कथा : सम्झौता

~रोबिन मानन्धर~Robin Manandhar

‘ओ मेरे दिलके चयन………..’

‘हेल्लो’ बिहानै आएको फोन उठाएर भनें । ‘हे ! रोहन कहाँ छौ ?’ स्मृतिले भनिन् । मैले भने,‘भर्खर त उठें यार, अनि यति बिहानै किन कल गरेको ?’,‘यति बिहानै रे, बिहानको ८ बजिसक्यो, अहिलेसम्म सुतिरा’को ?’ उनले भनिन् । मैले सोधें,‘के छ भन ?’

अनि उनले भनिन्,‘अहिले ९ बजे मलाई शहिदस्मारक पार्कमा भेट ल, अहिले म राख्दिन्छु ।’ मैले सोधें,‘किन ?’ अनि उनले ‘भेटेर भन्छु’ भन्दै फोन राखिदिइन् ।

कस्तो मान्छे रहेछ, बिहानै फोन गरेर, निन्द्रा पनि पुगेको छैन, भै’गो अब त उठ्छु । अनि म आफ्नो नित्य कर्म तर्फ लागें । सबै काम सकिएर म किचेनमा लागें । के गर्नु शहरको ठाउँ त्यो पनि एक्लै छु, रुममा । खाना पकाउन पनि अल्छी लाग्यो, हप्तामा जम्मा १ दिन खाना खाइन्छ त्यो पनि मुड चल्यो भने मात्र । खैर होस् भन्दै एक कप कफी बनाईवरी पिएर आफ्नो बाटो लागें ।

बिहानको ठीक १० बजिसक्यो तर, उनी आइनन् । मैले कल गर्दा उनको फोनबाट एउटै रिप्लाई आउँथ्यो,‘माफ गर्नुहोला, तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाईलको स्विच अफ गरिएको छ ।’

त्यसपछि म आफ्नो बाटो लाग्ने सोचेर पार्कको गेट तर्फ आफ्नो खुट्टाहरुलाई बढाए । यत्तिकै उनी हस्याङफस्याङ गर्दै आईपुगिन्,‘थ्याङ गड ! धन्न तिमी यही रहेछौं ।’ मैले सोधें,‘किन र के भो, किन यति हत्तारिँदै आएको, अनि मोबाईल किन स्विच अफ् ?’, ‘पख न एकछिन, सबै कुरा भन्छु म, कति धेरै प्रश्न एकैचोटी सोधेको, एकछिन त आराम गर्न देऊ’ – उनले भनिन् ।

त्यसपछि त्यो पीपलको रुख मुनि भएको पिङमा गएर बस्यौं । एकछिनको बसाईं पछि उनले मलाई भनिन्,‘तिमी त मेरो एकदमै मिल्ने साथी, तिमीलाई एउटा कुरा सोधौं ?’ ‘भनन के कुरा हो ?’ मैले भनें ।

अनि उनले भन्न थालिन्,‘तिमीले चिनेको एकजना केटी छ तर उसले तिमीलाई मन पराउँछ । अब त्यो केटीको बिहेको कुरा घरमा चलेको छ, त्यो केटी आएर तिमीलाई ‘म तिमीलाई मन पराउँछु’ भन्यो भने तिमी के गर्छाै ?’

यो त एकदमै सोच्नु पर्ने कुरा भो । कसरी भन्ने ? धेरै बेर सोचें अनि मैले उनलाई भनें,‘त्यस्तो हुन असम्भव पनि छ, उसले मलाई मन परायो त म के गर्नु मलाई पनि त मन पर्नु प¥यो नि ! म उसको प्रस्ताव स्विकार्दिन थिएँ ।’

उनले भनिन्,‘किन र ? तर उसले तिमीलाई मन पराएको छ, उ तिमी बिना बाँच्न पनि सक्दिन ।’, ‘मलाई पनि त मनपर्नु प¥यो भनेको, उसले मात्र मन पराएर म के गर्न सक्छु र ?’ मैले भनें ।

यसरी हामी बीच विवाद बढी रहेको थियो । अनि मैले उनलाई भनें,‘भयो यो कुरा सोच्नु नै बेकार, अनि म जस्तो मान्छेलाई कसले नै पो आएर यस्तो प्रस्ताव राख्छ र ? छोडिदेउ यो कुरा, भन अब के कुरा थियो तिम्रो मसँग गर्नुपर्ने ?’

