~बिस्नुप्रवा सापकोटा~
२०५७ सालमा म कक्षा १० मा पढ्थें। त्यही वर्ष हाम्रो घरमा पहिलोपल्ट माओवादी आएका थिए। जेठको मध्यतिर घाम आकाशको आधा भागबाट पश्चिमतिर सर्दै थियो। तल कतै टिमुरखोला गुनगुनाइरहेको थियो। बिट फाटेको थोत्रो गुन्द्रीमा बसेर कमेरो पोतेजस्तो हजुरआमाको सेतो केशको जंगलमा आमा जुम्रा नामका जनावरहरूको खोजीमा हुनुहुन्थ्यो।
जुम्रा भेट्दाबित्तिकै आमाले दुई हातको नङको बीचमा राखेर किट्टिक्क पार्नुहुन्थ्यो। अग्लो र अजंगको आँपको रुखमुन्तिर बसेर बा बाँसको हरियो चोया बनाँउदै हुनुहुन्थ्यो, बर्खामा घाँस बोक्ने डोका बुन्न। शुक्रबार भएकाले म दौडिँदै घर आइपुगेको थिएँ। हप्ताभरि खेल्दा मेरो आकाशे रङको नीलो कमिज र पाइन्ट पसिनाको गन्धले ह्वास्स गन्हाएका थिए। भाइ–बहिनी मभन्दा पहिल्यै गाउँतिर साथीसंगीसँग खेल्न गएका थिए।
एक्कासि हाम्रो आँगनमा तीनजना अपरिचित मान्छे टुप्लुक्क देखा परे । तीनैजनाले बालाई नमस्कार गरे।
‘नमस्कार’ बाले बिस्तारै भन्नु भो। बाले नमस्कार गर्दा उहाँको अनुहारभरि अन्योलका छाल दौडिरहेका थिए। नमस्कार गर्नका लागि उच्चाल्दै गर्दा एक टन भारी उचालेजस्ता गह्रुङ्गा भएका थिए बाका हात।
‘हामी माओवादी पार्टीका छापामार हौं। आज पहिलोपल्ट तपाईंको घरमा पाइपुगेका छौं। हामी तपाईंहरूजस्तै गरीब जनताको मुक्तिका लागि लडाइँमा होमिएका तपाईंकै छोराछोरी हौ। कुनै डर मान्नुपर्दैन।’ तीन जनामध्येको अग्लो मान्छेले बाको सामुन्ने उभिएर बोल्यो।
अग्लो मान्छे दुब्लो र पातलो थियो। उसको कपाल पुरानो कुचोजस्तो जिङ्ग्रिङ देखिन्थ्यो। मैलो नाइक ट्राउजरमाथि उसले एडिडासको कालो टिर्सट लगाएको थियो। दुबै काँधमाथि उसले बोकेको सानो झोलाका फित्ता थिए र खुट्टामा हिलो टाँसिएका गोल्डस्टार जुत्ता। अर्को मंगोलियन अनुहारको डल्ले–डल्ले मोटो केटो बाको छेउमै आँपको पात मुखमा च्यापेर उभिएको थियो।
तेस्रोचाहिँ पिँढीको छेउमा आएर टुसुक्क बसेको थियो। ऊ अलिक बूढो देखिन्थ्यो। तैपनि मोटो कद भएकाले उसका गाला पुक्क उठेका थिए। पातला दाह्रीजुँगाका रेखा थिए अनुहारभरि। उसले खैरो रङको सर्ट र कालो कटनको पाइन्ट लगाएको थियो। तीनै जना दुई दिनदेखि भोकै बसेजस्ता थकित देखिन्थे। अनुहारको रङ फुङ्ग उडेको थियो। उनीहरूलाई हेर्दा यस्तो लाग्थ्यो यिनीहरू युद्ध हारेर फर्केका सिपाही हुन्।
