कथा : काठमान्डु कथा- राम र काम

~मनोज दाहाल~

मलाई मानिसका नामहरूमा अद्भुत जिज्ञासा छ । बुवाले राखिदिएको मेरो नामको अर्थ हेर्न मैले कयौंपटक शब्दकोष पल्टाएको छु । मेरी छोरीको नाम ऋतम्भरा हो भन्ने थाहा पाएपछि अधिकांशले ‘अहा, कस्तो राम्रो नाम’ भन्दै अर्थ सोध्छन् । म बढो उत्साही भएर ‘ऋतम्भरा’को अर्थ बताउन थाल्छु । दुई महिनाअघि जन्मेको छोराको नाम मैले ‘ऋग्वेद’ राखेको छु । धेरैजसोलाई यसको अर्थ बताइरहनु पर्दैन । जतिले सोध्छन्, त्यो मेरा लागि एउटा महत्त्वपूर्ण अवसर हो- आफ्नो विद्वता प्रदर्शन गर्ने ।

रामप्रीत बाबालाई पहिलोपटक भेट्दै मलाई उहाँको नामले लोभ्याएको थियो । ‘रामप्रीत’को सामान्य अर्थ थाहा भए पनि यो शब्दको रहस्य बाबाकै मुखबाट खोतल्न म जिज्ञासु भएको थिएँ । राम भन्ने शब्द मलाई मन पर्नुको कारण स्कुल पढ्दाको मेरो साथीको नाम भएरमात्र पक्कै होइन । यो शब्द उच्चारण गर्दा एकप्रकारको आनन्द आउँछ । भगवान्को नाम भएर होइन, यो शब्दमै केही जादु हुनुपर्छ, केही गुण, केही रहस्य । सत्यको कुनै सूत्र !
तर, जाबो एउटा शब्दको रहस्यमा कसलाई के चासो ?

‘रामप्रीत’ भन्ने शब्दको पछिल्लो अंश ‘प्रीत’ पनि बढो रहस्यदर्शी शब्द हो । प्रीतको रहस्यमा कतिलाई रुचि होला, कतिलाई नहोला- त्यो अर्कै कुरा हो तर प्रीतमा सबै लोभिन्छन्, जानेर वा नजानेरै । प्रीतप्रतिको आकर्षण अस्तित्वको आधार नै हो ।
अहा, प्रीत !

यही दुइटा शब्द जोडिएर बनेको शब्द ‘रामप्रीत’ मेरो प्रिय गुरुको नाम हो भन्ने सम्झँदा म आनन्दले लुटपुटिन्छु ।

काश्मीर जान्छु भनेर मसँग हायात होटलबाट छुट्टिनुभएको रामप्रीत बाबाले एक दिन मलाई अलास्काबाट भाइबरमा फोन गर्नुभएको थियो । उहाँ फ्रान्सको एउटा गाउँमा दुई साता बिताएर क्यानडा पुग्नुभएको रहेछ, अलास्का जान । ध्यानमा उहाँलाई लगातार कयौं दिनदेखि सम्झिरहेको थिएँ, अचानक अलास्काबाट बाबाकै फोन आउँदा मलाई विज्ञानले बिस्तारै पर्गेल्न थालेको ‘टेलिप्याथी’ जोगीहरूले हजारौं वर्षपहिले अनुभूत गरिसकेका थिए होला भन्ने लाग्यो ।

त्यो रात निद्रा नलागेपछि मैले वाइफाई अन गरेको थिएँ । फेसबुकको टाइमलाइनमा दिउँसो अफिसमै हेरिसकेका स्टाटसहरू एकपछि अर्को स्क्रोल भइरहेका थिए । ट्विटरको हल्लाखल्ला पनि शान्त भइसकेको थियो । २ बजे राति मजस्तै निद्रा नलागेका एकदुईजनाबाहेक को पो झुम्मिरहला ट्विटरमा पनि । भोलिपल्ट बिहान अमेरिकी राष्ट्रपति उम्मेदवारको पहिलो बहस हुँदै थियो । राति यति बेलासम्म निद्रा नलागेपछि कसरी हेर्नु बिहान उठेर डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनको बहस भनेर वाइफाई अफ गर्न खोज्दै थिएँ, भाइबरमा फोन आएको संकेत गर्दै आवाज आयो ।
अगाडि प्लस वन लेखेको नम्बर देखेपछि अल्छी मान्दै फोन उठाएँ ।
उताबाट आवाज आयो-ओम आनन्द ओम ।