त्यसपछि उनले आफ्ना नयनहरुबाट नुनिलो पानीको वर्षा गर्न थालिन् । खै किन हो ? त्यो त मैले बुझ्न सकिन । आज पहिलो पटक उनको अनुहारमा मैले यस्तो बादल लागेको देखें, लाग्छ मेघ गर्जनसँगै पानी पर्न लागिरहेछ । मैले उनलाई कति धेरै पटक बोलाएँ, तर उनी लगातार रोइनैरही ।

अब त अति भो भन्दै मैले उनलाई सोधें,‘हैन किन राई रा’को, के भो तिमीले कस्को कुरा गरेको त्यस्तो ? अनि किन मेरो कुरा सुनेर रोएको ?’

अनि उनले आफ्नो सुक्कसुक्क भाकामा भन्न थालिन्,‘त्यो अभागी केटी म नै हुँ ।’

‘ह्या ! के नचाहिने कुरा गरिरा’को भन्या ?’ मैले भनें । अनि उनले भनिन्,‘हैन म तिमीलाई चाहन्छु, म तिमीबिना बाँच्न सक्दिन, प्लिज मानन, यदि तिमीले मानेन भने मैले अरु सँग बिहे गरेर जानुपर्ने हुन्छ, जसलाई मैले चिनेकोसम्म पनि छैन ।’

त्यसपछि म केही बोल्न सकिन । आज पहिलो पटक मलाई यस्ता भईरहेको छ कि कुनै महाभारत पर्वत आएर मलाई थिचिरहेको छ । हनुमान नै भएको भए पनि पहाडलाई उचालेर फ्याल्थें तर के गर्नु म त परें एउटा साधारण व्यक्ति । यति धेरै गाह्रो भईरहेको छ कि म आफुले आफैलाई बचाउन पनि नसक्ने अवस्थामा पुगेको अनुभव भईरहेछ ।

उनी लगातार मेरो अगाडी बसेर रोई रहेकी छिन् । उनको आँखाबाट आँशु खसिरहेछ, लाग्छ असार–साउन भेल–बाढी जस्तै । उनको त्यो रुवाईलाई रोक्न मैले सकिन । जब जब म उनलाई केही कुरा भन्न खोज्छु उनी एउटै कुरा मात्र दोहो¥याईरहन्छिन् कि ‘पहिला भन तिमी मलाई मन पराउँछौ कि मन पराउँदैनौं ?’

कसरी भनुँ म उसलाई मन पराउँछु भनेर ? म त एउटा गरीब परिवारको मान्छे, उनी त धनी खानदानी केटी । त्यसमाथि पनि मेरो र उनको जात पनि मिल्दैन । मैले त उनलाई केवल एउटा राम्रो साथीको रुपमा मात्र सोचेको थिएँ, मैले कदापि पनि सोचिन कि म उनलाई आफ्नो जीवनसाथी बनाउँछु भनेर । तर, आज एक्कासी आएर मैले उनको प्रेमप्रस्ताव स्विकारें भने उनी आफ्नो परिवारबाट टाढा हुन्छिन् । जुन कुरा म चाहन्न ।

अनि मैले उनलाई भनें,‘हेर ! स्मृति म त गरीब परिवारको मान्छे, मेरो घर गाउँमा छ, म यहाँ मेरो पढाईको लागि आएको, अनि तिमी एउटा धनी खानदानी केटी, त्यसमाथि हामीबीचको जात पनि मिल्दैन, असम्भव कुरा नगर, बरु बिहे गर्न मन छैन भने तिम्रो बुबा–आमालाई म सम्झाउँछु ।’

अनि उनले भनिन्,‘ठिकै छ, त्यसो भए तिमी मलाई मन पराउँदैनौ हैन ? मेरो प्रस्ताव पनि स्विकार्दैनौ हैन ?’, ‘कसरी स्विकारांै, बेकारमा म तिम्रो परिवारबाट तिमीलाई अलग्याउन चाहन्न के ?’ मैले भनें ।

त्यसपछि उनी मसँग कुरा गर्न चाहिनन् । उनी रिसले आगो भईन्, यस्तो अवस्था आज मैले पहिलो पटक देखें । उनको अनुहार एकदमै रिसाहा देखिरहेको थियो । यो भन्दा अघि मैले उनी यतिधेरै रिसाएको आजसम्म देखेको पनि छैन ।