‘तपार्इंहरू त कस्तो डराएजस्तो पो देखिनुभो।’ अग्लो दुब्लो मान्छे मतिर फर्केर बोल्यो, ‘भाइ तिम्रो पढाइ चल्दै छ। एसएलसी दिने वर्ष राम्रोसँग पढ है।’
‘हजुरआमाले दमको औषधि त खाइरहनुभएको होला नि हैन? औषधि खान नभुल्नुस् है।’ त्यही दुब्लो मान्छेले हजुरआमालाई अर्ति दियो। ‘अंकल तपाईं चितवनबाट कहिले फर्किनुभो? भाइबहिनी कता गए त अन्टी?’ आमालाई हेर्दै सोध्यो उसले। हाम्रो घरका सबै सदस्य जङ्गलको ठूलो ढुङ्गोजस्तो चुपचाप थियौं।
उसले बाको अनुहारमा आफ्ना आँखा नचाउँदै भन्यो ‘म यो एरियाको इन्चार्ज। मलाई सबैले ओम ओली भनेर चिन्छन्। हामी अलिक हतारमा छौं। भरे सायद एकजना बास बस्न आउँछौं। तपाईंहरूसँग आटोपीठो जे छ खुवाएर सहयोग गर्नुस् है।’
बाले हुन्छ भन्न बिस्तारै टाउको हल्लाउनुभो।
उनीहरूले फेरि नमस्ते भन्न हात जोडे। र, आँगनको डिलबाट बिस्तारै तल झरे। बेलको रुखमा बसेको चरी भुर्र उड्यो। पश्चिमबाट उड्दै आएको चिसो हावा आँपको रुखका काला हाँगाहरूमा ठोक्किएर मेरो शरीरसँग लडिबुडी खेल्न आइपुगेको थियो। तर, म डरले तातेको थिएँ।
बाले तीनै जना तल झरेको हेरिरहनुभएको थियो। उनीहरू सरस्वती प्राविबाट तल लागे। बाले उनीहरूबाट आँखा नहटाई भन्नुभो ‘माओवादी भन्नी पनि त हामीजस्तै त हुदाँ रैचन् केरे।’
‘हाम्रा घरका बारेमा त सप्पै थोक जान्दा रैचन्। कल्ले भने होला नि हाम्रा बारेमा’ हजुरआमाले कपाल कन्याउँदै बालाई सोध्नुभो।
‘गाउँका हाम्रा सत्तुरहरूलाई साधे हुहुन के रे नि।’ हजुरआमाले बालाई सोधेको प्रश्नको जवाफ आमाले दिनुभो।
‘जाउ एक कप चा बनार ल्याऊ’ बाले आमालाई अह्राउउनुभो।
‘भरे भात खान आउनी भनिरान। सेना पनि आउँचकी फेरि।’ बाले अघिल्लो वर्ष तिहारमा फुपूले किनिदएको टोपी शिरबाट झिक्दै आँगनमा राख्नुभो। र, कपाल कन्याउँदै मलाई भन्नुभो ‘हाम्रा घराँ माओवादी आइच्चन भन्दै नहिन तँ। तँ राँडको त भरै लाउन्न मलाई। फेरि सेनाले थाहा पाएर उडाइदेला गोलीले।’ मैले केही भन्दिन भन्नका लागि मुन्टो हल्लाएँ। तर, बालाई विश्वास लागेन क्यारे भन्नुभो ‘तेरो त एक पैसाको बुद्धि छैन।’
साँझ पर्नै आँटेको थियो। पारी बाटोमा खाली खच्चडका एक हुल धूलो उडाउँदै सेरा बजार फर्कदै थिए। नाइके खच्चडको घाँटीमा झुन्डिएको घन्टाको आवाज र खच्चडका खुट्टाले निकालेको आवाज हाम्रै आँगनसम्म आइपुगेको थियो। किराकिरीहरूको आवाज बढ्दै थियो। घरमा माओवादी आउँदै छन् भन्ने त्रासले भाइबहिनी चुपचाप कोठामा बसेका थिए। म घरको छानाबाट तार तानेर सानो रेडियोको एन्टेनाको टुप्पामा बाँध्ने तरखरमा थिएँ। हैटौंडाबाट प्रसारण हुने मनकामना एफएम सुन्नलाई।
