे मसित। मलाई उसित हार्दिक गुनासो गर्नु थियो। यद्यपि उसले किटानी जाहेरी गरेको थिएन। तर पनि किन हो किन मलाई यो कुराले असहज महसूस भैरहेको थियो र एउटा गुनासो जायज पनि छ , मैले गरें पनि।
म अनलाइन बसेको धेरै बेर भैसकेको थियो। पवन अनलाइनमा थिएन। म उसको प्रतीक्षामा बसेकी थिएँ। ऊ सायद व्यस्त हुनसक्छ अथवा इन्भिजिबल भएर बसेको होइन भन्ने कुरा त थाहा पाइहालें। अथवा लोडशेडिङको मार खेपिरहेको पनि हुनसक्छ। मैले मनमनै सोचें केहीबेर बस्छु अनि सुत्नु पर्ला। यतिकैमा मेरो एकदम मिल्ने साथी सुषमा अनलाइनमा देखापरिन्।
‘ के छ सुनिता !’
‘सब ठीक छ… फूलहरुको रंगले जीवनको क्यानभास सजाउने जमर्को गर्दैछु, काँडाले चोपेर…’- मैले आफ्नै पारामा जवाफ दिएँ।
‘अनि तेरो नि …?’- धेरै दिनपछि ऊ च्याटमा आएकी थिई। एकदम मिल्ने दु:खसु:खकी साथी।
‘तेरो के छ नि ! प्रकाश कहिले आउँदैछ नि तिमीलाई लिन अमेरिकाबाट ?’- मैले फेरि सोधें।
लेखेको मेसेज सेन्ड गर्न नपाउंदै बत्ती झ्याप भैहाल्यो। बत्ति आउनु जानुको कुनै समय नै छैन। तालिका त छ तर तामेली छैन। मनपरी छ अचेल यहाँ, जहाँ कहीं। यतिकैमा मोबाइलको मेसेज टोन बज्यो। पवनको सन्देश रहेछ – ‘ सुनिता जी, कल गरूँ कि …?’ मलाई रेस्पोन्स गर्न पनि मन लागेन। मोबाइलको स्वीच अफ गरें। अनुमति बिना फोन गर्ने मान्छे पनि होइन ऊ। तर पनि किन हो किन मलाई मैले उसको सामु खोलेको मेरो जिन्दगीको घाउको सार्वजनिकीप्रति मेरो गम्भीर आपत्ति कायम भइदियो। जुन कुरा सही छ वा गलत मलाई थाहा छैन। फेरि बत्ति आयो। मलाई दिक्क लाग्छ, बत्तिको यो लुकामारी देखेर पनि।
सुषमा फेरि देखापरी अनलाइनमा -’ के भो किन अफ गरेकी ?’
‘केही होइन, यो आकस्मिक प्रक्रिया हो, यो नेपाल हो नि जहाँ चौबीस घन्टामा चार घण्टा मात्रै बत्ती आए नि कसैलाई केही मतलब हुँदैन, विदेश जस्तो हो र जहाँ पाँच मिनेट मात्रै बत्ती निभ्यो भने पनि सारा देश स्तब्ध हुने ‘ – मैले आफैप्रति तीतो पोखें।
‘तेरो के छ सुना न’- मैले उसलाई अन्त मोड्ने प्रयास गरें।
‘केही त छैन तर…! तिमी फूलको रंगले जिन्दगी सजाउँदैछौ, म रंगहीन फूलले’
मलाई उसको भाषा सशंकित लाग्यो, कुनै गहिरो रहस्यभित्रको शून्यताको आभास भयो मलाई। सायद … म केही भन्न सक्दिनँ। मैले सोचेको कुरा गलत पनि हुनसक्छ।
तर पनि मैले सोधें – ‘ किन के भो ?’
जवाफ आएन। मेसेज बक्समा टाइप हुँदै गरेको संकेत देखियो। मैले मेरो प्रोजेक्ट वर्कको कामलाई थन्काइदिएँ। आ …आ… कति मात्र गर्नु जस्तो लाग्छ कहिलेकाहीं काम पनि दिक्कलाग्दो हुने गर्छ।
‘प्रकाश आएको थियो…’ – उसले लेखिन्।
‘वा…उ… ! – म मेसेज बक्समा नै चिच्याएँ।
‘अब के को वा……उ नि… उ त फर्की पनि सक्यो ‘
मलाई चाहिं अब रिस उठ्यो -’ मलाई रिस उठ्यो है तँसित अब ‘- मैले आफ्नो असन्तुष्टि पोखिहालें।
‘नरिसाउ न तिमी, म एकदम तनावमा छु सुनी… ‘- ऊ चिन्तित लाग्यो मलाई। जब ऊ तनावमा हुन्थी मलाई सुनी… भनेर सम्बोधन गर्थी ।
मेरो मनमा चिसो पसे जस्तो भो।
‘प्रकाशसित झगडा पर्यो कि ?’ मैले तुरुन्तै सोधिहालें – ‘ तँलाई झगडा गर्न पनि कति हतारो नि, पाँच वर्षपछि बल्ल आएको बुढोसँग!’