त्यसपछि एउटै बेन्चमा भएपनि उनी एकातर्फ त म एकातर्फ फर्किएर बस्यौं । मैले उनलाई कति सम्झाउने कोशिस गरें तर सकिन ।

अब त लाग्न थाल्यो कि मेरो कारण उनको जिन्दगी बिग्रिन सक्छ, अनि मैले धेरै बेर सोचें र एउटै निश्कर्ष निकाले कि म उनीबाट टाढा हुनुपर्छ । यदि म उनीबाट टाढा भईन भने न त उसले मलाई बिर्सन सक्छ न त उनी परिवारले भनेको ठाउँमा बिहे गरेर जान सक्छ ।

त्यसपछि मैले उनलाई भनें,‘ल भैगो सबै कुरा बिर्सिदेउ, म तिम्रो जीवनमा साथीको रुपमा आएको थिएँ, सधंै म तिमीलाई साथीको रुपमा नै हेर्छु, अब सम्झिउ कि मैले साथीको नाता तोडें, आजबाट तिमी आफ्नो बाटो लाग्छौ र म आफ्नो बाटो ।’

त्यति भन्नासाथ उनी डाँको छाडेर रुन थालिन् । मैले सोचे यहाँ बस्नु अब त्यति उचित छैन । त्यसपछि मैले उनलाई त्यो अवस्थामा छोडेर आफ्नो पाइलालाई अर्कैतिर मोडें…….।

जब म आफ्नो कोठामा आइपुगें तब, खै किन हो किन मेरो मन निराश थियो । सायद, उनलाई त्यस्तो अवस्थामा छोडेर आ’कोेले पो हो कि !

मोबाइल झिके अनि नम्बर डायल गरें,“तपाईले सम्पर्क गर्न खोज्नुभएको मोबाईलको स्विच अफ गरिएको छ ।”

मोबाईल पनि अफ छ अब के गर्ने ? मेरो मनमा बेचैनी छाउन थाल्यो । लाग्छ, मेरो मनलाई एउटा ठूलो ढिक्को पहाड आएर थिचिरहेको छ । मनमा अनेकौ कुराहरु खेल्न थाल्यो । मेरो मन दोधारमा छ, एउटा मनले भन्छ उनको प्रस्ताव स्विकार, त अर्काे मनले भन्छ, हुन्न तेरो मात्र होइन उसको पनि भविष्यसँग तैले खेलवाड गर्छस् । के गर्ने सोच्न सकिरहेको छैन, के निर्णय लिने ?अचानक नयाँ नम्बरबाट कल आउँछ…….।

‘हेलो’ मैले भनें । उताबाट हस्याङफस्याङ गर्दै आवाज आउँछ,‘रोहन हो ?’ अनि मैले आफु रोहन भएको कुरा बताए । तब उनले एक्कासी यस्तो खबर दियो कि म झसंग भए,‘तपाईको बुबा सिकिस्त हुनुहुन्छ, तपाईलाई झट्टै गाउँ आउनु रे!’ यति भन्नासाथ उनले फोन राखिदिइन् ।

के गर्नु अब त गाउँ जानैप¥यो, आफुलाई जन्म अनि कर्म दिने बुबा बिरामी हुनुहुन्छ । त्यसपछि म आफ्नो कुनै पनि पर्वाह नगरी म त्यही रात आफ्नो अवश्यकीय सामान लिँदै रात्रीबसमा आफ्नो घरतर्फ लागें ।

रातभरी गाडीमा निन्द्रा पनि लागेन । सबैजना भिडियो हेरिरहेथें, गाडीमा । आफु भने सोचमा डुबको थिएँ ।

सोचिरहें, उनले मलाई के सोच्लिन् ? उनको त्यो अवस्थामा मैले उनलाई छाडेर आएँ, म गाउँ गएको कारण उनले आफु पो ठान्ने हुन् कि ! मैले भन्न पनि पाइन म गाउँ जाने खबर, फेरी उनी जिद्दि छे, रिसाहा छे, केही नराम्रो काम पो गर्लान् कि भन्ने डर पनि भयो । के गर्ने भनेर म सोच्न सकिन । आफ्नो मनलाई अरु कतै भुलाउने खोजें, कति पटक त फिल्म हेरेर भुल्न खोजें तर सकिन । मेरो मन मानेन अरु कुरा सोच्न, मात्र उनलाई नै सम्झिरहें । खै किन हो ? घरमा बुबा बिरामी हुनुहुन्छ भन्ने थाहा पाएर घरतिर लागे तापनि मलाई उनको याद किन आउँछ ?