बा भैंसी दुहुन काठको ठेकी बोकेर गोठ जाँदै हुनुहुन्थ्यो। साँझको कालो पर्दा बाक्लिँदै गर्दा पारी गाउँको खरका छानाबाट पुतपुताइरहेको नीलो धूवाँ हावाको उचाइ नाप्दै थियो।
आमाले मेरो चेलपार्क मसीको खाली डिब्बाबाट बनाएको टुकी बाल्नुभो। हजुरआमा भगवान् पूजामा व्यस्त। गोठमा खैलाबैलाको आवाज आएको थियो। भैसीले दूध नदिएपछि बाले चिरेको दाउराले भैंसीलाई भुर्कुनुभएछ र रित्तो ठेकी बोकेर घर आउनुभो।
‘भैंसीले किन दूध दिएन?’ आमाले बाँसको ढुङग्रोले आगो फुक्दै बालाई सोध्नुभो।
‘कुन्तो किन दिएन तेरा डाम्नाले दूध। आफै गएर सोध्धिनस्।’ बाको अनुहारमा रिस भरिएको थियो।
‘भैसीले दूध नदिएको रिस मलाई किन पोख्न पर्च र।’ आमाले खरानीको धूलोले टाँसिएको कपाल मुर्सादै जवाफ फर्काउनुभो।।
म आगनमै थिएँ।
उही दिउँसो आएको पातलो दुब्लो मान्छे। पिँढीको खाटमा टुप्लुक्क आएर बस्यो।
‘ओ भाइ यहाँ आऊ।’ उसले मलाई बोलाउँदै भन्यो। अब भित्र बस। साँझ परे पछि बाहिर निस्कनहुन्न। म डराइडराइ घरभित्र पसें।
पूर्णिमाको भोलिपल्ट चहकिलो जूनको उज्यालो आकाशबाट झरेर भुइँ पुग्नुअघि धूपीका हाँगाहरूमा अल्भि्कएको थियो केही बेर।
आमाले भान्सामा खाना बनाउन थाल्नुभो। म अगेनाछेउ बसेर किताब पढेजस्तो गरेको थिएँ।
‘आज घ्यु हालेर अनदीको चामल पका। टन्न खाओस् बरा कति दिनको भोकै छ मोरो।’ बाले आमाले मात्रै सुन्ने गरी भन्नुभो।
हजुरआमा भगवान्को सेवा गरेर बाहिर आउनुभो। पिँडीको जाँतोछेउ हजुरआमाले के सामान खोज्दै हुनुहुन्थ्यो कुन्नि? ओलीले हजुरआमालाई बोलायो ‘हजुरआमा यता आउनुस् न एकछिन् कुराकानी गरम्। तपाईं त कस्तो मेरी आफ्नै हजुरआमाजस्तै हुनुहुँदो रैच।’
‘बाबुको घर कतातिर हो?’ हजुरआमाले उसलाई प्रश्न सोध्दा जूनको किरणमा उहाँको चाउरी परेको मुहार टलक्क टल्केको थियो।
‘घर मेरो दाङ हो हजुरआमा। दाङ भन्ने ठाउँ थाहा छ तपाईंलाई?’ उसले जवाफसँग प्रश्न थप्यो। हजुरआमाले थाहा छैन भन्ने उत्तरका लागि ओठ निचोर्दै मुन्टो हल्लाउनुभो।
पछि हामीले थाहा पायौं उनीहरूले आफ्नो सही नाम र ठेगाना कहिल्यै बताउँदा रहेनछन्।
मैले पढ्दै गरेको विज्ञानको किताब बन्द गरेर हजुरआमाको छेउमा गएर बसें। हजुरआमा र ओलीबीचको कुरा सुन्न थालें।
