~आइती घले~
आज देखें उसको मुहार
शान्त–शान्त छ
सधैंको जस्तो हतारो
सधैंको जस्तो कोलाहल
केही छैन
होस् पनि कसरी
आखिर शरीर पनि त चिसो छ
तर,
कता कता उसको शान्तिप्रति
औडाह भएर आउँछ
जिन्दगी भरिको उसको
भागदौडमा
पूर्णविराम जो लागेको छ ।
आज
ऊ निर्जिव हुँदा पनि
मलाई उसको माया लाग्दैन
उसको नाउँमा दुइ थोपा आंशु त
झन् बलै गरेर पनि आउँदैन
उसँगको आधा जीवनको
यादहरु पनि आउँदैन
यो मानसपटल
जो खाली–खाली छ
मेरै आवाज ‘इको’ हुने गरी ।
उसको मौनतामा
आज
म
हल्ला गर्न चाहन्छु
उसको मृत शरीरलाई
पेटभर गाली गर्न
अनि
थुक्न चाहन्छु
उसका ती पाउ
उसका ती निर्मम हात
उसका ती क्रुर आँखा
उसका ती राक्षसी ओठ
सबैसबैलाई
म च्यात्न चाहन्छु
टोकेर/चिथोरेर
रक्ताम्य बनाउन चाहन्छु
उसलाई
महशुस गराउन चाहन्छु
च्यातिएको, टोकिएको,
चिथोरिएको
जिन्दगी कस्तो हुन्छ
उसलाई
भन्न चाहन्छु
आफ्नै
काँचो रगतको आहलमा नुहाउँदा
सुन्दर हुन्छ कि कुरुप हुन्छ
जिन्दगी
उसलाई देखाउन चाहन्छु
आफ्नो शरीरभरको नीलो
ट्याटुसँगै
जिन्दगी मज्जा हुन्छ
कि सर्वाङ्ग नाङ्गो धज्जा ।
तर ऊ मौन छ
जसलाई म सख्त घृणा गर्छु
म चाहन्थें
ऊ तड्पीतड्पी
चिच्याइचिच्याइ
एउटा विभत्स
गन्हाउने
कुहिएको मृत्यु मरोस्
तर
यसमा पनि उसले
धोका दियो मलाई
जो उसको नश्लमा थियो
आज हजुर होइन
तेरो समाप्तिमा
श्रद्धाञ्जली होइन
एउटा उत्सव म मनाउँछु
अनवरत अनवरत !!!