फोनको अर्को साइडमा रामप्रीत बाबा हुनुहुन्छ भन्ने थाहा पाउनेबित्तिकै कहाँबाट ऊर्जा आयो कुन्नि, ओछ्यानमा पल्टिरहेको म जुरुक्कै उठेँ र कानमा फोन टाँस्दै बैठककोठातिर आएँ । यति गर्न मलाई तीन सेकेन्ड पनि लागेन ।
‘ओम आनन्द ओम’ फोनमा बाबाको अभिवादन हो जसरी हामी सुरुमा ‘हलो’ भन्छौं । फोनवार्ताको सुरु र अन्त्यमै उहाँ ‘ओम आनन्द ओम’ भन्नुहुन्छ ।

अभिवादनपछि मैले बाबालाई भनेँ, ‘हजुर त अमेरिका पुगिसक्नुभएछ !’
मेरो आश्चर्यमा बाबा हाँस्नुभयो र जवाफ दिनुभयो, ‘अमेरिकामात्र हो र, म त अहिले अलास्कामा छु, क्यानडाबाट क्रुजमा आएको ।’

‘अलास्का ? हजुर त काश्मीरका गुफाहरूमा हराउँछु भन्दै हुनुहुन्थ्यो’, मेरो स्वरमा अझै आश्चर्यको अंश थियो । कुनै सीमा र टुंगो नभएको जोगीहरूको जीवन देखेर मलाई डाह लाग्छ ।
मेरो प्रश्नमा बाबाले केही जवाफ दिनुभएन । हाँस्नुमात्र भयो ।

सामान्य शिष्टाचारका शब्दहरू आदानप्रदान गरेपछि बाबाले सोध्नुभयो, ‘छोराको नाम के राख्यौ त ? ‘ उहाँले मलाई दुई महिनाअघि अस्पतालमै फोन गरेर बधाई दिइसक्नुभएको थियो ।

छोराको नाम भन्ने मौका म यसै त छुटाउँदिनँ भने बाबाको कानमा उसको नाम भन्न पाउनु मेरो लागि एउटा अवसर नै हो ।

मैले भनेँ, ‘ऋग्वेद । ऋग्वेद राखेँ बाबा, मैले उसको नाम ।’
‘ठीक नाम राख्यौ, नामको एउटा अर्थ हुनुपर्छ मनोज । नामले तिम्रो समग्र जीवन दर्शनलाई प्रतिविम्बित गर्न सक्नुपर्छ’, बाबाले भन्नुभयो ।

थप्नुभयो, ‘वेद हाम्रो ज्ञानको खजाना हो । तिम्रो छोरा पनि ज्ञानको खजाना बन्न सकोस्, वेदझैं । कसैले वेदको टीका लेख्ने हो भने त्योभन्दा राम्रो काम संसारमा अर्को हुनै सक्दैन । नयाँ पुस्तालाई हामीले वेद पढाउन सक्यौं भने त्यो समग्र अस्तित्वका लागि एउटा अवसर नै हुन्छ ।’

मैले भनेँ, ‘बाबा, हजुरको निर्देशनमा यो काम हुन सक्यो भने धेरै गजब हुन्थ्यो ।’
उहाँले यतिमात्र भन्नुभयो, ‘अस्तित्वले मलाई अरू थुप्रै काम दिएको छ बेटा । त्यो मेरो काम होइन ।’
म केही बोलिनँ । गुरुको वचनमा घोत्लिएर धेरै प्रश्नोत्तर गरिरहनु जिज्ञासाको शालीन तरिका होइन भन्ने मैले बुझेको थिएँ ।
बरु मैले सोधेँ, ‘बाबा, मलाई हजुरको नाम गज्जब लाग्छ, कसले दिएको हो यो नाम ? ‘

मेरो प्रश्नमा बाबा हाँस्नुभयो । एकछिनमा भन्नुभयो, ‘मेरो नाम मलाई पनि राम्रो लाग्छ, आखिर मेरो गुरुले दिएको नाम हो यो । मेरो गुरु मेरा लागि यो अस्तित्वकै सबैभन्दा प्रिय हुनुहुन्छ ।’
रामप्रीत ! हुन पनि कसलाई मन नपर्ला यो नाम ?