‘मेरो हजुरआमा पनि काटीकुटी हजुरजस्तै हुनुहुन्छ। कपाल अलिकति बढी कालो होला अरू त ठ्याम्मै तपाईंजस्ती। दमको रोगी हुनुहुन्छ दैनिक औषधि खानुपर्छ। हजुरबा बितेको झण्डै दश वर्ष भयो। कुन्नि किन मलाई आफ्नी आमाको भन्दा हजुरआमाको बढी माया लाउँछ। बूढी कस्ती भइहोलिन घर जान नपाएको नि तीन वर्ष भो? तपाईंलाई देखेर हजुरआमाको खुब नियास्रो लाग्यो आज।’ यति भनिसकेपछि उसले रुमालले आँखा पुछ्यो।
‘के गर्चौ बाबु यस्तै हो।’ मेरो पिँठ्यु मुर्सादै हजुरआमाले भन्नुभो ‘म पनि दमको ओखती खान्चु बाबु। दिनको दुइपल्ट।’ हजुरआमा ऊसँग खुलेर कुरा गर्न थाल्नुभो।
‘खै हजुरआमा तपाईंले खानी ओखती देखाउनु त मलाई?’ ओलीले हजुरआमाको ओखती हेर्ने चाहना राख्यो। हजुरआमाले विस्ताराको सिरानीमा राखेको आफ्नो ओखतीको खोल लिएर बाहिर आउनुभो।
‘हो यही ओखती हो मेरो हजुरआमाले खानी नि।’ ओलीले ट्याब्लेटको खोल ओल्ट्याइपल्ट्याई गरेर भन्यो।
त्यो दुब्लो, पातलो, खपटे ओली पहिल्यै दिनदेखि हजुरआमाको प्यारो मान्छे बन्यो। बाले पनि निकै कुरा गर्नु भो उसित।
राति खाना खाएर ऊ बा सुत्ने विस्तारामा गयो। म उसको अघिअघि उसलाई बिछ्यौना देखाउन गएँ। बिछ्यौनामा पल्टेपछि उसले एउटा मोटो किताब निकालेर पढ्न थाल्यो।
बिहान हामी उठ्दा त ओली बिस्तारामा थिएन। ऊ त सबेरै उठेर गइसकेछ।
‘जान्चु नि नभनी हिँडेच मोरो।’ बिहान हजुरआमाले दुखेसो पोख्नुभो।
बिस्तारै ओली पनि हाम्रो घरको सदस्यजस्तै भएको थियो। हाम्रो घरको हरेक कुरामा उसलाई चासो थियो। विशेषतः हजुरआमा र बाको खुब ख्याल गर्थ्यो उसले। प्रायः हप्ता दश दिनमा एकै छिन्का लागि भए पनि ऊ हाम्रो घर आउँथ्यो। हजुरआमाको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिन्थ्यो। कहिलेकहीँ हजुरआमालाई एक दुई पत्ता औषधि पनि ल्याइदिएको हुन्थ्यो।
यदि ऊ आउन पाएन भने पनि उसका साथीहरूको साथमा खबर पठाएको हुन्थ्यो उसले।
हजुरआमा पनि उसलाई खुब माया गर्नुहुन्थ्यो। घरमा काँक्रा चिरेको दिन उहाँ ओलीलाई पनि भाग लगाउनुहुन्थ्यो।
‘कतै ओली आएच भने खाला नत्र तैले खालास् साझँमा। ला यसलाई आलमारीमा लगेर राख।’ हजुरआमाले मलाई भन्नुहुन्थ्यो। घरमा फलेका हरेक फलफूल आँप, सुन्तला, अम्बामा उसको भाग छुट्टै हुन्थ्यो। ओलीको कारण अरु सबै माओवादीले हजुरआमाको सहानुभूति बटुल्न सफल भएका थिए।
‘यिनीलाई सेनाले कहिल्यै नमारे हुन्तो।’ हजुरआमाले कामना गर्नुहुन्थ्यो।
हाम्रा बा राजवादी पार्टीका सदस्य भएकाले घरमा आउने प्रायः पाहुनाहरूले माओवादीको विरुद्धमा कुरा गर्थे। हजुरआमालाई त्यस्तो फिटिक्कै मन पर्दैनथ्यो।
