~नारायण तिवारी~
शहीदकी पत्नी गहभरि आँसु बोकेर
भन्छिन् –
ख्वै तिमी त अन्धकार चिर्न गएको भन्थ्यौ
तिमी त– अलविदा प्रिय †
म फर्केर आउन्न होला तर
त्यो बिहान तिम्रो आँगनमा आउनेछ
तिमीलाई सुम्सुम्याउन, भन्थ्यौ
ख्वै तिमी त हुरी बनेर
पतझडलाई डाँडा कटाउन
गएको, भन्थ्यौ
तिमी त– म आउन्न होला तर
वसन्त तिम्रो घर–आङ्गनमा तिमीलाई
सुम्सुम्याउन आउने छ, भन्थ्यौ
तिमीले मेरो शिरमा स्नेहले
सुम्सुम्याएको अन्तिम पल्टको याद
मेरो खाटा नबसेको घाऊमा चल्मलाइरहेको छ
प्रिय † कठिन भो बिर्सन
र तिम्रो याद आइरहेको छ … ।
शहीदकी पत्नीको गला भारी हुन्छ
मुटुमा भक्कानो पर्दछ
अझ अरू केही बोल्न सक्दिनन् ।
कवि देख्दछ–
शहीदले चिरेको अन्धकारले
उसको घरमा प्रकाश छरिएकै छैन
कवि लेख्दछ–
शहीदले डा“डा कटाएको
पतझडको खाली डोबमा
बसन्त झुलेकै छैन
हुन्थ्यो, प्रिय वस्तु गुमाए पनि केही पाएको भए विर्सन
हुन्थ्यो, केही गुमाए पनि प्रिय वस्तु पाएको भए बिर्सन
शहीदकी पत्नीका आँखा
बिहानी पर्खंदै रसाइरहेका छन्
शहीदकी पत्नी
आफ्नै आँगनमा वसन्त खोज्दै
सुँकसुकाइरहेकी छिन्