जवाफमा ऊ मौन भइ। सायद मैले झपारेको महशूस भो कि। हुन पनि प्रकाश विदेश लागेको सात वर्ष नै भयो होला तर दुई वर्ष जति ऊ आउ-जाउ गर्ने गर्थ्यो । पछि अमेरिका छिर्न सफल भयो। त्यसपछि ऊ उताको उतै भएको थियो । सुषमा अलग फ्ल्याट भाडामा लिएर बसेकी थिई। हुन त सुषमाको पनि जागिर छ। बिहे त प्रेम विवाह नै गरेकी… अदालती विवाह। तर के भन्ने, प्रकाश त पहिलेकी बूढीसित पारपाचुके लिइसकेको मान्छे। त्यसैले लोग्नेको घरमा तालमेल मिलाउन गार्हो थियो उसलाई। पहिलेकी स्वास्नीसितको पारपाचुके उसैको कारणले भएको ठान्थ्यो। मैले सोधेकी पनि थिएँ, अलि जिस्काउने तालमा सुषमालाई, किन सेकन्डहेन्ड रोजेकी तैंले भनेर। जवाफमा उसले कसैको जिन्दगी बनाउने कुरा हो यो, ऊ एकदम दु:खी मान्छे हो, मलाई मनपर्छ र मैले साथ दिनुपर्छ भनेकी थिई ।
के भो होला ? मलाई एकदम खुल्दुली लाग्यो -’ हैन के भो त्यस्तो ?’ म लगभग कराएँ च्याटबक्समा। ऊ मौन थिई अझ पनि …। सायद आँधीबेरी चलिरहेछ कि। सायद ऊ रुन पो थाल्यो कि ? शब्दमा रुनु धेरै गाह्रो काम लाग्छ मलाई। आँखाबाट झर्ने दुई थोपा आँसुको पीडाको बयानमा त्यो संवेदन महसूश हुन सक्दैन कि जब कसैले बगाउने आँसुको त्यो धारासँगै प्रवाहित हुने उथलपुथलको तापले मुहारलाई नै कति अस्तव्यस्त र विभत्स बनाएको हुन्छ। अनि जिन्दगीलाई अनेक चिरामा चिरेर जीवनको दोबाटोमा अल्मलिन मिल्काइदिएको जस्तो लाग्नसक्छ।
‘कल गरुँ ?’- उसको मौनता तोड्ने सोचमा मैले सोधें ।
‘नगर…,प्लिज…, मलाई भेट्दै नभेटी ऊ फर्क्यो …’ – उसले गाँठो फुकाई।
‘किन ?’ – अब चाहिं म स्तब्ध भएँ – ‘कहिले आयो र फर्क्यो ?’- मैले सोधिहालें ।
‘एक महिना भो , काठमाडौँ आएर फर्केको रे !’
‘तिमीलाई नभेटी ?’- म झनै आश्चर्यमा डुबें – ‘अनि तँ कहाँ थिइस् नि ? ‘
‘मलाई थाहा नै भएन’ – प्राय: बेलुकी रेगुलर टाइममा फेसबुकमा आउँथ्यो, च्याट हुन्थ्यो।
‘अनि कसरी थाहा पायौ नि यो कुरा ‘- म त अत्तालिएँ जस्तै भो। के भएको यस्तो , मैले केही बुझिन।
‘उसको मेल आएको एकछिन अगाडि, ग्रीन कार्ड मिल्यो रे। उता बिजिनेस सेटल गर्नको लागि यताको आफ्नो भागको सम्पति बेच्न आएको रे, तिमीलाई खबर गर्न पनि सकिन रे बितेको पाँच वर्षमा केही कमाउन पनि सकेन रे, त्यसैले बाध्य भएर…मैले यता आफ्नो अनूकुलको परिवार बनाइसकें। तिमी स्वतन्त्र छौ … तिमी डिभोर्स पेपर पठाउनु म साइन गरिदिन्छु भनेको छ … !
म अवाक् भएँ। यो कस्तो विचलन ? विदेशको मोहले नेपाली समाजलाई कस्तरी गाँजेर ल्याउँदैछ। सुनौलो भविस्यको चमकको मोहमा हामी कतै वर्तमानलाई क्षतविक्षत त बनाइरहेका छैनौ…? जिन्दगीको परिभाषा नै बदलेर बाँच्न थालेका त होइनौ ?
‘यस्तै हो सुनी … जसको लागि मैले घरमा झगडा गरें … तन मन सुम्पें … मलाई घरमा भनेको पनि थियो जब उसले आफूखुशी बिहे गरेको स्वास्नीलाई त छोड्न सक्छ भने तिमीलाई पनि छोड्दैन भन्ने कुराको के ग्यारेन्टी छ ?’ सम्बन्धहरु किन यसरी विभाजित हुनेगर्छ ? माया, आत्मीयता के यी सब अर्थहीन हुँदैगैरहेको त होइन, हाम्रो समाजमा ? ‘
सुषमा ! तँ नआत्ती, सत्य तथ्य के हो बुझुँला नि ‘ -मैले पेन किलर दिने कोशिश गरें। तर सुषमाको जस्तो अनपेक्षित घटना धेरैले सामना गरिरहेको हुनसक्छ। आँखाबाट ओझेल हुनुको विडम्बना जस्तो लाग्छ मलाई। तर …. के गर्ने ?