बाबाले बिस्तारै थप्नुभयो, ‘मलाई जन्म दिने बुवाआमाले मलाई अर्कै नाम दिनुभएको थियो । त्यो नाम त मेरो स्मृतिमा यति धूमिल भइसक्यो कि लाग्छ मैले नै अब बिर्सिसकेँ ।’
म केही नबोलेको सुनेर बाबाले भन्नुभयो, ‘सुन्दैछौ नि मेरो कुरा ।’
प्रत्युत्तरमा मैले ‘हजुर’मात्र भनेँ ।

बाबाले लामो श्वास तानेर भन्नुभयो, ‘राम भनेको धेरै ठूलो शब्द हो । यो शब्दको गहनता म तिमीलाई बताउन सक्दिनँ । तर, आफूले जानेको र सकेको म तिमीलाई बताउने प्रयास गर्छु ।’
बाबाको सरलता मेरा लागि अस्तित्वका अप्रतीम ………………. खजानामध्ये एक लाग्छ । कति सजिलै उहाँ आफ्नो कमजोरी देखाउनुहुन्छ ।

उहाँ भन्दै जानुभयो । मैले सुनिरहेँ ।
….
(त्यसपछि बाबाले जे भन्नुभयो, मैले जस्ताको तस्तै राख्ने प्रयास गरेको छु ।)
सबैभन्दा पहिला यो सोचौं- हामीले बुझेको राम के हो ? राजा दशरथका छोरा ? भगवान् ? वा, एउटा राजा ?
राम भनेर तिमी के बुझ्छौ ?

राम भनेको राजा दशरथका छोरा श्रीरामचन्द्रजी होइनन् । उनी त ‘राम’का एउटा प्रतीकमात्र हुन् । राम भनेको त यो समग्र अस्तित्व हो । तिम्रा आँखाले देखुन्जेल, तिम्रा मनले छामुन्जेल, तिम्रो चेतनाले अनुभूत गरिन्जेल जति पनि अस्तित्व छ, त्यो सबै राम हो । अस्तित्वको एउटा प्रतीक शब्द हो राम । पश्चिमाहरू अस्तित्व भन्ने शब्द बुझ्दैनन् । उनीहरूको शब्दकोषमा ब्रह्माण्ड भन्ने शब्दसम्म छ । तर, यी लाखौंलाख ब्रह्माण्ड, यी लाखौंलाख आकाशगंगासहितको समग्र अस्तित्व हाम्रो कल्पनाभन्दा धेरै बाहिर छ । हो, त्यही कल्पनाभन्दा बाहिरको विराट् अस्तित्वलाई दिएको नाम हो राम । त्यो विराट्भन्दा विराट् छ, सूक्ष्मभन्दा सूक्ष्म छ ।

राम शब्द हो, ध्वनि हो, एउटा प्रतीक हो र यो एउटै शब्दमा सारा अस्तित्व समाहित छ ।
तिमी को हौ ? एउटा मानिस हौ वा अस्तित्वको एउटा अंश ?
कहिले हामी डर भएर बाँच्छौं । कहिले हामी घृणा भएर बाँच्छौं । कहिले रिस कहिले उत्साह भएर बाँच्छौं । हामी को हौं ? सारमा हामी को हौं ?

कहिले आफूलाई छोरा भन्ठान्छौं, कहिले बाउ, कहिले आफूलाई पत्रकार भन्ठान्छौं, कहिले हाकिमसाब् ।
के हामी हाकिम हौं ? के हामी बाउ हौं ? के हामी छोरा हौं ?

हामी त यो समग्र अस्तित्वको एउटा अंश हौं । हरेक क्षण तिमीले अनुभूत गरिरहनुपर्छ, तिमी अस्तित्वको एउटा अंश हौ । समग्र अस्तित्वको अंश हौं भन्ने सतत् अनुभूतिले तिमीलाई तिम्रा सारा दुःखबाट बाहिर लान्छ । तिमी दुःखरहित हुन्छौ । सुखरहित हुन्छौ । विचाररहित हुन्छौ ।

जब तिमी आफूलाई सतत् अस्तित्वको अंश बुझ्छौ, तब तिमी आफैं अस्तित्वमा रूपान्तरित हुन्छौ । समग्रताको एउटा अंश बन्छौ । समग्रताको एउटा अंश हुनु आफैंमा समग्रता होइन ? समग्रता र समग्रताको अंश एउटै होइन ? सागर र पानीमा केही भेद छ ?

