~जीवन क्षेत्री~
खाली खुट्टा
आधा ढाकिएको शरीर
एक सुकुम्बासी बर्बराइरहेछ–
थूः निर्लज्ज एरिस्टोक्र्याटहरू ।
तिम्रो शान्ति भर्सेला परोस्
एक्लो काठमाण्डुलाई ‘नेपाल’ मानने
ए एरिस्टोक्र्याटहरू ।
हिम्मत छ भने सार्वजनिक बस चढेर
पश्चिम सीमा पुगेर त हेर
बन्दुकको खेती, बारुदको मलजल
गोलीको व्यापार गरेर
हाम्रा आला घाउहरूमा नुनचूक छरिरहेछौ
अपारदर्शी चस्मा लगाएर
सबै देखेको नाटक गरिरहेछौ
अनि दीर्घ शान्तिको योजना बुनिरहेछौ
थूः तिम्रो ध्वंशक योजना
तिम्रा आधुनिक घरका
अत्याधुनिक कोठाहरू
उत्तरआधुनिक तिम्रा साहित्य
के बुभ्mयौ हाम्रा मर्म र पीडाहरू
तिमी संसारलाई एउटै गाउँ बनाउन चाहन्छौ रे
कहिल्यै सोच्यौ अझ कति हजार गाउँहरू
अझै काठमाण्डूको सम्पर्क बाहिर छन् ।
तिम्रो पाशविक परिभाषामा
हामी जो चरासरी ढालिइरहेछौँ
तिमीले हाम्रो गाँस काटेर किनेको बन्दुकले
हामी सबै आतङ्ककारी ।
हामी असभ्य, हामी पाखण्डी
हामी अबूझ र हामी मूल्यविहीन
हाम्रा लाश गनेर तौलिरहेछौ
तिम्रो अमनचयन कति बढ्यो
तिम्रो जनावरी इतिहासमा
शान्तिको प्रगति नाचिरहेको
हाम्रो हत्याको फित्ताले
तिमीलाई वाक्क लाग्छ यो सब
अनि आविष्कार गर्छौ
तिम्रो सभ्यताका उत्कृष्ट छटाहरू
कहिले सुन्दरी प्रतियोगिताहरू
कहिले फेशन शोहरू
थूः तिम्रो सभ्यता
ह्विस्कीको चुस्की लिँदै
क्यासिनोभित्र खोजिरहेछौ सभ्यता
अमेरिका उड्न खुट्टा उठाइरहेछौ
तिमीलाई समाचार सुन्दा दिक्क लाग्छ
हामी भोगिरहेछौँ पलपल
सुन्नुको पीडाले पलायन हुन चाहन्छौ
मातृभूमिलाई दागबत्ती दिन आतुर
ए एरिस्टोक्र्याटहरू ।।
कहिले रोक्छौ यो प्रलयकारी क्रीडा
देशको लगाम ओगटेर
कहिलेसम्म धकेल्छौ दलदलतिर
मान्छे हुनुको मूल्य नबुझेका
ए पाशविक अनुहारहरू ∕
ए निर्लज्ज एरिस्टोक्र्याटहरू ।
हामी सिकाउँछौं मान्छे बन्न
दोहोरो भिडन्त भइरहेको एउटा सदरमुकाममा
खाटमुनी एक रात गुँडुल्किएर त हेर
तिम्रो घातक, खुनी चस्मा खोलेर त हेर
तिम्रा अक्ष्यम्य पूर्वाग्रहहरू पन्छाएर त हेर
तिमीले कहाँ पु¥यायौ देशलाई
ए अमानवीय एरिस्टोक्र्याटहरू
एकछिन मानवताको चस्मा लगाएर त हेर ।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)