छन्द कविता : बाँचिन्न नेपालमा

~जयदेव गोविन्द~Jaydev Gobinda Acharya

छन्द : शार्दूलविक्रीडित

आफ्नै वस्त्र फुकाल्नु-पर्छ जगमा नाङ्गाहरूले जिते
कुप्रो नै हुनुपर्छ राष्ट्रभर नै बाङ्गाहरूले जिते
बोले सत्य छिनाल्नुपर्छ रसना पापिष्ठ सञ्जालम
सुँघ्दै गोबर “फूल” भन्न नसके बाँचिन्न नेपालमा ।।

बाली नष्ट गराउँछन् सलहले दुर्गन्ध पारी घर
कुर्दै फेद मनुष्य दर्शक बने टुप्पा चढे वानर
सुन्दै मादल नाच्नुपर्दछ यहाँ उफ्रेर बेतालमा
कुर्सीतर्फ झुकेर “ढोग” नगरे बाँचिन्न नेपालमा ।।

भाषामै पनि राजनीति मुछियो साहित्य पाटो पनि
हावा गर्दछ राजनीति सजिलै ढुङ्गा र माटो पनि
गोली-बारुद पड्कँदै कलम नै फस्दै गए नालमा
सुन्दै भाषण “उच्च काव्य” नभने बाँचिन्न नेपालमा ।।

सम्झी राष्ट्र विदेशमा तरुणका जत्था रुँदै खन्दछन्
“आऊ फर्क स्वदेश” भन्न सकिने आधार नै बन्द छन्
खोक्रो राष्ट्रियता र नागरिकता भर्ला र के थालमा ?
आफ्नै आँसु पिएर काम नगरे बाँचिन्न नेपालमा ।।

सारा ग्रन्थ-पुराणका हरफमा खोजिन्छ “ढाल्ने कला”
सच्चा मर्म नियाल्न खोज्छ जसले मारिन्छ छिन्दै गला
सोझो मार्ग लिएर शिष्ट हिँडिए भासिन्छ पातालमा
पुज्दै रावण “राम” भन्न नसके बाँचिन्न नेपालमा ।।

“साने” भूमि सिँगार्छ झार्छ पसिना बाँझो पखेरो खनी
“ठूले” भाग असुल्छ भाषण गरी “सर्वत्र मेरो” भनी
“काले” को करबाट मालिक बन्यो “गोरे” नयाँ सालमा
भोग्दै शोषण “रामराज्य” नभने बाँचिन्न नेपालमा ।।

निर्धाको मुखभित्र गुन्द्रुक-ढिँडो पर्नै छ गाह्रो यहाँ
बाँचेको भ्रम छाड ! कष्ट नसही मर्नै छ गाह्रो यहाँ
रोगी रुन्छ, छ औषधी उपरको डिस्को, जुवा खालमा
भोग्दै मृत्यु “नवीन जन्म” नभने बाँचिन्न नेपालमा ।।

हाम्रो राष्ट्रियता बनोस् मलम झैँ आक्रान्तका घाउमा
चेली “वस्तु” बनेर बिक्नु नपरोस् व्यापारका भाउमा
काटी भेद निकास रश्मि सजियोस् ढोका र सन्झ्यालमा
आस्था, गौरव, धर्म बेचिन गए बाँचिन्न नेपालमा ।।
•••••••••••••••••••••••

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.