‘उनीहरू पनि त मुन्छे हुन् केरे। गरीबका लागि लड्न भनेर घर छोडेर हिँडिरान् विचरा। तिनलाई भोकभोकै जंगलजंगल दिनरात नभनी हिँड्न रहर होला तो त्यसै। तिमोरु पो खान लाउन पाछौ र।’ हजुरआमाले आफू खाटी माओवादी भएजस्तो कुरा गर्नुहुन्थ्यो। तर, हजुरआमालाई राजनीतिको वर्णमाला पनि थाहा थिएन।
ओली हाम्रो घरमा मात्र हैन गाउँमा पनि खुब चर्चित भयो। ज्यान सुकेको, ज्ञान, बल लुकेको मान्छे थियो ओलि। मृदुभाषी बोलीवचनले गर्दा गाउँको प्रिय पात्र बनेको थियो ऊ।
हरेकपल्ट घर आउँदा हजुआमाले उसको शिरदेखि पाउसम्म हेर्दै भन्नुहुन्थ्यो ‘तँ त झन्झन् दुब्लाइस् ओली। खान नपार हो। टन्न खान पाए त तेरो पनि ज्यान लाउँतो के रे।’ ओली मुसुमुसु हाँसिरहन्थ्यो। हाँस्दा उसको आँखा वरिपरिको छालामा परेको चाउरी झन् धेरै देखिन्थ्यो।
‘हामी भनेको यस्तै हो हजुरआमा क्रान्तिमा लागेको मान्छे कहिल्यै मोटाउँदैन। हामीलाई हाम्रो ज्यानको खासै प्रवाह हुँदैन। आफ्नोभन्दा देश र जनताको दुःखपीडाले बढ्ता सताँउछ हजुरआमा।’ ऊ दर्शन छाड्थ्योे हजुरआमाको अगाडि। हजुरआमा केही नबुझीकनै बुझेजस्तो गरेर टाउको हल्लाउनुहुन्थ्यो।
‘घर नगाको कति भो ओली?’ एक दिन हजुरआमाले उसलाई सोध्नुभो ‘चार वर्ष भो हजुरआमा’ उसले जवाफ फर्कायो।
‘आम्मै चार वर्ष पो भो। घरका जहान कति आत्या होलान्। कति देख्न मन लाउँदो हो। किन घर न गा त यिन्ताकासम्म?’
‘के गर्नु हजुरआमा क्रान्तिमा लागेपछि यस्तै हो।’ उसले नाक कोट्याउँदै भन्यो।
‘बिहे गरिस् कि नाई?’
‘गर्या छैन हजुरआमा।’
‘ए! तँलाई त साह्रै दुःख भो बाबु। तिमीहरूसँगै हिड्ने केटी माओवादीसँग बिहे गर्न त बरु। यसो कपडासपडा धोइदेली, अलिकति भए पनि हाइसन्चो हुन्तो केरे।’ हजुरआमाले अर्ती दिनुहुन्थ्यो। ऊ हजुरआमाको कुरा सुनेर मुसुमुसु हाँसिरहन्थ्यो।
पिँढीमाथि दलिनमा झुन्डिएको पुरानो फिलिप्स रेडियोमा आउने समाचारमा यति आतंककारी मरे, यति सेना मरे भन्ने खबर आँउदा हजुरआमालाई खटपटी हुन्थ्यो। दुईचार दिन ओली घरमा आएन भने हजुरआमा नानाथरी सोच्न थाल्नुहुन्थ्यो। र, आँगनको डिलमा बसेर सुस्केरा हाल्दै प्राथना गर्नुहुन्थ्यो ‘यो ओलीलाई कसैले केही नगरे हुन्तो भगवान्।’
एक दिन दशैं आउने बेलाताक हुनुपर्छ। हजुरआमा आँगनमा बसेर टोलाइरहनुभएको थियो। पारी फाँटमा धानको रङ क्रमशः हरियोबाट पहेलो हुँदै थियो। आकाश धुम्म थियो। पाहाडको टुप्पाटुप्पामा सेतो कुहिरो कुदिरहेको थियो। ओली आँगनमा टुप्लुक्क आइपुग्यो। हजुरआमाको चाउरी परेको अनुहारमा खुशीका रमाइला लहरहरू नाँच्न थाले।