यस्तै यस्तै कुरा मनमा खेलाउँदै थिए तब एक्कासी मेरो हात मोबाइलतिर गयो र डायल ग¥यो, उनकी बहिनी स्वेताको नम्बरमा …….।

‘हेलो रोहन दाई’ उताबाट आवाज आयो । एकैपटकमा फोन उठाएकोले म अचम्म भएँ त्यो पनि मध्यरातको १ बजे । अनि मैले सोधें,‘सुतेको छैन ?’ ‘कहाँ निन्द्रा लाग्नु, हेर्नु न दिदीको अत्तोपत्तो छैन, कहाँ गएको होला, मोबाइल पनि घरमै छोडेको छ’ स्वेताले भनिन् । अब त झन् मेरो मन एकदमै दोधारमा प¥यो यति रातिसम्म पनि घर आएको छैन भन्दा ।

अनि मैले उनलाई सोधें,‘कति बेलादेखि आएको छैन, अनि किन घरमा केही किचकिच परेको थियो कि ?’ उनले भनिन्,‘खासै त केही हैन, बाबाले बिहेको कुरा गर्नुभएको थियो अनि बिहानै कसैलाई केही नभई घरबाट निस्कनुभएछ, सबै चिनेजानेकोमा फोन गरिसकें कसैलाई पनि थाहा छैन रे, के गर्ने के गर्ने ?’

मैले सोधें,‘अनि मलाई किन फोन नगरेको त ?’ उनले भनिन्,‘म तपाईको कोठामा गएको थिएँ, घरबेटीले बुबा बिरामी भएको खबर पाएर गाउँ हिड्यो भन्नुभयो, त्यही भएर फोन नगरेको ।’, ‘ल ल भईहाल्यो, धेरै चिन्ता नगर भोलि त आइहाल्छ होला नि, बुबाआमालाई पनि चिन्ता नलिनु भन्दिनु ल !’ भन्दै मैले उनलाई सान्त्वना दिदैं फोन राखिदिएँ ।

अब त म झन् बढी सोचमा डुब्न थालें । अब के गर्ने ? उता बुबा बिरामी हुनुहुन्छ यता स्मृतिको अत्तोपत्तो छैन …. । बिहानी पख मिर्मिरे उज्यालो भयो । एक्कासी मलाई के भयो थाहा छैन, मैले गाडी रोक्न लगाएँ ।

‘ड्राइभर दाई, गाडी रोक्नु न’ मैले भनें । त्यसपश्चात दाईले गाडी रोक्नुभयो अनि मैले म जान्न भन्दै उनीहरुलाई त्यहाँबाट जान आग्रह गरें । मलाई त्यो सुनसान सडकमा छाडी उनीहरु आफ्नो गन्तव्यतिर लागे ।

त्यो सुनसान सडक, झिसमिसे उज्यालो । बिहान त हुन हुन लागेको थियो तरैपनि अलिक अँध्यारो नै थियो । शहरतिर आउने गाडी आएको थिएन ।

एक्लो थिएँ म र पनि मलाई एक्लोपनको महसुस भएन । खै किन हो ? तर लाग्छ आफुलाई कुनै कुराको चिन्ता धेरै भयो भने एक्लोपनको महसुस पनि नहुँने रहेछ । एक्लै थिएँ, कानमा एअरफोन लगाएँ अनि गीत सुन्दै शहर तर्फ आफ्नो खुट्टाहरुलाई लम्ब्याएँ । यसरी नै म आफ्नै धुनमा हिडिँरहेको थिएँ, मनमा एउटै कुरा लिएर, उनी कहाँ छिन्, के गर्दै छिन् ?

