~श्यामसुन्दर श्रेष्ठ~
कल्कल बग्ने खोलाले भन्छ, माटो यो जोगाऊ
मासेर वन पहाडको मलाई खहरे नबनाऊ
पुग्नु छ टाढा समुद्रसम्म स्वच्छ म बन्न पाऊँ
मायाले हेरुन् सवैले मलाई, हृदय धुन पाऊँ ।।१।।
हरियो जंगल पहाडमा भए म स्वच्छ हुनेछु
जंगल मासे पहाडको तिम्ले म सधैं रुनेछु
नरुवाऊ मलाई हे मनुज हो, माटो यो जोगाऊ
नदुखाऊ दील कलिलो छ यो, पहाड जोगाऊ ।।२।।
कल्कल बग्ने…..
परेवा जोडी ढुक्कर जोडी म कहाँ आउँछन्
देखेर स्वच्छ मलाई सधैं ती धेरै रमाउँछन्
कोइली पनि गाउँछ गीत बिरह बिर्सेर
भदौरे भेल असारे मेल तिर्सना सिर्जेर ।।३।।
कल्कल बग्ने…..
मलजल गरे खेत र बारी हुर्कन्छ विरुवा
मासेर जंगल उजाड पार्ने देशका पिरुवा
भागेर हिंडने लडाईं छोडी म हैन छेरुवा
मरेर पनि बचाउँछु देश हुर्काउँछु विरुवा ।।४।।
कल्कल बग्ने…..
झरेर तल सेरिई आफै, पार्दछु झलमल्ल
धुरुधुरु रुम्ला एकान्त खोंचमा, पार्दिन अलमल्ल
दुःखले मैले आर्जेको हो यो, बैभाव अपार
देशको सच्चा रक्षक हुँ म, तडपाई नमार ।।५।।
कल्कल बग्ने…..
खोला हुँ म त झोला हुँ म त, साथमा रहन्छु
कल्कल गर्दै तल्तिर सधैं, अविरल बहन्छु
कसैले मलाई उकाल्छन् पनि, मेरो नै शक्तिले
कल्याण गर्छु सवैको म ता, जो लाग्छन् भक्तिले ।।६।।
कल्कल बग्ने….