~ज्ञानेन्द्र गुरुङ्~
मेरो राष्ट्रिय चन्द्र, सुर्य अंकित ध्वजा,
अनन्त सम्म फहराउन खोज्दा खोज्दै…
म डुब्ने बेलाको घाम भएछु भने
म प्रेषक बिनाको खाम भएछु भने
सुन्दर हिमाल हाँसेको हेर्ने दुई आँखा चिम्ली…
औशिको रातमा जुनकिरसंगै हराएछु भने,
म साँचो नेपाली भई मरी दिन्छु;
सदा सदाकोलागि आफ्नो प्राणभुमि “नेपाल”
संसार सामु चिनाउन सकेछु भने !!
विश्व मान चित्रमा मेरो अनि धर्तिको शिर,
सगरमाथा जोगाउन खोज्दा खोज्दै…
म बास खोज्दै उडेर हराएको भुवा भएछु भने
म सुक्ने बेलाको हिउँदे कुवा भएछु भने
निसंध्या मैले कुनै शर्त नखोजि…
सेलाउदाको पुष्पांजलीसंगै बगी गएछु भने,
म साँचो नेपाली भई मरी दिन्छु
आफ्नो मातृभुमिको शिमाना बेर्ने…
लहरे काँडेबार बनि उत्पत्ति भएछु भने !!
अशान्तिको ड़ाहाले मुलुक रापिएको बेला,
सिदार्थका बाणीहरु बाड्न खोज्दा खोज्दै…
म जल्ने बेलाको कोईला भएछु भने;
म जलिसकेर पनि खरानी भएछु भने
चेतना उडिसकेको अस्तु संग…
आत्म सुम्पिएर विलीन भएछु भने,
म साँचो नेपाली भई मरी दिन्छु
रक्त चन्दनले “शान्तिको देश नेपाल”
आंकीत् गर्न कलम चलाउदै…
शिथील बनि ढली गएछु भने !!
मेरा भूमिमा थिचिएका मिचिएका;
साँध, सिमाना बचाउन खोज्दा खोज्दै…
म अतिक्रमणमा परेको दिवार भएछु भने
म भेलले हिर्काउने चट्टान भएछु भने
प्राणभरिका माँशपिण्ड सबै…
आफ्नै भूमिमा मट्टी बनेछ भने,
म साँचो नेपाली भई मरी दिन्छु,
दुश्मन, दलाल हरुका प्रवेश द्वार छेक्न..
“Great Wall” बनि प्रस्तुत भएछु भने,
अनि.. म साँचो नेपाली भई मरी दिन्छु,
नेपाल आमाको धर्ति पुत्र बनि चिनिएर मरेछु भने !!
ओखलढुंगा