मैले मोबाईलको किप्याडमा औंलाहरु चलाएँ र डायल गरें, उनको बहिनीको नम्बरमा ।

‘हेला ’ दाई पुग्नुभयो ?’ बहिनीले भनिन् । मैले भने,‘छैन, म त बाटोमै छु, शहर फर्किन लागेको, अनि तिम्री दिदी आईन् ?’ उनले भनिन्,‘छैन कता गईन् कता, भोलि खोज्न जान्छौं भनेर सोचिरहेको ।’ अनि मैले ल ल हुन्छ, म पनि आईपुग्छु अब ३÷४ घण्टामा त्यही भनेर फोन राखिदिएँ ।

मेरो कारणले उनी घर गइनन् खै किन हो ? अब त लाग्न थाल्यो कि म पनि उनलाई माया गर्छु, नत्र भने मलाई किन यति धेरै गाह्रो भो, बुबा बिरामी हुँदा पनि घर नगई किन म शहरतिर नै फर्किँदैछु त ? सायद मेरो मनले पनि उनलाई रोज्छ होला, उनको आँशु, उनको पीडा, उनको दुःख, मेरो मनले सहन सक्दैन होला । सायद…।

यस्तै यस्तै सोचाईमा म डुबिरहेथें । अचानक हर्न बज्यो । मैले यसो आफ्नो आँखालाई त्यो गाडीभएतिर मोडें, अनि मैले गाडी रोक्ने ईशारा गरें ।

गाडी रोक्यो, । मलाई सोध्यो,‘किन भाई, कहाँ जाने हो ?’ मैले भनें, ‘म शहरतिर जाने हो, तपाई कता हो नि ?’ उनले पनि शहरतिर नै जाने बताए अनि म त्यही ट्रकमा चढें । ट्रक पुरै सामानले भरिएको थियो, के थियो त्यो त थाहा भएन ।

त्यसपछि हामी हाम्रो गन्तव्यतिर जाँदै थियौं । करीब बिहानको ६ बजेको थियो । एउटा बजारक्षेत्रमा पुग्यौं, पुरै बिद्यार्थीहरुको जमात थियो । हातमा ठूलो ठूलो डण्डा समातिरहेको । कोही के कोही के भनिरहेको थियो । तरपनि बुझिने भाषामा आज उक्त शहर बन्द भन्दै थिएँ ।

हाम्रो गाडी पनि त्यही नजिक पुग्यो । एकजना विद्यार्थी आयो र भन्यो,‘आज राजमार्ग बन्द हो दाई गाडी साइड लाउनु ।’ अनि ड्राइभरले भन्यो,‘हैन हस्पिटलको गाडी हो, गाडी नरोकौं न हामीलाई जान देउ ।’

तब केही विद्यार्थीहरु आए र ड्राइभरसँग कुराहरु गर्न थाले । के कुरा त्यो त थाहा भएन, ड्राइभर दाई अचानक ओर्ले र अरु विद्यार्थीको जमातमा गए । धेरैबेरको कुरा पछि ड्राइभर दाई आए र उनले गाडी पार्किङ साइडमा पार्क गरे । उनले भने,‘हिजो यहाँ बसले मान्छे हान्यो रे अनि आज बिहान म¥यो रे, त्यही भएर क्षतिपूर्ति माग गर्दै आज बन्द रे, गाडी नजाने भो ।’

आफूलाई त जसरी भएपनि जानु छ । त्यसपछि मैले सोधें,‘कहिले खुल्छ त ? अरु केही उपाय छ दाई ?’ उनले भने म एकछिन चौकी गएर आउँछु तिमीहरु बस्दै गर, केही त होला नि ?’

त्यसपछि ड्राइभरदाई चौकीतिर लागे । म र गाडीको स्टाफ भने गाडीमा नै थियौं । करीब करीब २ घण्टा बित्यो, ड्राइभर दाई आउनुभएन । म के गरुँ त्यो पनि थाहा छैन । जानको लागि कुनै गाडी पनि छैन, अनि हिडेर जानु त्यो पनि असम्भव । अनेक कुराहरु मन थुपार्दै, खेलाउँदै त्यो जमातलाई हेरिरहेथें ।

अचानक मेरो मोबाइलमा नयाँ नम्बरबाट फोन आयो…….।

‘हेलो !’ मैले भनें । उताबाट मलाई सोध्यो,‘हजुर रोहन दाई हो ?’, अनि मैले भनें,‘हजुर म रोहन नै हो ?’ त्यसपश्चात उनले मलाई भनें,‘एकजना दिदी अहिले अस्पतालमा हुनुहुन्छ मैले उहाँको मोबाईलमा तपाईको नम्बर देखेर कल गरेको ।’ अनि मैले सोधें,‘को हुन् उनी ?’ उनले भनें,‘खै थाहा भएन, तपाई आउनु न अस्पतालमा ।’

