~डिल्ली मल्ल~
मलाई विश्वास छैन–
आज म नयाँ कविता लेखिरहेछु
र, भोलि कुनै अखबारको साहित्यिक पेजमा
वा कुनै साहित्यिक अनलाइनको पृष्ठमा
वा कुनै साहित्यिक फेसबुकको भित्तामा
मेरो फोटोसहित यी पंक्तिहरु झुण्डिनेछन्
कविको परिचय खोज्दै
र, दुनियाँले घोषणा गर्नेछन्
नेपाली साहित्यको आकाशमा नयाँ कविको आगमन ।
सत्य सत्य नै हुन्छ
लेख्न त लेखेकै हो जे लेखेपनि
नपत्याए फेसबुक खोलेर हेर्नुहोला
वा फेसबुक चलाउनेलाई सोध्नुहोला
एकदिन उनले
आफ्नो फेसबुक भित्तामा लेखेकी थिइन्–
‘सूर्य उदाउँछ
बिहानीको मिर्मिरेमा सधैं
अनि, हजुरको याद आउँछ
अस्ताउँछ साँझको लालीमा सधैं
फेरि हजुरकै याद आउँछ
पल–पल, सधैं–सधैं ।’
अनि मैले लेखिदिएको थिएँ हत्तपत्त
उनको पोष्टमुनि कमेन्ट
‘जब डुब्छ गोधूली साँझमा
सूर्यको प्रचण्ड तेज
तब उदाउँछ शीतल जुनेली रात
र, बिर्साउँछ सबै–सबै
छटपटी र अप्ठ्यारा यादहरुलाई….’
धेरै दिनपछि आज
यही फेसबुक भित्ता नियालेपछि
सोचिरहेछु–
के फरक छ उनको पोष्ट र मेरो कमेन्टमा
अनि, के समानता छ
मेरो कमेन्ट र उनको पोष्टमा ?
२०६८ फागुन १७, दाङ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)