‘यसपालि गाउँतिर जाँदै छु हजुरआमा’ पिँढीको खाटमा बस्दै ओलीले बोली फुटायो।
हजुरआमा कम्ता खुशी हुनुभएन। ‘ए हो र लौ तेरी हजुरआमाले आशिष दिनी भइन् तँलाई।’ हजुरआमा गुनगुनाउँदै आफू सुत्ने ओछ्यानको सिरानी खोतल्न थाल्नुभो।
सिरानीछेउमा ओखतीका ट्याब्लेट र क्याप्सुल ठुस्स गन्हाएका थिए। हजुरआमाले थैलीबाट दुईओटा सयका हरिया नोट निकालेर उसलाई दिनुभो। ‘ला तेरी हजुरआमालाई केही फलफूल किनेर लैदिएस्’ ओलीले छक्क परेर हजुरआमाको अनुहारमा हेर्यो।
‘भैगो हजुरआमा पर्दैन मसँगै छ नि पैसा।’
‘तँसँग होला त नि। यो मेरो तर्फबाट लैदेन त।’
हजुरआमाले हिजो मात्रै बुझेको बृद्धभत्ताको आधा भाग ओलीलाई बुझाउनुभो।
…
घर गएर फर्कीदा ओलीले हजुरआमालाई औषधि ल्याइदिएको थियो र बालाई धुर्मुस कट्टु। ऊ यसरी हाम्रो घरको अभिन्न अंग भएको थियो।
२०५७ सालमा एसएलसी पास भए पछि म अध्ययन गर्न गाउँ छाडेर काठमाडौं छिरें। ओली पनि गाउँबाट सरुवा भएको खबर पाएको थिएँ। गाउँबाट हिँडेपछि ओलीको खबर घर आउने क्रम पातलिन थालेको थियो।
म हरेक साल दशंैमा घर जाँदा हजुरआमाले ओलीको बारेमा खुब कुरा गर्नुहुन्थ्यो।
‘तपार्इंलाई कहिल्यै बिर्सन्न हजुरआमा। खबर गरिरहन्छु।’ जाने बेला ओलीले भनेको थियो।
‘ओलीले बोली फेरेच।’ जहिल्यै घर जाँदा हजुरआमा गुनासो गर्नुहुन्थ्यो।
म पनि काठमाडौंमा आएको केही वर्षपछि सामान्य स्कुलको शिक्षकका रूपमा रूपान्तरण भएँ।
२०६९ को बडादशैंमा विदेशबाट घर फर्किदा मामाले पठाइदिएको क्यामेराले खिचेका नयाँपुराना फोटोहरूको एल्बम लिएर घर पुगेको थिएँ। केही फोटा मेरा आफ्नै थिए। केहि साथीहरूका। आफन्तका। मन्दिरका। जोगीका। बाँदरका। र, केही फोटा नेताका पनि थिए।
दशैंका दिन दिउँसो हामी सपरिवार आँगनमा जम्मा भएका थियौं। हजुरआमा स्टुलमा बसेर आफ्नो हातका औंला खेलाइरहनुभएको थियो। मैले काठमाडौंबाट आउँदा ल्याएको कालो झोलाबाट फोटो एल्बम निकालेर हजुरआमालाई दिएँ। एक दुई पेज पल्टाएपछि हजुरआमाले हाँस्दै भन्नुभो, ‘ए यो त ओली मोरो हैन, बाबु। कस्तो भए होला आजभोलि।’
ओलीको पुरानो फोटो मात्र देख्दा पनि हजुरआमालाई कत्रो हर्ष लाको! उहाँले फोटो धेरैपल्ट सम्म एकाहोरिएर हेर्नुभो।
