कविता : तपाई र मेरो पेशा

~दिङ्लाली कान्छो~Dinesh Subedi 'Dimali Kancho'

मलाई एउटा प्रश्नले संधै सताई रहन्छ …..
त्यो हो —-
” मेरो जिम्मेवारी के हो ? ”
मलाई यो पनि थाहा छ
मेरो पेशा वा जागिरले
म एउटा शिक्षक हुँ
तिनै सानानानीहरु वा
युवा-युवती देखि अधबैंसे
उमेरका संग मैले
मेरा जीवनका सुनौला
क्षणहरु बिताएको छु
झन्डै तीस वर्ष रमाएको छु
र उनीहरुलाई
चरित्र निर्माणमा सघाएको छु
मान्छे भएर बाँच्न सिकाएको छु |

मैले पढाउदा
समाज प्रतिको जिम्मेवारी
परिवार प्रतिको उत्तरदायित्व
उदाहरण दिएर सिकाउथें
उनीहरु सजिलै बुझ्थे
मलाई पत्त्याउथे
उनीहरुलाई इमान्दारीताको पाठ
म सजिलै सिकाउन सक्थें
किनभने उनीहरुलाई
मैले दिएका उदाहरणहरु
उनीहरुकै गाउँ घरमा प्रशस्त थिए
आदर्शता को सम्मान गर्थे |

आजकाल
म उनीहरुका लागि
समाजमा असल र इमान्दार
बन्नु पर्छ भनि
सिकाउन सक्दिन महासय
किनभने उसले मैले उदाहरणमा
भनेको जस्तो मानिस
न त तपाईंको घरमा देखन पाएको छ
न त तपाईंको गाउँ – शहरमा नै
तसर्थ अब उसले मलाई
पत्याउन छाडेको छ
मलाई लाग्छ —
मेरो पेशा संकटमा परेको छ
तपाईंको घर परिवारमा
भयङ्कर रोगले प्रवेश पाएको छ |

म उसलाई तपाईंले जस्तै
जसरी भएपनि
धन कमाऊ, नाम कमाऊ भन्न सक्दिन
किनभने तपाईंले गल्ति गरे पनि
म उसले नगरोस भन्छु
किनभने ऊ भोलिको मेरो सन्तानको
भविष्य हो / मेरो भविष्यको गुरु हो |

अनि म तपाईंको जस्तो गर्न
पनि भन्न सक्दिन उसलाई
किनभने मैले इमान्दार बन्न सिकाएका
मेरा पुराना विद्यार्थीले
मलाई न पत्त्याउलान |

यसरी मेरो पेशा संकटमा परेको छ
तपाईंको कारणले महासय
कि म भनि दिऊ तपाईंको सन्तानलाई
तपाईंको कारणले
मेरो अस्तित्व नै संकटमा परेको छ |

– : बिराटनगर – ४ , नेपाल

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.