~उदय निरौला~
टक्टकाउँदो सेतो कुर्ता सुरुवालमा
सजिएको त्यो मान्छे
अलिकति बाटोको हिलो टाँसिन्छ र सुरुवाल कुरुप हुन्छ
पान पिच्काउँदा खयर मुस्काउँछ छात्तिमा र दाग दुख्छ
सेकुवापसलको धूँवाले अरु बढी रंगिन्छ पोशाक
र किच्च हाँस्छ
त्यो मान्छे कुर्तासुरुवाल सफा भए पनि ठूलो मान्छे
दाग लागे पनि ठूलै मान्छे ।
दाग लागेको कुर्तासुरुवाल भएपनि ऊ नमस्कार पाउँछ
भात लागेको वा मात लागेको वा वात लागेको
कुर्ता सुरुवाल भएपनि ऊ
अभिवादन पाउँछ
समाज जस्तो छ
ऊ त्यस्तै छ
ऊ जस्तो छ
समाज त्यती नै सस्तो छ
ऊ महँगो छ
र नै समाज सस्तो छ
समाज जस्तो छ त्यसको ठीक पर्याय उसको कुर्तासुरुवाल छ ।
कुर्तासुरुवाल लगाए पछि
मान्छे ठूलो बन्छ
मान्छे सानो हुन्छ पतलुन लाएपछि
अझ कुर्तासुरुवाल नै नलाउँदा ऊ झन् ठूलो हुन्छ
जति नागिंन्छ उसको इज्जत उती नै हुन्छ बढ्छ
नागिंदा नागिंदा केही बाँकि नरहे पनि
आडम्बरको थुन्से बोक्छ बोकाउँछ
सपना केलाउँछ निफनाउँछ
नाङ्लोमा बिस्कुन सुकाउँछ
खुब गरेँ ठान्छ
र निन्द्रा भगाउँछ
भूगोललाई चिर्छ–चिराउँछ
सपनालाई बेच्छ–बेचाउँछ
चेतना हेरिरहन्छ साक्षी बनेर
उसको खेल हेरेर, खिस्स हाँस्छ चेतना
नानीहरुको बालुवाको घरजस्तै
ढल्छ सबथोक
कतै टाढा चिहानमा कंकालको निमन्त्रणामा
भोज जान्छ
कतै कुनै घाटमा चिता एक पछि अर्काे बढ्छ
बढिरहन्छ
र मान्छे मान्छे पोल्न
दाउरा, कोइला, बिजुलीको जोहो गरिरहन्छ
यद्यपि पनि जोहो गरिरहन्छ
र भूगोललाई, चिरा पारिरहन्छ ।