राम शब्दलाई एक निमेषमा स्वीकार गर त, तिमी तत्क्षणै समग्र बन्छौ ।
मेरो गुरुको नाम उहाँलाई उहाँका पनि गुरुले दिनुभएको थियो । मलाई भने गुरुले भन्नुभयो, ‘बालक, म त्यही रामलाई प्रेम गर्छु, र, म त्यही राम हुँ, म नै समग्र अस्तित्व हुँ । म नै भगवान् हुँ ।’

‘म नै भगवान् हुँ’ भन्दा मेरो आँखामा जुन चमक थियो, त्यो आदिउप्रान्त मैले कहिल्यै देखेको छैन । त्यही दिन गुरुले मलाई ‘रामप्रीत’ नाम दिनुभएको थियो ।

को नास्तिक, को आस्तिक, को धार्मिक, को अधार्मिक ? कसैले म नास्तिक हुँ भन्छ भने त्यो उसको आवरणले भनिरहेको छ । कसैले म आस्तिक हुँ भन्छ भने त्यो पनि उसको आवरणले भनिरहेको छ । धार्मिक, अधार्मिक सबै शब्द तिम्रा आवरण हुन् । जो जे छ, ऊ त्यही हो । हामी सबै यो समग्र अस्तित्वको एउटा अंश हौं ।

म रामनाम जप्छु । रामनाममा अद्भुत आनन्द छ । रामनाम नजप्दा तिमीलाई आनन्द आउँछ भने तिमी रामनाम नजप । तर, रामनामको यो सागरमा एकपटक गोता लगाएर हेर न । जीवनमा चालीस वर्ष त अरूथोकै गरेर बितायौ, अब एक दिन प्रयोगकै लागि सही रामलाई देऊ न ।

हेर, तिम्रो एउटा सानो परिवार छ । तिमी छौ, तिम्री श्रीमती, छोरी, छोरा । सानो परिवारमा तिमी बाँचिरहेका छौ । जुन दिन तिमी अस्तित्वरूपी यो परिवारमा समाहित हुनेछौ, यी सबै ताराजून, सूर्य, ग्रहउपग्रह सबै तिम्रै परिवारका सदस्य हुनेछन् । रामनाममा त्यो अद्भुत शक्ति छ जसले तिमी यो अस्तित्वको अंश हौ भन्ने अनुभूति दिलाउँछ । अब त्यो तिम्रै हातमा छ, एउटा सानो परिवारमा दुखैदुखमाझ बस्ने कि अनन्त अस्तित्वको एउटा सदस्य बन्ने जहाँ ताराजून पनि तिम्रा दाजुभाइ हुनेछन् ? आनन्दमा बाँच्ने कि दुःखमा मर्ने ?

हाम्रो शरीरमा सात चक्र हुन्छन् । तीमध्ये मणिपुर चक्र तिम्रो शरीरको आधार हो । तिम्रो सम्पूर्ण शरीर अस्तित्वमा जोडिने बिन्दु त्यही हो । तिमीले अस्तित्वको सकारात्मक ऊर्जा आफ्नो शरीरमा ग्रहण गराउने केन्द्र हो मणिपुर । राम शब्दको अनवरत उच्चारणले तिमीलाई यो अस्तित्वसँग एक बनाउँछ । नाभीबाटै तिमी अस्तित्वसँग जोडिन्छौ । चक्रविज्ञानका ज्ञाताहरूले भन्छन्, राम मणिपुर चक्रलाई प्रस्फुटित पार्ने बिजमन्त्र हो । तिम्रो नाभीचक्रलाई बलियो बनाउँछ यसले । नाभीचक्र बलियो भएपछि तिमी अस्तित्वसँग सहजै जोडिन्छौ ।

तिम्रो जीवनको एउटामात्र उद्देश्य हुनुपर्छ- यो अस्तित्वसँग एक हुने । तारा र जूनको जस्तो विराटता र विशालता एउटा मानवदेहले हासिल गर्न सक्दैन । तर, चेतनाको कारण मानवदेह विशिष्ट छ । तारा, जून र तिमी एउटै हो भन्ने सत्यको अनुभूति यही मानवदेहले मात्र गर्नसक्छ । त्यो अनुभूति ताराजूनले पनि गर्न सक्दैनन् ।

जब एकपटक तिमी अस्तित्वसँग एक हुन्छौ, आफ्ना सारा कर्म आफैं पूरा हुँदै जान्छन् ।
जीवनमा तिम्रो दुइटामात्र मन्त्र हुनुपर्छ- राम र काम । राम अर्थात् अस्तित्वसँग एकाकार हुने । राम अर्थात् समग्र अस्तित्वको अंश बन्ने । अस्तित्वको पात बन्ने, अस्तित्वको एउटा रूख बन्ने वा भनौं अस्तित्वको एउटा फूल बन्ने ।
र, आफ्नो काम गर्ने ।