‘म भोलि तिम्रोमा आउँछु ‘- कुराको गहिराइ बुझ्नु जरूरी लाग्यो। सम्बन्धको मृत्युको मलामी त उठ्दैन तर मुटुले त्यो चोट खेप्न भने सजिलो कुरा होइन। मानिसको मृत्युमा मलामी एकचोटी गइन्छ भने सम्बन्धको मृत्यु जसले सामना गर्छ उसको लागि मलामी यात्रा अनगिन्ती हुनसक्छ।
‘बिहानको तीन बजिसक्यो’ – मैले टाइम कोट गरें – ‘अब सुत्नु पर्ला ‘
‘हुन्छ’ – सुषमाको लेखाई नै मसिनो लाग्यो। उसलाई अब निन्द्रा कहाँबाट लाग्छ र…!
अब म उसलाई गुडनाइट भनुँ कि गुडमर्निङ भनुं ! म अलमलमा परें । अब त उसको रात न गुड हुनसक्छ न बिहानी नै गुड…!
ऊ अफलाइनमा गई। मैले नोटबुक शटडाउन गरें। एकाएक मेरो मन अमिलो भएर आयो , सोचें उफ् यो जिन्दगी…! के जिन्दगी…!! कस्तो जिन्दगी…!!!
ऊ एक्ली भई। यदि प्रकाशले आफ्नो रंग बदलेको हो भने। उसका न छोराछोरी छन् न परिवार ! तर उ हिम्मतिली त छे , यो चोटबाट निस्किन सक्छे। र म उसलाई बिचरी कदापी भन्दिन। संसार ठूलो छ , कोही टाढा हुँदैमा , बितिहालेको खण्डमा प्रलय त आउँदैन, पक्कै पनि।
************
आज करिब महिनादिनपछि फेसबुक अपडेट गर्न बसेकी छु। फ्रेन्ड रिक्वेस्ट त बीसभन्दा बढी, अनि टिपोटहरु, मेरो फोटोमा गरिएका टिप्पणीहरु, संदेशहरु। एउटा लामो छुट्टीपछि अफिस पुग्ने बेला अत्तालिने जस्तो। सरसर्ती रिक्वेस्टहरु माथि नजर घुमाएँ। प्राय: अनुरोधहरु फर्जी नामको जस्तो लाग्यो, बिना प्रोफाइल फोटोका। मैले सब रिजेक्ट गरिदिएँ। फेसबुकमा फेस लुकाउन मनपर्नेहरुको जमात पनि निक्कै रहेछ। साथीहरुले कविता कथा टन्न नै पोस्ट गरेका रहेछन्। ती सब पढ्न त मन छ तर पढिन मैले, पछि पढ्छु भनेर। एक दुई जनाको कवितालाई लाइक गरिदिएँ। वास्तवमा मलाई कहिलेकाहीं यस्तो लाग्न थाल्छ अचेल कि, फेसबुक फेसन होइन, बदलिँदो परिवेशको आवश्यकताको साथै अम्मल पनि बन्दै गैरहेको जस्तो लाग्यो।
गएको हप्ता साथी सुषमाको जीवनको उथलपुथलले मलाइ पनि हदैसम्म विचलित पारेको थियो। कुनै कारणले भन्दा पनि त्यहाँ नियतको संक्रमणले ग्रस्त पुरुष चिन्तनले देखाएको बेरूप चरित्र नै लाग्यो मलाई। सुषमा कुनै दिन ढिलो या चांडो डिवोर्स केस अवस्य फाइल गर्छे , गर्नै पर्छ । गलती कसको हुन्छ यस्तो केसमा जवाफ खोज्न गार्हो छ। यहाँ महिलाको अहित गर्ने काम पुरुषले मात्र गर्ने होइन, महिला स्वयंले गरिरहेको हुन्छ। त्यो भनेको हाम्रो समाजमा कतिपय छोरीकी आमा सासु बन्नासाथ उसको व्यवहारमा सोचमा विपरीत चिन्तनले डेरा जमाइसकेको हुन्छ । फेरि आफुले कसैको भाग खोसेर लिएको छ भने आफ्नो भाग पनि अरुले खोस्न आउन सक्छ । तर मैले कसैको भाग खोसेको नभई ज्यान प्राणले माया गरेको मेरो भाग जसले खोसेर लग्यो उसको भाग पनि नखोसीएला भन्ने छैन . नयाँ नयाँ स्वाद्को लत लागेपछि लोग्नेमानिसहरु नारीभक्षी हुने संभावना नकार्न सकिन्दैन।
पवन, जसले मेरो भावना सार्वजनिक गर्यो, ऊ प्रति मेरो गंभीर आपत्ति कायम किन भयो, सायद म लेखिका भईदिएको भए म पनि त्यस्तै यथार्थलाई कथा कवितामा रूपान्तर गर्थें की, थाहा छैन …! म यतिखेर पवनलाई सम्झिरहेछु, किन सम्झिरहेछु मलाई थाहा छैन। यद्यपि उसले मात्र कथा लेख्यो, प्रकाशित गर्यो र मलाई लाग्यो उसले गलती गर्यो … तर पनि म सोच्दैछुँ कथा लेख्नु गलत्ती हो की होइन भनेर।
च्याटबक्समा पवन देखापरे।सायद मेरो हार्दिक चाहनाले दूर संवेदनको (टेलीपेथी) बाटो भएर पवनको मन-मस्तिष्कमा घंटी बजाईदिए की !, यो संभव पनि छ। हार्ट टु हार्ट कनेक्सनमा किन हो किन मलाई विश्वाश लाग्छ।
‘नमस्कार भनुं कि ?’- उसको अभिवादनको यो शैलीले मेरो ओठ फैलिन खोजे जस्तो भो। आँखामा पिल्लिक खुशी बलेजस्तो भो । एकमनले फेसबुकबाट बाहिरिउं जस्तो पनि लाग्यो तर पनि…
‘नमस्कार’ – मैले जवाफ फर्काएँ।
‘अचेल त खडेरी लागिरा’छ नि है कस्तो फेसबुकमा…!’