त्यसपछि मैले मेरो अवस्थाको बारेमा सबै कुरा भनें अनि त्यो खबर मैले श्वेतालाई दिए,‘श्वेता मलाई एकजना दाईले कल गर्नुभएको थियो, एउटी केटी अस्पतालमा छें रे बेहोस अवस्थामा मेरो नाम मोबाईलमा देखेर कल गरेको रे, जाउ त दिदी हुनसक्छ ।’

अब मेरो मनमा अनेकौं कुराहरुले बास गर्न थाल्यो । लाग्न थाल्यो, मेरो कारणले उनी त्यो अवस्थामा छें । अचानक ड्राईभर दाई र प्रहरी भ्यानमा बसेर आउनुभयो । प्रहरीको जमात नै जम्मा भयो र हाम्रो ट्रकलाई घेर्न थाल्यो अनि ड्राईभर दाईले इन्जित स्टार्ट गर्नुभयो र बिस्तारै बिस्तारै प्रहरीको घेराउ सहित त्यो बजार पास गराउनुभयो । प्रहरीको स्कर्टिङ्गमा हामी त्यो बजारबाट निस्कियौं ।

अनि मैले त्यो दाईलाई सोधें,‘यस्तो अवस्थामा जबरजस्ती प्रहरी परिचालन गरेर गाडी किन ल्याउनुभएको ?’ अनि उनले जवाफ दिए,‘यसमा अक्सिजनको सिलिण्डरहरु छ, अस्पताल लानु पर्ने, जसरी भएपनि आज पुग्नु छ भनेर मलाई फोन आइसक्यो त्यही भएर प्रहरी चौकीमा गएर सबै कुरा मिलाएर गाडी स्कर्टिङ्गमा निकालेको ।’

अनि मैले उनलाई कुन अस्पताल भनेर सोधेको थिएँ गाडी पनि त्यही अस्पतालमा जाने रहेछ, जहाँबाट मलाई फोन आएको थियो ।

त्यसपछि हाम्रो गाडी तेज रफ्तारमा गुडिरहेको थियो । बाटोमा गइरहँदा कहाँ भन्ने बित्तिकै फोन लाग्छ र मिस्ड कल नोटिफिकेशन आइरहेको थियो, म्यासेजमा । टावर पनि कम थियो । एकपटक बल्लबल्ल फोन आयो, त्यो पनि केही बुझिएन । श्वेताले मात्र मलाई ४०÷५० पटक फोन गरिसकिछे । मैले पनि यताबाट फोन ट्राई गरिरहेथें । बल्ल बल्ल शहर नजिक आएपछि उनलाई फोन लाग्यो र मैले सोधें,‘को रहेछ उनी ?’ अनि श्वेताले भनिन्,‘दिदी हुनुहुँदो रहेछ, बेहोस छे, तपाई कति बेला आइपुग्नु हुन्छ ?’ अनि मैले भने,‘म त्यही अस्पतालको सामान ल्याएको गाडीमा छु, अब २०÷३० मिनेटमा आइपुग्छु ।’

जे होस् त्यो केटी स्मृति रहिछिन् । डर थियो मनमा कता जाने ? कसरी खोज्ने ? कहाँ गइन् ? भन्ने चिन्ता थियो, अब त दूर भयो । तरपनि उनी बेहोस छिन्, यो कुराले मनमा अशान्ति थियो । जे भए पनि म भगवान्लाई पुकार्दै थिएँ । म उनलाई सम्झिदै उनकै दुनियाँमा हराईसकेको थिएँ । मेरो मन, मष्तिस्कमा उनकै अनुहारको झझल्को आइरहेथ्यो । अचानक गाडीले ब्रेक लगायो….. म अगाडी ठोक्किन पुगें, अनि होसमा आएँ ।

अस्पताल आइपुगेको रहेछ । म हत्त न पत्त उनको रुम खोज्न थालें । रुम बाहिर उनको परिवार थिए, निराश मुद्रामा अनि म पुगें, श्वेता मेरो अघि आइन् र भनिन्,‘दिदीको स्थिति नाजुक छ रे’ भन्दै रुन थालिन् । उनीसँगसँगै सबैजनाको आँखामा आँशुको ओइरो लाग्यो । मैले उनीहरुलाई सम्झाउन थालें । आफ्नो मन पनि त रोइरहेको छ र पनि ठाम्दै उनीहरुको आँशुलाई पनि रोक्न खोजिरहेथें ।