यो संसारमा हाम्रो जन्म एउटा कामले भएको छ । कारणसहित तिम्रो जन्म भएको छ । हामी एउटाएउटा काम लिएर आएका छौं, एउटाएउटा भूमिका । तिमी फगत तिम्रो भूमिका पूरा गर्ने एउटा साधनमात्र हौ । आफूलाई एउटा साधनभन्दा बढी नसम्झ । एउटा साधन जो राममा समाहित हुन्छ र राम बन्छ, एउटा साधन जो आफ्नो भूमिकालाई न्याय गर्छ, अनवरत कर्म गर्छ ।

राम शब्दको निरन्तर उच्चारण र कामप्रतिको अनवरत निष्ठाले मानवदेहको उच्च सम्भावनाको खोजी हुनसक्छ ।

बाबासँग लगातार कुरा गरिरहँदा मलाई लाग्यो- म अर्कै दुनियाँमा छु । कुनै अर्कै संसारमा । लगातार फोन टाँसेका कारण कान दुख्न थालेको छ । एकाग्रताबाट निस्केर हेर्दा झ्यालबाहिर निष्पट्ट अँध्यारो छ । ऋतम्भरा र ऋग्वेद ‘मामु’सँग दुईतिर टाँस्सिएर सुतिरहेका छन् । म संसारको अर्को कुनामा मेरो प्रिय गुरुसँग भाइबरमा संवाद गरिरहेछु ।

संसारमा कृतज्ञताका लागि कति धेरै अवसर ! हत्पत्ति फोनमा नभेटिने रामप्रीत बाबासँग म यो मध्यरातमा गफिइरहेछु । भाइबरको प्रविधिले मलाई त्यो अवसर दिइरहेको छ । बाबा कुनै पुरानो प्रेमिकाजसरी मसँग अनवरत बात मारिरहनुभएको छ । मैले मनमनै अस्तित्वलाई धन्यवाद थिएँ । बाबाजसरी आफ्नो हृदयमा रामलाई भर्न नसके पनि म महसुस गर्छु, म कुनै स्वतन्त्र जीव होइन । यो अस्तित्वको एउटा अंशमात्र हुँ ।

घडी हेरेँ- ४ बजिसकेछ । बाहिर फाट्टफुट्ट मानिस हिँड्न थालेका थिए । आँखाबाट निद्रा कोसौं दूर थियो । आज निद्रा लाग्नेवाला थिएन । सायद आज मलाई त्यसको आवश्यकता पर्नेछैन ।

मैले बाबालाई भनेँ, ‘धन्यवाद गुरुदेव, मेरो यो लामो समयदेखिको जिज्ञासा आज समाधान भयो । हजुरको नामको अर्थ यति विराट् रहेछ, अस्तित्वझैं । हजुरसँग कुरा हुँदा जहिल्यै ज्ञानको सागर आफैंभित्र छचल्किएको अनुभूति हुन्छ, जब हजुर जानुहुन्छ, म फगत एउटा निरीह सांसारिक प्राणी हुन्छु ।’

मैले कसोकसो आफ्नो मनको कुरा बाबालाई सुनाएँ । बाबाको उपस्थितिको अनुभूतिमा मलाई साँच्चै लाग्छ, म अस्तित्वसँग जोडिएको छु ।

बाबाले भन्नुभयो, ‘म नै राम हुँ, म नै रामप्रीत हुँ, राम शब्दको निरन्तर अभ्यासले तिमी पनि राम हुन्छौ ।’
म केही बोलिनँ ।

बाबाले नै थप्नुभयो, ‘तिम्रो जिज्ञासाले लामो समय बितिसकेछ । म दिउँसोको खानापछि कोठामा सुस्ताउन आएको थिएँ, अब केहीबेर बाहिर निस्कन्छु । ल है, आफ्नो ख्याल राख्नू ।’

मसँग कृतज्ञता व्यक्त गर्न कुनै शब्द थिएन । मधुरो स्वरमा भनेँ, ‘हुन्छ बाबा ।’
उताबाट आवाज आयो, ‘ओम आनन्द ओम ।’

शनिवार, असोज १५, २०७३

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.