कविता : लाहुरे फूल

~टंक वनेम~Tanka Wanem

तिमीले नभोगेको डेथ भ्याल्ली भोगेर
रातो पहाडको गहिरो नदीहरु
अटप्पे जङ्गलका
काँडाहरुले घोचिन्दै
उक्लि रहेछु उकालै उकालो
ओर्ली रहेछु ओरालै ओरालो
लम्बी रहेछ
जीवनको आरोहावरोह ।

भनेका थियौ
पट्टक्कै सुहाएन है
तिम्रो नाम
लाहुरे फूल
खोइ कहिले फेरिन्छ त
मेरो नाम
सूर्यमुखी र
कनक चम्पा भएर
कहिले बन्द गछौ कुन्नी ?
डायस्पोरामा बसेर
दुःख भोग्नुको पिडा
कहिले थुन्ने हौ
आमालाई संम्झेर बग्ने
आँसुको यो दोभान ।

तिमी संम्झिन्छौ
म मान्छे मात्र मार्छु
युद्ध मात्र गर्छु
तरवार मात्र उध्याउछु
बन्दुक मात्र पड्काउछु
धरोधर्म
म कहाँ
मान्छे मात्र मार्छु र
तिम्रै जस्तो एउटा
मायाको पहाड उभेको छ म भित्र
तिम्रै जस्तो इच्छाका
कुइनेटाहरु घुमेका छन फनफनी

मनका नदीहरु बग्दै गई रहेछ सलल
ति म्रो इत्छाका धागाहरुमा उनिएका
रहर लाग्दै भविश्य जस्तै त छ मेरो मन
जसरी दुख्छ
सुस्ता महेसपुर मिचिन्दा तिम्रो मन ।

युद्धभूमिमा होमिनु
मेरो रहर हो कि – वाध्यता
इतिहास बिना कहाँ
वर्तमानको निर्माण भएको हो र ?
तिमीले पनि त पढेकै छौ
सत्ता टिकाउने बादशाहहरुको इतिहास
कस्लाइ पो हुन्छर
बमको चोइटा
सुनु सुनु लाग्ने
संगीतको मूर्च्छना
कस्लाइ पो हुन्छ र ?
दुइ दिन बाँच्ने जीवनलाई
डेथ भ्याल्लीको रहर ।

सत्य त त्यहि हो
अर्काको बन्दुक बोकेर
मर्दैन देश प्रेम
डलरको खेतिमा
उभ्दैन स्वाभिमानको पहाड
स्वीकार्य छ
मेरो नाम फेरि देउ
म अब-
लाहुरे फूल हुन चाहान्न
तिमी जस्तै हुन चाहान्छु
दुरुस्त तिमी जस्तै ।

हाल – वेष्टमिडल्याण्ड्, वेलायत

(स्रोत : कविता कुसुम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.