एकैछिनमा डाक्टर आउनुभयो र मैले सोधें,‘के भएको हो ? स्थिति के छ ?’ अनि डाक्टरले भनें,‘रातभरिको चिसो, केही नखाएको मान्छे, त्यसैले कमजोरी हो तर होस नआएसम्म केही भन्न सकिँदैन ।’

अचानक भित्रबाट नर्स दौडेर डाक्टरकोमा आया र भन्यो,‘सर उसलाई होस आयो ।’

अब भने मेरो मन पनि खुशी भयो । डाक्टर भित्र गए । हामी भने बाहिर नै थियौं । केहीबेर पछि डाक्टरले आएर भने,‘रोहन भनेको को हो ?’ अनि मैले भनें,‘हजुर म नै हो ।’, ‘तिमीलाई भित्र बोलाएको छ’ भन्दै डाक्टर आफ्नो बाटो लागे । अनि म भित्र गएँ ।

जब म भित्र गएँ, मेरो खुट्टाहरु कामिरहेका थिए । मैले उनको आँखामा हेर्न सकेको थिइन, कारण म दोषी थिएँ, अनि उनले मलाई भनिन्,‘अझै पनि तिमी मलाई स्विकार्दैनौं ?’ यस्तो अवस्थामा छिन्, के गरुँ थाहा थिएन अनि मैले भने,‘ओ के बाबा ! ओ के आई लभ यू टु ।’

त्यसपछि उनको परिवार भित्र आए, म बाहिर गएँ ।

त्यहीदिन हामीले उनलाई घर लिएर गयौं । घरपुगेर म फर्किने बेला मैले उनको बाबालाई ‘धेरै कर नगर्नु, जिद्दि छे, उनलाई मनाउने कोशिस गर्नु’ भन्दै म आफ्नो बाटो लागें ।

अचानक घरबाट फोन आयो र सोध्यो,‘किन नआएको ?’ मैले भनें,‘हेर्नु न कलेजमा काम प¥यो, म पर्सीतिर आउछु ।’ अनि मलाई फोनमा भन्यो,‘किन ढिला ? बुबाले हामीलाई छाडेर जानुभईसक्यो, कहिले आउने तिमी ?’

त्यसपछि म छाँगोबाट खसेझैं भयो । मलाई यो संसार देखाउने बुबा अब हाम्रो सामु रहनुभएन । म आफ्नो सामान प्याक गर्नथालें कि म घर जानको लागि ।

यत्तिकै फोन आयो उनको । अनि मैले उनलाई मेरो सबैकुरा बताएँ, म भोलि बिहान ५ बजेको बसमा जान्छु । अनि उनले आफुपनि जाने कुरा बतायो तर मैले मानिन । उनी जिद्दि छे, जे भन्छे सो गर्छे । त्यो रातभर निन्द्रा लागेन, यही सोचें कि कतिबेला ५ बज्छ र म जान्छु ।

रातभर एउटै कुरा मनमा थियो, मैले अन्तिम पल्ट पनि आफ्नो बुबासँग कुरा गर्न पाइन, म कस्तो अभागी ।

भोलिपल्ट बिहान ४ बजे नै ढोकामा ढकढक्यो । ढोका खोली हेरें, उनी आएकि रहिछिन् म सँगै गाउँ जानको लागि । आइसकेको मान्छेलाई किन फर्काउनु अनि म र उनी आफ्नो घरतिर लागें । करीब १ महिना गाउँमा बसेर आयौं । बुबाको सबैकाम सकेर आएका थियौं ।

एकदिन उनको बुबाले हाम्रो बारेमा थाहा पाउनुभयो । अनि उनले धेरै गाली खाइन् कि हामी बीचको जात मिल्दैन, त्यसमाथि पनि म शहरमा कोठा लिएर बस्ने मान्छे । उनको बुबाले अरु केटा हेरेको छ, त्यही केटासँग बिहे गर । यो कुरा उनले मलाई सुनाइन् । के गर्ने मैले सोच्न सकिन, त्यसपछि एउटा कुराको छिनोफानो भयो, सम्झौता…………। उनले मसँग सम्झौता गरिन् ।