उसले व्यंग हानेको जस्तो लाग्यो मलाई, उसको यो गुनासो किन हो किन मन परेन मलाई।
‘कहिले काहीं फेसबुकबाट अलग्ग बस्न लाग्छ ‘- मैले जवाफ फर्काएं।
‘तपाईको साथी सुषमाको बारेमा थाहा पाएँ,दुःख लाग्यो सुनेर’ – उसले सहानुभूति जतायो।
‘ नारी हुनुको विडम्वना हो यो’ – मैले तिक्तता पोखें।
‘होइन ! – उसले आफैप्रति प्रतिवाद तेर्स्याए – ‘यो त नियत हो पुरुष चिन्तनको । सुषमाको रुवाई भनुँ या तपाईको आफ्नै भोगाई !यो भनेको पितृसत्तात्मक समाजमा नारी माथि गरिने भावनात्मक मात्र होइन सबैखाले शोषणको एउटा पाटो हो जस्तो लाग्छ मलाई। दोष आफ्नो मान्छेको हुने र त्यसको परिणाम महिलाले ( परिवारले ) भोग्नुपर्ने यो कस्तो सामाजिक व्यवस्था हो मैले बुझ्न सकेको छैन। परित्यक्ता अथवा बिधवा भएरै पनि नारीले आफ्नो सन्तानको भविष्यको लागि आफ्नो जीवन अर्पण गरेकी हुन्छ भने, पुरुष, दोश्रो परिवारको संसारमा मस्त हुने अथवा बिधुर भएको अवस्थामा पहिली श्रीमतीको रिक्त स्थान भर्न चिताको खरानी सेलाउने समयसम्म पनि कुर्न सक्दैनन्। यो कस्तो सामाजिक नियम हो पुरुष र नारीलाई पृथक पृथक रूपमा लागु हुने वा गराईने ?’
उसको कुरा सुनेर एकछिन त म अलमल्लमा परें ‘तपाईले सही कुरा भन्नु भो,तर कतिपय मानिस यो कुरा मान्न तयार छैन नि !’
‘हो सुनीता जी , यी कुरालाई स्वीकार गर्न गार्हो मान्छ हाम्रो समाज ‘ – उसले थप्यो – ‘तर …!’
‘तर … के ?’ – मैले सोधें
‘पुरुष र महिला बिचको बिभेदले हाम्रो समाजलाई गाँजेको त छ तर पारिवारिक विखंडनको दोष र दोषी पुरुष मात्रै हुने गर्छ भन्ने कुरा , आधा सत्य मात्रै हो।जीवनमा आंधीबेरी कहिले आउँछ, कसरी आउँछ अनि सुखको दियो कसरी निभीदिन्छ, हामीले सोच्न र रोक्न सम्म पनि सक्दैनौ। एक निमेश पनि लाग्दैन परिस्थिति आफ्नो प्रतिकूल हुन।’ – पवन सायद भावनामा बग्न थाले।
उसको कुरा सुनेर एउटा जिज्ञासा प्रेषित गरें – ‘भाउजुको के हालखबर छ नि, कहिले नै बताउनु भएन, तपाईले !’
‘ऊ ….’ – सायद पवनलाई जवाफ दिउं की न दिउं भयो।
‘ऊ अचेल अस्ट्रेलिया… ग्लोबल वार्मिंगको स्टडी गर्न गएकि, अब त उतै जबमा बीजी चार वर्षदेखि … भनी हालुं छोरा युक्रेनमा, डाक्टरी पढ्दैछ।’
‘ओ ! हैप्पी फेमिली’ – मैले कमेन्ट गरें।
‘सायद … थैंक्स’ – यो पवनको अधुरो अस्पस्ट भाव जस्तो लाग्यो मलाई।
‘कहिले फर्किनु हुन्छ नि उहाँ, कि तपाई नै उता जाने ?’ – मैले सोधें
‘गएर आयें एकचोटी उसले बोलाएकी थिई, ग्राजूएसन डेको लागि,तीन महिनाको भिषामा … तर बस्न मन लागेन दुई महिनामा नै फर्कें।’
‘किन ?’- मलाई जिज्ञासाले व्यग्र बनायो।
‘सम्बंधहरुमाथी भौगोलिक सीमाले पनि खलनायकको भूमिका खेल्दो रहेछ।’ – उसले लेख्यो – ‘आत्मियता, प्रेम अनि पारिवारिक सम्बन्धपनि बिस्तारै अलगावको खियामा कम्जोर हुँदै केवल बैबाहिक दर्ताको प्रमाणपत्रमा मात्र सिमित हुन् सक्दो रहेछ । तपाइँलाई विश्वास गर्न गार्हो हुन्छ होला सुनिता जी, जब म अस्ट्रेलिया पुगें। म अत्यन्त खुशी थिएँ। करिब ३ वर्षपछी म उसलाई भेट्दै थिएँ। यस बीच नेपालमा मेरो परिवारमा धेरै घटना घटे। बुबाको मृत्यु, मेरो दुर्घटना जसमा मेरो खुट्टाको फ्राक्चर, लामो बेड रेस्टमा बस्नु पर्यो, जुन घडीमा मैले उसलाई धेरै धेरै सम्झें। सायद आँसु पनि बगाएँ। साथीभाई दिदीबहिनीले दिने साथले मात्र नपुग्ने रहेछ यस्तोबेला।साथीहरुको सहानुभूति बीच मेरी आमाले त कति कर गरे गरे उसलाई नेपाल बोलाउन। तर … म अडिग बने। पढाईको कुरा छ डिस्टर्ब नगर्नु नै ठिक लाग्यो। मात्र उसलाई मेल गरें चोट सामान्य छ भनेर। बेडरेस्टको टाईममा उसले दुइ चारचोटी फोन गरिन स्कैपीमा। वेबक्याममा मैले लुकाएको थिएँ, आफ्नो आँसु, पीड़ा सबै।’
‘किन सामान्य भन्नु भएको नि ?’- मलाइ यो कुरा चित्त बुझेन र मैले सोधिहालें।
‘मेरो यथास्थिति सुनेपछि ऊ त्यहाँ बस्नै सक्दिनन, पढाई सधाई सब छोडेर फर्किहाल्छे कि भनेर कुरा लुकाएको। त्यसबेला ऊ त्यहाँ पुगेको छ महिना मात्र भएको थियो – त्यसैले…’
‘अनि कुरा के भो नि यस्तो ‘ – मलाई बसी नसक्नु हुँदै आयो।
‘एअरपोर्टमा जब मैले उसलाई भेटें …. तब !’
‘तब के …?’ म उत्सुक बने।
‘मैले उसको मुहारमा त्यों स्वागत देखिन किन हो, … त्यसबेला सायद मेरो ऊप्रतिको अपेक्षा चरमोत्कर्षमा थियो होला … आफ्नो भ्रम मानेर चित्त बुझाएँ ।’
‘अनि त्यसपछि के भो ?’ – मैले फेरी तुरुन्तै सोधें
‘ऑस्ट्रेलियाको बसाई जति जति बित्दै गयो मलाई नेपाल फर्किन हतार हुन थाल्यो मेरो आँखाले देख्ने दृश्य मेरो मन मान्न तैयार हुन्दैन्थ्यो। सुनीता जी ! मेरो कानले दिनको कैयन पटक सुन्ने त्यों एउटा नाम थियो जसको कारण मैले आफ्नो अस्तित्वलाई महसूस गर्नै सकिन …कैयन पटक सोचें यो मेरो पुरुष सोच मात्र त होइन भनेर तर जब जब म उसको प्रतिक्रियाबिहीन ती नितांत निजी पलहरु सम्झिन्छु, … उसको मुहारमा झुल्किने अनिक्षाका भावहरूले कता कता म सुखा निर्जन पहाड़ीबाट ईच्छाको छहरा बगाउने अतृप्त कोशिस त गरिरहेको छैन जस्तो लाग्थ्यो। सोच्थें, कहाँ हराए उसका ती मायालु स्पर्श, कता बिलाए उसका चंचलता अनि भावावेशका आरोह अवरोहहरु …!, ऊ त एउटा निर्जीव पुतली, जसलाई कोठामा सजाईएको जस्तो … उफ़ !… ऊसंग मेलबर्न घुम्दाको फोटो तपाई हेर्न सक्नु हुन्छ फेसबुकमा, दुई अन्जान यात्रीको फोटो जस्तो। मेरो एकजना साथीले कमेन्ट गरेको पनि थियो, उदास अस्ट्रेलिया भनेर।’-
‘किन त्यस्तो भाव पलायो त तपाईको मनमा ?’- मैले निरंतरता दिने कोशिस गरें| सायद पवन व्यथित भयो, मैले सोचें।
‘सुनीता जी , म त्यहाँ बसुन्जेल मैले दिलीप जी, दिलीप जी मात्र दिलीप जी। फ्ल्याटभरि केबल दिलीप जीको अदृश्य उपस्थिति मात्रै । ब्लैकबेरीको मोबाईल दिलिप जीको गिफ्ट, ल्यापटप छनौट गर्नु भो दिलीप जीले । गाडी दिलिपजी संग मिलेर किनेको। यो लेटेस्ट आईपोड़ बर्थ डेमा अस्ति दिलीप जीले गिफ्ट दिनुभएको। पेंटिंग्स सबै दिलीप जीको आफ्नै क्रियेसन, दिलीप जीले यस्तो हेल्प गर्नु भो, दिलिप जीले उस्तो हेल्प गर्नु भो … उफ़ ! दिलीप जी उसको जीवनमा सबैतिर। जहाँकाही साथीहरुसितको भेटमा उसले परिचय दिन्थी – ‘उहाँ मेरो हसबैंड पवन !’ …अनि त्यसपछि जिज्ञासा बर्सिन्थ्यो, दिलीप जी आउनु भएन …?’
‘अँ ! आउनु भएन उहाँ अर्जेन्टली तीन महिनाको लागि सिडनी जानु भा ‘छ …!’
‘यदि यस्तै हो भने तपाईलाई किन बोलायो त’ – मलाई खल्लो महशूस भयो – ‘यस्तो व्यबहार किन देखायो त ?’- म आश्चर्यमा परें – ‘दिलिपसंग परिचय गराए हुन्थ्यो नि, बिदेशमा एकै फ्ल्याटमा बस्नु कुन ठुलो कुरा हो र ?’
‘सायद ! मलाई सुसुचित गरेको हो कि जस्तो पनि लाग्यो। ऊ धेरै काम केहि नबोलिकन नै गर्ने गर्छे। परदेशमा ऊ बिलायो सायद त्यहाँको स्वच्छन्द समाजको चमकले उसले बाटो बिराएकी मात्रै हो कि ? म ऊ फर्किने आशमा, प्रतीक्षामा छुँ। त्यसैले सुनिता जी मेरो रात हरेक रात, प्रलयको रात जस्तो लाग्छ मलाई। म अनलाईन बस्छुं, फोन गर्छुं उठ्दैन । अफलाइन मेसेज छोड्छुं, इमेल हाल्छुं। जवाफ धेरै दिन पछी आउँछ – हजूर कुरा बुझ्नुस न, न रिसाउनुस न, म बीजी थिएँ एकदम , आउट अफ टाउन थिएँ।’
‘कहिले कहीं छोरो देखा पर्छ , कलेज फीको टाईममा, उसले सोध्छ ममसंग कुरा हुन्छ भनेर। म झूठ बोल्छुं हिजो मात्रै भेटेको अनलाईनमा, अघि मात्रै फोनमा कुरा गरेको भनेर। मेरो टेंसनको कुरा उसलाई लुकाउनु नै ठीक लाग्छ।’
‘अब ?’- मलाई के भनुं जस्तो भयो। ऊ संशयको जालोमा अल्झेको मान्छे जस्तो लाग्यो। एक्लोपनाले सायद उसमा भ्रान्ति भरिदियो, मनभरि पीड़ा छरिदियो मायाको पारिलो न्यानो घाम ताप्न नपाएर।
‘म अझ पनि उसकै प्रतीक्षामा छुं। मेरी आमालाई यो कुराको अनुमान छ , त्यसैले बारम्बार उता जानको लागि भन्नु हुन्छ। तर म त्यहाँ जान तैयार छैन , कमसेकम आमाको यो उमेरमा। यदि मैले उसलाई गरेको माया साँचो छ भने, ऊ अवश्य फर्किन्छे। म यतै बसेर उसको प्रतीक्षा गर्छुं ।’ – ऊ अडिग देखियो।
‘मानिस चराचुरुंगी होइनन्, फूल पार्यो, बचेरा कोरोल्यो, हुर्कायो, उड्न सिकायो, सिकेपछि आफ्नो बाटो लाग्यो। मेरी आमाको यो बुढेसकालमा उहाँलाई मेरो आवश्यकता छ, मेरो सोचाई हो यो, अरुले सोचोस् या नसोचोस यो उनीहरूको कुरा !’
भोलि आएर मेरो छोराले बाउ आमा भन्ला नभन्ला यो पनि उसको संवेदनमा भर पर्ने कुरा हो – ऊ लेख्दै थियो।
उहाँ फर्किनु हुन्छ त ? – मैले संशय देखाएँ।
‘मलाई थाहा छैन सायद नफर्किन पनि सक्छे। फ़र्के मेरो मायाको जीत , नफर्के मेरो विश्वासको हार ‘
‘मेरो शुभकामना छ, तपाईको माया र विश्वासले जितुन ‘- अबेर त भै नै सकेको थियो। क्षितीजमा लालिमा अंकुरित हुन थालेको आभास भयो। रातको अँध्यारो पर्दा बिस्तारै च्याटिन लागेको देखें, मैले लेखें -’शुभ बिहानी !’
च्याट बक्समा देखा पर्यो – धन्यवाद,शुभ बिहानी ! फेरि भेटौंला !!
**********************
यतिबेला रातको १० बज्न लागेको छ। मेरी छोरी मसँगै सुतेकी छे र म फेसबुक खाता पुन: संचालन गर्न गइरहेकी छु।
करिब छ महिना नै बित्यो होला मैले फेसबुक न चलाएको। किन किन पछिल्ला समयमा मलाई फेसबुक प्रति बितृष्णा नै जागेको जस्तो पनि भो। साथीहरुको अत्यधिक संख्याले पनि फेसबुकले समस्याको आकार लिदै थियो। दिनहुँ ट्याग भएर आउने लेख रचनाहरु , अभद्र खालको टिका टिप्पणीहरु। मेरो फोटो माथि गरिएका द्विअर्थी संवादहरु। यी कुराहरुले मलाई एउटा तनावको अवस्थामा पुर्याईदिएको जस्तो लाग्थ्यो। कतिपय ती नामहरु बिरुद्ध मैले धावा बोलें। उनीहरुलाई ब्लक गरें। दिनहुँ आईरहने फ्रेन्ड रिक्वेस्टहरु। अफ लाईनमा बसे पनि इनबक्स मार्फत आउने संदेशले वाक्क दिक्क जस्तै बनाई दिएको थियो।त्यसैले मैले आफुले आफैलाई नै फेसबुकबाट अलग राख्न फेसबुक नै बन्द गरें। चाहेको बेला फेरि खोलुंला भनेर।
फेसबुकमा साथी बनेकाहरु मध्ये मलाई मन पर्ने केहि नामहरु पनि छन्। जसलाई मैले फेसबुक खाता बन्द गरेपछि यदाकदा सम्झिने गरेकी छुँ। केहीको फोन नम्बर लिएकी पनि छुँ। तर कल गर्नु पर्ने त्यस्तो कुनै काम आई नै परेन।
आज दिउँसो प्रज्ञा भवनमा आयोजित एउटा गोष्ठीमा जाँदा खेरि एउटा सोच्दै न सोचेको कुरा भयो। त्यहाँ मैले पवनलाई भेटें। ऊ भर्यांगबाट तल झरिरहेको थियो र म माथि गईरहेकी थिएँ। सायद मलाई देखेर , चिनेर टक्क उभिएको थियो।एकछिन त मेरा पाईला त्यहीं टक्क अडिए। उसको मुहारमा एक धर्को मुस्कान देखा परे।
‘चिन्नु भो ?’- उसले मलाई गहिरो नजरले हेर्दै प्रश्न गरेको थियो ।
‘ किन न् चिन्नु , पवन जी ‘- मेरो जवाफले उसलाई आस्वस्त बनायो।
‘ तपाई यहाँ ?’ – उसलाई सायद विस्वास भैरहेको थिएन हाम्रो यो भेटघाट प्रति र मलाई पनि …!
‘एउटा गोष्ठीमा भाग लिन आएकी म , अपांगता सम्बन्धि बिषयमा ,’- ढीलो हुन लागेको थियो त्यसैले – ‘ म जान्छुं है ‘ –भन्दै म माथि उक्लिँदै गएँ। पवन सायद त्यहीं उभिएर मलाई हेर्दै बसे।
बेलुकी घर पुग्दा खेरि ९ बज्न लागिसकेको थियो। मेरी छोरी मलाई कुर्दा कुर्दै सुतिसकेकी थिई। मलाई यस्तो अवस्थामा मेरी छोरीको असाध्यै माया लागेर आउँछ। तर मेरो अनुपस्थितिमा मलाई सहयोग गर्ने छिमेकी आमा प्रति म अत्यन्त आभारी हुन्छुं संधैं।
मैले चाहेर पनि कुनै कुनै बेला आफ्नी छोरीलाई समय दिन गाह्रो हुन्छ मलाई। मलाई दुख पनि लाग्छ यस्तो बेला।
खाना खाइसकेपछी ल्यापटप खोलें। गोष्ठीको बारेमा केहि लेख्नु थियो मलाई। आफु कार्यरत संस्थाको लागि। तर आज पवनसितको अचानक भेटले मेरो मनको कुनै कुनामा केहि जिज्ञासाले ढकढक गर्न थाले। ऊ सितको मित्रताको भावनाले पनि म त्यति धेरै नजिक त छुईन। तर उसको जीवनको कथाको झझल्को बितेको समयमा मलाई न आएको पनि होइन।आखिर कुनै समय एक अर्काको दुख त बाँडेका पनि थियौं। आजको छोटो र आकस्मिक भेटले मनमा अनौठो किसिमको अनुभूति महशूस हुन थाल्यो । किन हो म आफै विश्मयमा छुँ। सायददिउँसो पवनलाई भेटेर पनि केहि कुरा गर्न भ्याएन त्यसैले हो कि ?
एक समय जब उसित च्याट हुन्थे तब मैले उसित बिहान मेरो निन्द्रा नखुल्ने , अनि बिहानको दैनिकी कस्तो हतारो हुने कुरा गरेकी थिएँ। त्यसबेला उसले म वेकअप रिंग पठाउँछु भनेर मोबाईल नम्बर मागेको थियो र मैले दिएँ पनि।
त्यसपछि हरेक दिन बिहान ठिक पांच बजे उसको मेसेज आउन थाल्यो। यो क्रम लगातार एक महिना सम्म चल्यो। हरेक बिहान मेसेजमा उसले कहिले मुक्तक , कहिले हाइकु , कहिले दार्शनिक संदेश पठाउने गर्थ्यो। पछी किन हो उसको संदेश आउन बन्द भो। म आफ्नै दुनिया व्यस्त , एउटी नारी। ऊ त्यसै हरायो। मैले उसलाई बिचमा धेरै पटक भेट्ने कोशिश गरेंतर मेरो प्रयाश सफल भएन । मैले फेसबुक खाता अस्थायी रूपमा बन्द गरेपछि उ संगको च्याटको क्रम पनि टुट्यो।
फेसबुक खुल्यो। एक किसिमले मलाई भित्रि मन देखि आनन्दको अनुभूति भयो। मानौ मैले गुमाईसकेको खुशी फेरि प्राप्त गरें। मेरो प्रोफाईल शून्य जस्तो लाग्यो। मेरो भित्ता पनि खाली खाली , धूलो जमेको जस्तो। मेरो आफ्नो प्रोफाईलको फोटो पनि रंग उडेको जस्तो , धूलो लुट्पुटिएको जस्तो। मेरा आँखा सरसर्ती फ्रेन्ड लिस्टमा डुल्न लागे। मन मनै नाम पढ्दै गएँ। एउटा नाममा पुगेर मेरा आँखा टक्क अडियो। पवन , पवन श्रेष्ठ। प्रोफाईल फोटो हेरें। उही पुरानै मुस्सुक्क हाँसेको फोटो। इनबक्समा गएर मेसेज टाईप गरें -’ पवन जी , नमस्कार.!’र म मेसेजको प्रतिक्षामा बस्दै आफ्नो काम तिर लागें। तर मेसेजको उत्तर आएन। त्यसपछि ल्यापटप शत डाउन गरें।
xxxxxxxx —–xxxxxxxx——xxxxxxxx
पवनलाई आकस्मिक रूपमा भेटेको पनि आजले ३ महिना बितिसकेछ।र फेसबुकमा पनि देखा परेन। मेरो मेसेजको रेस्पोन्स पनि गरेन उसले अथवा भ्याएन भनुँ… ! बिचमा मैले मोबाइलमा सम्पर्क गर्न खोजेकी पनि हुँ तर सम्पर्क हुन सकेन। यदाकडा म उसको फेसबुक स्टाटस हेर्थें र कुनै अपडेट पाउँदिनथें ।
आज पनि उसको फेसबुकको भित्ता शून्य नै थियो। भएको स्टाटसले पुरानो मिति देखाई रहेको थियो । न नयाँ फोटो अपलोड न कुनै संदेश ।
अचानक म बेस्सरी चिच्याएँ । एक्कासी हृदयको स्पन्दनले अस्वाभाविक गति लियो किन कि मेरो इनबक्समा उसको संदेश सजिएर आएको थियो – ‘ सुनिता जी नमस्कार भनुँ है ! ‘ – उही अभिवादन गर्ने तरिका । मैले हत्तपत मेसेज टाईप गरें – ‘ नमस्कार , नमस्कार पवन जी ! के छ हाल खबर , कहाँ हराउनु भो नि ?’ – मैले एकै सासमा प्रस्नको वर्षा नै गरें ।
‘ठिक छुँ सुनिता जी , म एकदम व्यस्त थिएँ बिगत केहि समय यता ‘ – उसले लेख्यो ।
‘नयाँ नौलो के छ नि ?’- मैले फेरि सोधें । किन हो किन मलाई उ सित धेरै कुरा गर्न मन लागिरहेको थियो ।
‘नयाँ नौलो त केहि त्यस्तो छैन तर एउटा सरप्राईज छ …! ‘ – उसले सस्पेंसको भाषा प्रयोग गर्यो ।
‘के कुरा नि ? ‘ – मैले जिज्ञासा देखाएँ ।
‘तपाईलाई विस्वाश नलाग्न सक्छ मेरो कुरा -’ उसले सस्पेन्स कायम नै राखेर भूमिका बाँध्यो ।
किन ? विस्वाश न लाग्ने त्यस्तो के कुरा छ र ?’- मैले सामान्य रूपमा प्रश्न गरें ।
‘ म अचेल अस्ट्रेलियामा छु श्रीमती संगै , ३ महिना भो ‘- उसले सस्पेन्स खोल्यो ।
म अवाक बने । मलाई विस्वाश नै लागेन किन कि मलाई उसको पीडा र दुख अनि समस्या राम्ररी थाहा थियो र समाधानको बाटो देखिरहेको थिएन । हठात् मैले सोधी हालें – अनि दिलिप जी ?’
‘उहाँको मिसेज र छोरी पनि अचेल यतै हुनु हुन्छ रे , सुनेको छुँ ‘ – पवनले जवाफ दियो – ‘तर मैले भेटेको छैन। साउथ पर्थ तिर बस्छन क्यारे ! पहिले दिलिप को नाम मुखमै झुण्डी रहन्थ्योअहिले उसको मुखबाट म यता आए देखिन नाम निस्केको छैन … सायद , तर सुनिता जी तपाईलाई धेरै धेरै धन्यवाद छ है ‘ – पवनले मलाई धन्यवाद दियो ।- ‘ तपाईको हौशलाले मैले फेरि आफ्नो जीवनको खुशियाली पाएँ ‘
‘किन मलाई धन्यवाद नि ‘ – मैले सोधें।
‘यसमा तपाईको शुभकामनाको पनि ठूलो हात छ … मेरो माया र विस्वाशले जितुन भनेर तपाईले कामना गर्नु भएको बिर्सनु भो ? ‘- उसले मलाई मेरो कुरा याद दिलायो ।
‘बधाई छ पवन जी , पुन : स्थापित सम्बन्धको सुखद कामना छ … समय वलवान छ। घर भनेको टुट्नु अगाडी नै बचाउनु पर्दछ , भत्किसकेपछी फेरि बनाउन गाह्रो हुन्छ यो मेरो भोगाई हो नि पवन जी ,हामी संयमित हुन सक्नु पर्छ सबै कुरा बिस्तारै व्यवस्थापन हुँदो रहेछ नि ‘ – किन हो मेरो लेखाइमा कुनै उत्साह थिएन । मेरो मन फूल सुकेसरि पात झरेसरि , ओंठ मुख सुकेसरि वसन्ती याममा हिंड्दा हिंड्दै अचानकै पतझडी बाटोमा पुगेसरि किन भयो । म चुप चाप बसें । केहि बोल्न मन लागेन।
उताबाट लेखियो -’ सुनिता जी , आर यु डेयर ?
मैले फेसबुक अफ गरें । र पुलुक्क आफ्नी छोरीको मुख हेरें । उ निन्द्रामा मस्त थिई।
(स्रोत : Mysansar.com)