~करूण थापा~
भित्र गोरो मन छ मेरो, कालो छालै भो त के भो ।
दूध कालो हुन्न कैले, गाई त कालै भो त के भो ॥
याद तिम्लाई गर्न छाडें, आँसु मेरो बग्न छाड्यो
आज पैलो पल्ट हाँसें, घाउ आलै भो त के भो ॥
निष्ठुरीलाई भुल्न सक्ने, आँट जाग्यो आज मलाई
भुल्न खोज्दाखेरि तिम्लाई, यस्तो हालै भो त के भो ॥
दिन्छु भन्छौ जून तारा, चाहिएको सम्झना हो
नाम जप्दै रुन पाए, आँसु छालै भो त के भो ॥
दुख्छ भन्ने सोच्नु पर्थ्यो, झीर घोच्ने निष्ठुरीले
दुख्न छाड्यो थाप्छु छाती, ‘झीर’ भालै भो त के भो ।
फस्छ कोही फस्न देऊ, बच्नु आफू माकुरी झैं
दुनियाँ नै फस्न सक्ने, धन त जालै भो त के भो ॥
आँट जसको हुन्छ उसले, छुन्छ तारा जूनलाई
माथि बढ्नै पर्छ पाइला, सुस्त चालै भो त के भो ॥
चाहिएको छैन व्यञ्जन, भोक टार्ने जे छ देऊ
भर्न पाए पेट आफ्नो, पुग्छ दालै भो त के भो ।
आसमा नै अल्झिएको, हुन्छ हाम्रो जिन्दगी यो
कुर्छु दोबाटो र भञ्ज्याङ्ग, लाख सालै भो त के भो ॥
भात खाऊ भूजा खाऊ, या त अर्कै नाम देऊ
खान सक्ने अन्न नै हो, सुनको थालै भो त के भो ॥
रमल मुसम्मन् सालिम – फाइलातुन् × ४
काठमाडौं