~बिष्णु सुबेदी~
गाउँ छोड्नुअघि, सोचें–
घरैमाथिको देउराली
र सोचें
सहरमा देउराली छ कि छैन होला !
सम्झिरहें
गाउँमुनिको माने थामी
र सम्झिरहें
सहरमा अर्को माने छ कि छैन होला !
रातभर गम खाइरहें
भुङ्ग्राको तावा भएर
धिप–धिप बत्तीको मधुरो प्रकाशसँगै
सोचिरहें
गाउँ र सहरमा के–के फरक होला ?
सहरको छातीबाट
दोल्तीखोला जस्तो खोला बग्छ कि बग्दैन
काफल पाक्ने घना जङ्गल छ कि छैन होला
दाँईं हाल्ने खलो
र, पसिना पुछ्ने चौतारी नि ?
सम्झिरहें रातभर
गाउँ छोड्नु अघि–
गाउँमा जस्तै पानीको मूल हुन्छ कि हुँदैन
गाउँमा जस्तेै गुराँस फुल्छ कि फुल्दैन
दाँज्न मन लागिरह्यो सहर र गाउँ
गाउँ छोड्नु अघि,
सहर पसेपछि लागिरहेछ
सहर भनेको
सिमेन्टको जङ्गल रहेछ
सबै कृत्रिम ……….!
अहो ! कसरी बाँच्नु हो
यो सहर भनाउँदो निर्जन जङ्गलमा
धेरै खोजें
गाउँकै आमाजस्ती असल आमा
गाउँकै मानेजस्तो सहयोगी हात
गाउँकै जस्तो सुन्दरता र पवित्रता
कतै भेटिएन
यो सहरमा मन बहलाउने चौतारी
शीतल ताप्ने बरपिपल
सुसेली हाल्ने जङ्गल
र रहेनछ पनि,
सुनाखरी फुल्ने भीर
माछाका भुरा समात्ने खोलाको तीर !
आज फेरि सोचिरहेछु
गाउँ फर्कनुअघि
कतै मेरो गाउँ पनि सहर भैसक्यो कि ?
कतै मेरो गाउँ पनि रहर भैसक्यो कि ?