~लोक राज भट्ट~
सरकार
तम्रो हड्तालको क्रान्ती चलिरहेका बखत
गाउमा सारै महङ्गिएको छ नुन,
बलाई छ ,
तम्रा सहरले दिएका कागजले
हाम्रो पहुँचमा सपनाहरु सिचाँउदैन,
त्यो आश्वासन,
सहरमै बाँडिचुँडी खाईबक्सेला।
हामिले त
तम्रा क्रान्तिका घाउले
बाँझिएका खेतबारीमा
भत्किएका कुलाहरु खन्नुछ
दुब्बलाएका गोरुहरु अघाएका छैनन, कसरी तान्ने हुन असार?
गोरुहरु अघाउनुछ
यहाँ त पैचोदिने पनी कोई छैन
भएका मालिकहरुलाई
तम्रा क्रान्तिले सहरिया बनाईदियो,
मालिकले गाउँलुटेर सहर बनाउन थालेपछी
हाम्रा गाउहरु रित्तिएका छन
रित्तिएका गाउहरुमा
भत्किएका आशाहरु ठड्याउनु छ ।
तम्रा जस्ता
सम्पन्नताका स्कुलमा
सफलताका सपना बुन्दै
डाक्टर ईन्जिनियर बनाउन नसकेपनी,
आँखा उघारेर संसारहेर्ने
तपाईबाटै खोसिएको बुर्जुवा ,
घोकाउनु छ गरिबका चेलाचेलिहरुलाई ।
हामि त आकाश ओढेर निदाउने मान्छे
भोकको बिरुद्धमा
हिलोमा जिन्दगी रोपिरहेछौ
छुट्टी बनाउन
सहरबाट गाउँहानिएकी छ
एक तरुणी
म त असारको हली
जाँगरबिहीन बनेको छु
सहरिया तरुनी झल्झल्ती घुमिरहन्छ आखाहरुमा
मैले हल गोरु कुदाउनु छ
तरुनिको बैशलाई कल्पिनु छ
सरकार
मेरो जाँगर हराउने छैन
बरु सकिन्छ भने
दुइ पैसा सस्तो गराएर
तम्रो क्रान्तिको सट्टा
नुन पठाईदिनु होला।
लोक राज भट्ट
वायल डोटी
हाल धनगढी
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)