हजुरआमालाई फोटाले झण्डै एक दशकअघिको याद दिलायो। सात वर्षको अन्तरालमा हजुरआमा झन् धेरै बूढी भइसक्नुभएको थियो। कान कम सुन्ने समस्या झन् बढेको थियो। तर, आँखा भने तेजिला थिए। खैरो टिर्सट र नीलो पाइन्ट लाको दुब्लो ओलीको फोटो उसले एक दिन हाम्रो घरमा खसालेर गएको थियो। उसले खसालेर गएको फोटो मैले सम्हालेर राखेको थिएँ।
अर्को पेजमा पनि ओलीकै नयाँ फोटो थियो। कालो कोट, नीलो सर्ट र गुलाबी रङको टाई लगाएको थियो उसको नयाँ फोटोमा। ऊ निकै मोटोघाटो देखिन्थ्यो। सिल्की कपाल सिउँदो नकाडीकन माथितिर लरक्क पारेर कोरिएको थियो। उसको वास्तविक नाम, थर त्यो थिएन, जो उसले हाम्रो घरमा बताएको थियो। ऊ त संविधानसभाको मनोनित सदस्य भएको थियो उसको पार्टीबाट। उसको खास घर मकवानपुर रहेछ। खास नाम मनमनोहरलाल।
एक वर्षअघि एक शैक्षिक अन्तरक्रिया कार्यक्रममा उसको फोटो खिचेको थिएँ मैले। ऊ त्यो कार्यक्रमको वक्ता थियो। मैले फोटो खिच्दैखेरि सोचेको थिएँ ‘यो फोटो धुलाई गरेर हजुरआमालाई देखाउनुपर्छ।’ कार्यक्रम सकिएपछिको अनौपचारिक भेटघाट मैले उसलाई मेरोबारेमा बताएँ। उसले सजिलै चिन्यो र मेरोबारेमा सोधपुछ गर्यो। मैले उसका सबै प्रश्नको जवाफ दिएँ।
मलाई लागेको थियो उसले मेरी बूढी हजुरआमाको बारेमा सोधखोज गर्छ। बाको बारेमा सोध्छ। तर, उसले केही पनि सोधेन। बरु हतारहतार बाहिरियो। जानेबेलामा मलाई आश्वासन दियो ‘केहि परे मलाई सम्भि्कनू’। मलाई त्यो दिन साह्रै नमज्जा लागेको थियो।
हजुरआमाले फोटो हेरेपछि मेरो सुकेनासले थलिएजस्तो दुब्लो शरीर हेर्नु भो र भन्नुभो ‘यो मुन्छे कति मोटोघाटो हो। तिमीहरू पनि मोटाएर यस्तै चिल्लो हुने कैले होला? कस्ता रसिला गाला हुन्?को मुन्छे हो यो?’
‘अलि नगिच लगेर हेर्नु न चिन्नुहुन्छ कि?’ मैले हजुरआमालाई भनें। हजुरआमाले चिन्न सक्नुभएन। चिनिनँ भन्नको लागि उहाँले ओठ निचोर्नुभो। मलाई लाग्यो हजुरआमा साँच्चै बूढी हुनुभो।
‘खै मैले नि हेरम त चिन्चुकी’ बाले हजुरआमाको हातबाट आफ्नो हातमा एल्बम लिनुभो। बालेे आँखा नजिक लगेर हेरेपछि भन्नु भो ‘यो पनि ओलीकै फोटो त हो नि।’ हजुरआमाले बाको हातबाट एल्बम तानेर आँखैमा टाँसेझैं गरी हेर्नुभो। आफ्नै आँखाको कुरा नपत्याएझै गरेर आँखाअगाडि लानुभो र आफ्नो चाउरी परेको हातले फोटोको सबै भाग छाम्नुभो।
‘ए यसरी खान पाएर मोटोघाटो भएर पो रै च। म बूढीलाई बिर्सेको। तँ मोटाएको सुहाएन ओली’ हजुरआमाको उदास अनुहारको भीरमा आँसुका थोपाहरू गुल्टिन थाले।
(स्रोत : उज्यालो अनलाईन डट कम)