उनले भनिन्,‘तिमी ट्यालेन्ट छौं, तिमीले चाह्यो भने जे पनि गर्न सक्छौं, म मेरो घर त्यागेर आउन तयार छु, वश तिमी मलाई अपनाउछौं या अपनाउँदैनांै ?’ आफुले मन पराएको मान्छे कसरी अरुसँग जाओस् । अनि मैले भनें,‘ठीक छ म गर्छु तिमी जे भन्छौं म गर्न तयार छु ।’ त्यसपछि उनले भनिन्, ‘अबको ५ वर्षभित्र मलाई ल्याउने तयारी गर, जुन दिन तिमी मलाई ल्याउन तयार हुन्छौं, त्यो दिन म सबै त्यागेर आउँछु ।’ अनि मैले उनको कुरामा सहमति जनाए । ५ वर्षभित्र उनलाई ल्याउने कुराको सम्झौता भयो, यदि मैले उनलाई ५ वर्षभित्र ल्याउन सकिन भने उनी बुबाको कुरा मान्नुपर्ने बाध्यता सुनायो ।

मेरो दिनहरु परिवर्त भयो । पहिला पढ्ने मात्र थियो, अब त म काम खोज्नतिर लागें । करीब करीब १ महिनापछि एउटा जागिर पाएँ । आफ्नो कमाईहरु जम्मा गर्न थालें । लाग्न थाल्यो, अब त मेरो जीवन सम्झौताले घेरिएको छ । उनले म सँग गरेको सम्झौताले मेरो जीवन नै परिवर्तन हुन थाल्यो । थाहा छैन किन हो ? न त म उनलाई छोड्न न सक्छु न त यस्तो तरिकाले ५ वर्षमा म सम्पन्न नै हुन्छु । करीब १ वर्ष बित्यो, १ वर्षको अवस्थामा आएको परिवर्तनमा मैले सोचें, म उनलाई छाडिदिन्छु, उनको बुबाआमाको मन दुखाउनु मलाई उचित लागेन ।

त्यसमाथि मेरो पढाइपनि मैले छाडिसके, जागिरले गर्दा ।

एकदिन मैले उनलाई बोलाएर सबैकुरा उनलाई भन्ने विचार गरें । सोही अनुसार उनलाई मैले एकदिन स्मारक पार्कमा बोलाएँ र भनें,‘१ वर्षको स्थिति हेरें, अब त लाग्न थाल्यो, कि म तिम्रो लागि उपयुक्त छैन, फेरि तिमी पनि आफ्नो बुबाआमालाई रुवाएर जाने ? मैले भनेको कुरा मान्छांै भने बुबाले भनेको केटासँग बिहे गर, सायद उ त धनी पनि होला, कमसेकम म जस्तो गरीब त छैन पक्कै पनि । मैले भन्दा पनि धेरै माया गर्छ होला । तिम्रो हरेक इच्छा आकांक्षाहरु पूरा गर्छ होला ।’ अनि उनले भनिन्,‘मलाई केही कुराको मतलब छैन, मात्र म तिमीलाई चाहन्छु, म अरुसँग बिहे गर्न सक्दिन, मेरो मन मान्दैन ।’

अनि मैले सोधें,‘त्यसो भए म सँग किन सम्झौता ग¥यौं त ? कि मैले ५ वर्षमा सम्पन्न गर्नसकिन भने तिमी अरुसँग जान्छौं भनेर ?’ अनि उनले मलाई भनिन्,‘यो त एउटा भनाई मात्र हो, यस्तो सम्झौता मात्र हो कि तिमी आफ्नो खुवी नलुकाओस् भनेर, वश तिमी सम्पन्न होस् न होस् म ५ वर्षपछि तिम्रो जीवनमा आउँछु, तिमीसँग जीवन बिताउन, बरु जति नै दुःख पाओस् म तिमीसँग आउँछु ।’

यसरी उनले मलाई सम्झाइन् । करीब २ वर्षपछि उनले गरेको सम्झौताको कारण म आफ्नो खुट्टामा उभिएको छु । आज उनी मसँग छिन्, हाम्रो सानो परिवार खुशी छांै । पूर्ण रुपमा सम्न्न छ छैन तर खानलाउन धौधौ पर्दैन, कारण उनले गरेको सम्झौता । भन्छन् मान्छेले कोही केटाको जीवन परिवर्तन हुन्छ वा कसैले जीवनमा सफलता पाउँछ भने त्यसमा केटीको हात हुन्छ रे । यस्तै भयो मेरो जीवनमा पनि, कारण उनीसँग गरेको सम्झौता ।

समाप्त

(यस कथाका पात्र तथा घटना सबै काल्पनिक हुन्, कसैको व्यक्तिगत जीवनसँग मेल खान गएमा संयोगमात्र हुनेछ ।)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.