~बाबुराम पन्थी ‘गुल्मेली’~
गाँऊ घर उजाड भएछ कठै सबै शहर पसे पछी
घर छाना भित्ता घाँस पलाएछ छाडेर हिंडे पछी
गाई गोठ कडकुरो थर्कु याँहा सबै ढली सकेछन्
घरको खाँबा डाँडा भाटाहरू सबै गली सकेछन्
सुन्दर फूल फूल्ने बँगैचा आज बनमाराले ढाकेछ
पहेंलै तोरी फुल्ने पाटा भरी बुकी फुल्न थालेछ
कागती सुन्तला जुनार बोटमा एेजेरू बास भएछ
पुर्खाले दुख गरी जोरेको सम्पत्ति यसै नाश भएछ
शिरू बारी खर्यान आज काँडा घारी हुन पुगेछ
टारी खेत जंगल अनी गैरी खेत बगर हुन पुगेछ
चौतारीको पिपल ढलेछ झोलंगेका खापा कुहेछन्
अनुपस्थितीमा मेरो गाँऊ घर त्याँहा रोई रहेछन्
अघिल्लो पुस्ता बृद्द भयो पछिल्लो विरानो भएछ
आफ्नो पुस्ता गाँऊ छाडेर कतै पलायन भै गएछ
कोही त चिन्न छाडी सके आफ्नै गाँऊ जाँदा खेरी
दुख्यो मन बस्दिन शहरमा फर्किन्छु गाँऊ फेरी
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )