~बाबुराम काफ्ले~
‘क्रान्तिकारीहरुको सत्ता आएपछि समाजमा कुनै किसिमको विभेद रहने छैन, श्रमको उचित मुल्य पाइनेछ, कोही कसैबाट शोषित र पीडित भएर बस्नु पर्ने छैन, जग्गा जोत्नेको हुनेछ , घर पोत्नेको हुनेछ । कसैले पनि ऋणको भारी बोक्नु पर्ने छैन । छुवाछुतको अन्त्य हुनेछ, धनी र गरिब एकै हुनेछन् । समानता कायम हुनेछ ।’
प्रेमबहादुरले यस्ता कुराहरु सुन्ने गरेको थियो तर उसलाई थाहा थिएन क्रान्तिकारीको सत्ता कसरी आउँछ भन्ने । क्रान्तिकारी भनेको को हुन् भन्ने पनि थाहा थिएन उसलाई । ऊ बेलाबेलामा सुन्ने गथ्र्यो ‘फलानो गाउँका काजीलाई क्रान्तिकारीहरुले मारे अरे । फलानो गाउँका मुखियाको अन्न लुटेर क्रान्तिकारीहरुले गरिबलाई बाँडे अरे । फलानो ठाउँमा प्रधानपञ्चको जग्गामा क्रान्तिकारीले झण्डा गाडे अरे । फलानाले गाउँ छोडे अरे । फलानो पनि भागे अरे ।’ यस्ता कुराहरु बेलाबेलामा प्रेमबहादुर सुन्ने गथ्र्यो ।
ऊ मनमनै सोच्ने गथ्र्यो ‘क्रान्तिकारीहरु साच्चै नै राम्रा हुन्छन् क्यारे । गरिबको पक्षमा काम गर्छन क्यारे ।’ तर उसको मनमा बारम्बार एउटै प्रश्न दोहोरिरहन्थ्यो ‘क्रान्तिकारीहरुको सत्ता कसरी आउँछ ? यिनीहरु को हुन् ?’
प्रेमबहादुर बाबुकै पालादेखि माइला काजीकोमा कमैया थियो । उसको जवानीको जोड त्यहीँ बितेको थियो । बेलाबेलामा कल्पिन्थ्यो ‘क्रान्तिकारीहरुको सत्ता आएपछि म पनि मुक्त हुन्छु होला ।’
प्रेमबहादुरका दुई भाइ छोरा थिए, बीचकी एउटी छोरी थिई । यी तीनैले विद्यालय टाढाबाट मात्र देखेका थिए । जेठो छोरो १७ वर्षमा मात्र टेकेको थियो, अचानक बेपत्ता भयो । निकै खोजियो तर पत्ता लागेन । परिवार चिन्ताग्रस्त भयो । गाउँले धेरैले आफ्नो तर्क गरे–‘मुग्लान पस्यो’, ‘भाग्यो’, ‘म¥यो’, ‘क्रान्तिकारीहरुसँग मिल्न गयो’ आदिआदि ।
तर अचानक एकदिन झम्के साँझमा दुई जना अपरिचित ठिटाहरूसहित ऊ घरमा पस्यो । सट्याकसुटुक्क बस्यो । साँच्चै क्रान्तिकारीमा गएको रहेछ । भुकभुके उज्यालो नहुँदै उनीहरु सबैनिस्किए । राती उसले भनेको थियो –‘चिन्ता लिनुपर्दैन हामी मुक्तिका लागि लड्दैछौँ । अब हाम्रो सत्ता आउँछ । दुःखका दिन सकिन लागे ।’ यो सुनेर पे्रमबहादुर र परिवार खुसी भएका थिए तर फेरि छोराले भनेको थियो ‘शत्रुसँग लड्दा–लड्दै सहादत पनि पाउन सकिन्छ ।’ क्रान्तिकारीमा लागेपछि यस्तो बोल्न सिकेको थियो उसले । ‘सहादत’ शब्द नबुझेकाले परिवार अलमलियो । छोराले फेरि थप्यो ‘लड्दालड्दै मरियो भने पनि चिन्ता नलिनू, तपाइँका हजारौँ छोराछोरी छन् ।’ अघिसम्म क्रान्तिमा लागेकोमा खुसी भएको मन यो कुराले कुँडायो, अलमलियो र मुटु कमायो ।
कसैलाई थाहा दिएनन् यो कुरो । तीन चार महिनाको अन्तरमा घर आउँथ्यो र राती नै जान्थ्यो । यसै क्रममा फर्किँदा एकदिन बाटोमा ऊ भीडन्तमा प¥यो । छोरो मारिएको खबर आयो । सबै मूर्छित भए । अनि बल्ल पो गाउँलेले थाहा पाए । गाउँमा उनीहरु पनि क्रान्तिकारीको रुपमा हेरिन थाले । जेठो सहिद भएपछि सहिद परिवारबाट क्रान्तिलाई टेवा भन्दै कान्छो छोरालाई लगे क्रान्तिकारीहरुले । यसपटक चाहिँ उनीहरुको नपठाउने नै बल थियो तर सकेनन् ।
राज्यको नजरमा क्रान्तिकारीहरु क्रान्तिकारी नभई आतङ्ककारी थिए । त्यसैले आतङ्ककारीलाई सहयोग गरेको अभियोगमा राज्यले दुःख दिन थाल्यो । राज्यका सेना आएर आफ्नै घरमा छोरीलाई बलात्कार ग¥यो । घरमा आगो लगाइदियो । जसरी पनि कान्छो छोरो फिर्ता ल्याएर राज्यलाई बुझाउनु पर्ने चेतावनी दिइयो ।
प्रेमबहादुरको परिवारमा बज्रपात प¥यो । दैव पनि गरिबमाथि नै खनिँदो रहेछ । बाबुआमाकै अघि आफू सामूहिक बलात्कृत भएको पीडा सहन नसकी तीन दिन पछि आत्महत्या गरी छोरीले । ठिक त्यसै दिन आफूले बोकेको ग्रिनेट पड्केर कान्छो छोरो पनि क्रान्तिमा सहिद भएको समाचार आयो ।
यो भन्दा बढी के नै बाँकी छ र ? यो भन्दा ठुलो बज्रपात के पर्नु पर्छ र ? बुढी बेहोस भइन् । ऊ पनि सम्हालिन सकेन तर आफँै घरमूली भएकोले मनले शान्ति पाउने गरी रुनसम्म पनि पाएन उसले । ३ दिनपछि बुढीको अलिअलि होस आयो तर छिनमै ढल्ने, बरबराउने र अर्धचेत भएरै ३ महिना बित्यो र पीडैपीडामा अन्तिम श्वास फेरी उसले ।
गरिबै भए पनि, दुःखै भए पनि खुसीमा रमाएको प्रेमको परिवार क्रमशः खरानी भयो । सबैलाई अघि लगाएर ऊ मात्र बाँकी रह्यो फगत एक्लै ।
केही समयसम्म त ऊ पागल झैँ भयो । तथापि राज्यले गरेको ज्यादतीको विरुद्ध उसमा विद्रोह पलाएको थियो । क्रान्तिप्रति विश्वास हराएको थिएन । अन्याय, अत्याचार, शोषण, दमन, ज्यादती, बलात्कारले समाजलाई दूषित बनाउने व्यवस्थाको विरुद्धमा उभिने सङ्कल्प गर्न थाल्यो उसले । गाउँमा पहिलेको भन्दा चहलपहल बढ्न थाल्यो क्रान्तिकारीहरुको । उसले सल्लाह ग¥यो र समाजलाई बिगार्ने विषवृक्ष जरैदेखि ढाल्न र अग्रगामी परिवर्तनको बाधकका रुपमा खडा रहेको विषालु अजिङ्गरहरुलाई टुक््रयाउने दृढ सङ्कल्प लिएर उसले एउटा महान् निर्णय ग¥यो –क्रान्तिमा होमिने ।
ऊ अब क्रान्तिमा होमियो । दाहिने हातको मुठी कसिलो बनाएर कसम खायो ‘पुरानो सामन्ती व्यवस्था ध्वस्त पार्दै सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्ने ।’ सबैसँग पाखुरा झड्काएर हात मिलायो । कमरेड अविनाशले उसलाई पार्टीमा स्वागत गरे । पार्र्टीमा नाम फेरियो उसको । अविनाशले उसलाई नाम राखिदिए ‘कमरेड परिवर्तन’ । ऊ प्रेमबहादुबाट अब ‘कमरेड परिवर्तन’ भएको थियो ।
सभा सम्मेलन हुन्थे भूमिगत रुपमा । धेरै गहकिला कुराहरु हुन्थे । ऊ कति बुझ्थ्यो, कति बुझ्दैनथ्यो । तैपनि आफ्नो सत्ता आउनेमा ऊ विश्वस्त थियो । आत्मरक्षाको लागि उसलाई ग्रिनेट बोक्ने र त्यो फाल्न सिकाइएको थियो । न ऊ सैन्य तालिम नै गर्न सक्थ्यो न प्रशिक्षणका कुरा नै बुझ्थ्यो ।
दुई वर्षमा ऊ निकै बुझ्ने भयो तर अब हतियार बिसाउने रे । युद्ध नलड्ने रे, नेपाली नेपाली नभिड्ने रे आदि कुरा सुन्न थाल्यो । किनभने पार्टीले शान्ति सम्झौता ग¥यो रे । उसले बुझेन के क्रान्तिको उद्देश्य पूरा भएकै हो त ? समाज बदलियो त ? अग्रगमनका बाधक पर्खालहरु भत्किए त ? उसले बुझ्नै सकेन ।
ऊ आफ्ना माथिल्ला कमरेडहरुसँग यस विषयमा बहस गर्न खोज्थ्यो । उसलाई कसैले वास्ता गर्दैनथे । पट्यारलाग्दो दैनिकी व्यतित हुन थाल्यो । क्रान्तिप्रतिको जोश मर्न थाल्यो । कोहीे लडाकुहरु शिविरतिर गए । कोही राजनीतिमा त कोही घर फर्के । उसको जाने ठाउँ थिएन । समाजलाई हेथ्र्यो, उस्तै थियो । गरिबी, अशिक्षा, विभेद । केही फेरिए झैँ लागेन उसलाई ।
ऊ आफ्नो पुराना कमरेडहरुलाई भेट्थ्यो । जीवनशैली नै फरक भइसकेको थियो । ऊसँग बोल्न पनि चाहँदैनथे । अनि बल्ल पो ऊ बुझ्न थाल्यो क्रान्तिमा धोका भएछ । क्रान्तिको अवसान गराएर पार्टीले ठुलो घात गरेछ । अब सम्झन लाग्यो आफ्ना सहिद छोराहरु, पीडित भएर मृत्युवरण गरेकी छोरी र तीन महिना छटपटाएर अस्ताएकी श्रीमतीलाई ।
उसले पार्टी त त्याग्न सकेन तर केहीको जीवन परिवर्तन गराउन यत्रो संहार किन ? के अर्थ यत्रा सपुतहरुको बलिदानको ? कसरी हुन्छ सम्मान सहिदको ? यी प्रश्नहरु निरुत्तर नै रहे सधैँभरि उसका लागि ।
ऊ पार्टीबाट अलगिन सकेन । कोहीबेला सहिद परिवार भनेर पार्टीले उसलाई बोलाउँथ्यो र सम्मान गथ्र्यो तर क्रमशः यो पनि हट्दै गयो । अब उसलाई अरुले चिन्न छोडे । उसले र उसलाई चिन्ने माथिल्लो तहमा पुगिसकेका थिए । उसका समस्याहरु बढ्दै गए । आर्थिक अभावले नराम्रोसँग पछ्यायो । ऊ रोगी भयो । उपचार हुन सकेन । न पार्टीले केही वास्ता ग¥यो, न आफ्नो केही थियो ।
पार्टीको महाधिवेशन हुने उसले हल्ला सुन्यो । बिरामी नै भए पनि अधिवेशन हेर्न जाने सोच बनायो । अर्को महाधिवेशन हेर्न पाइएला भन्ने उसलाई लागेको थिएन । यो महाधिवेशनमा ठुला नेतालाई भेटी आफ्नो अवस्था जानकारी गराउने सोच पनि बनायो ।
महाधिवेशन सुरु हुनु केही दिन अघि ऊ सहर गयो । उसको न खाने व्यवस्था थियो न बस्ने नै । सहरमा धुमधामका साथ महाधिवेशनको तयारी भइरहेको थियो । ब्यानर, वाल पेन्टिङ, पोस्टर , फ्लेक्सले शहर झकिझकाउ थियो तर उसको स्वास्थ्य अवस्था झन नाजुक भयो । न त उसले नेता नै भेट्न पायो, न उसको कतैबाट वास्ता नै भयो ।
अब बाँच्दिन भन्ने उसलाई लाग्यो । आफ्नो संसार पार्टीकै लागि सकिए पनि उसको श्रद्धा उत्तिकै थियो । मर्ने बेलामा पार्टीको झन्डामुनि मरौँ भन्ने उसलाई लाग्यो । उसले झन्डा कहाँ भेट्नु । भित्तामा राता पोष्टर टाँसिएका थिए पार्टीका झन्डावाला । त्यहीँ दुईटा पोस्टर उक्कायो र पर यात्रु प्रतिक्षालयमा बल्लबल्ल पुगेर ढल्यो । यता पोस्टर टाँस्ने कार्यकर्ताले पोस्टर च्यात्यो भनी खोज्न थाले । प्रतिक्षालयमा पोस्टर ओढेर सुतेको बुढोलाई देखे । ‘हाम्रो पार्टीको विरोध गर्ने’ भन्दै कुटपिट गरे । उसको कुरो कसले सुन्थ्यो र त्यहाँ । उज्यालो नहुँदै उसले संसार छोड्यो । हल्ला खल्ला निकै मच्चियो । हेर्न आए धेरै जना । उसलाई चिन्ने पनि आए र थाहा पाए कमरेड परिवर्तनको निधन । पार्टी हेडक्वाटरमा पनि खबर पु¥याइयो । पार्टीले अन्त्येष्टिको तयारी ग¥यो । श्रद्धान्जली दियो । पार्टीको अध्यक्ष आएर पार्टीको ठुलो झन्डा ओढाएर मुठ्ठी कसेर सलाम गरे । उता एक हुल मान्छे थिए र नमिठो मुख लगाएर भन्दै थिए ‘सम्मान गरेका रे लासलाई झन्डा ओढाएर ।’
(स्रोत : निगरानी डट कम)