कविता : गयो दशैं

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

आउला भन्दाभन्दै
यसपाली त
अघाउञ्जेल
मनाउँला भन्दाभन्दै
परदेशमा
पुरानै पस्केर
उही
परार झैं
सन्नाटा चिरेर एकदिन
सुटुक्क
आएर गयो दशैं।
**
आउँछ भन्दाभन्दै
यसपाली त
मनभरी
सजाउँला भन्दाभन्दै
नयाँ रीतिमा
लिङ्गे बिना
रोटे बिना
सुनसान चिरेर एकैछिन
लुसुक्क
आएर गयो दशैं।
**
घरकै पिंढीमा
यसपाली त
धित् मर्ने गरी
भित्र्याउँला भन्दाभन्दै
अहिले पनि
धोको बाँकी राखेर
आशा थाँती राखेर
केवल
औपचारिकतामा
एकैछिन
आएर गयो दशैं।
**
प्रतिक्षा तोडेर
यसपाली त
नसोचेकै
जुटाउँला भन्दाभन्दै
उस्तै
मलिनो रङको
धुमिल क्यान्भासमा
नाउँ मात्रैको
आएर गयो दशैं।
**
सुदूरको संझनामा
मालश्री घन्काएर
यसपाली त
रिक्तता
तोडौंला भन्दाभन्दै
उही
दूरीले दुयँलेको
बाध्यताले कुयँलेको
त्यही बैगुनी
आएर गयो दशैं।
**
रीतुको रमिता बिना
आउनुको उमंग बिना
बरु,
टाढिंदाको
पीडा उकल्च्याएर
नजानिँदो
न्याश्रोको नशा ब्यूँताएर
उस्तैगरी
निष्ठुरी
आएर गयो दशैं
**
के लगाउनुथ्यो र,
कसलाई लगाइदिनुथ्यो र?
व्यार्थैको,
बिल्कुल एक्लै
लहडमा
हलक्क, पहेंलै
जमरा ओइल्याएर
थालीभरी
अक्षता ओस्याएर
फेरि
एउटा अचम्मको
आएर गयो दशैं।
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.