~विक्रम तिमिल्सिना~
काँडै हुँ म फूल बनी फुलेकै पो कहाँ छु र ?!
सम्झिएन किन भन्छौ भुलेकै पो कहाँ छु र ?!
तिम्रै मातमा मेरा चाह जगाउँछु भन्छौ अरे,
नशानशा मलाई नै बगाउँछु भन्छौ अरे,
तिमीसँग त्यती धेरै घुलेकै पो कहाँ छु र ?!
सम्झिएन किन भन्छौ भुलेकै पो कहाँ छु र ?!
आफ्नै छाया आफैंमाथि झर्दा घाम डुबेको हो,
आँशुले नै ममा राज्य गर्दा घाम डुबेको हो,
ज्योति छर्न चन्द्रजस्तो खुलेकै पो कहाँ छु र ?!
सम्झिएन किन भन्छौ भुलेकै पो कहाँ छु र ?!