~कमल प्रकाश पौडेल ~
सिर्जनाको शक्तिभित्र, कल्पना भण्डार हुन्छ
कल्पनाले दिने अर्थ, नबुझे दोधार हुन्छ ।।
मान्छे भन्छन् सजिलो छ, सर्र कलम डुलाउन
कोरेपछि यस्तो कोर्नू, बुझाई अपार हुन्छ ।।
भाव लिए पो त विधा, शब्द थुपार्दैमा हुन्न
बाटो चिन साहित्यको, अनि लगातार हुन्छ ।।
बोध होला त्यसपछि, फराकिलो चहुरको
कहाँ चर्न के कति र, कसको छेकवार हुन्छ ।।
उब्जाउन बसेपछि, मधुरसको अन्नपानी
कलम् कापी मनभन्दा, अरू अन्धकार हुन्छ ।।
भोक निद्रा परु सर्छन्, वाली भित्राउने बेला
नटुङ्गिने बेलासम्म, अघोषित करार हुन्छ ।।
प्रत्येक तोरी फूलमा पुग, मीठो स्वाद जुटाउन
महजस्तो खाद्य बोक्न, अलिकति भार हुन्छ ।।
उड्दाउड्दै जिन्दगीमा, कुन कुनामा पुगिन्न र
देख्याभन्दा धेरै भित्र, सोच् अनकण्टार हुन्छ ।।
कैले युद्ध भूमि बन्छ, कैले बुद्ध भूमि बन्छ
साहित्यिक मैदानमा, भीषण लछारपछार हुन्छ ।।
सीमा हुन्न लडाईंको, नमेटिन पनि सक्छ
गर्दागर्दै अन्तिममा, उल्टै मारामार हुन्छ ।।
लेख्नेका नि मर्महरू, अनगिन्ती हुने गर्छन्
जसले जस्तो लेखेपनि, आ–आङ्खनै विचार हुन्छ ।।
कल्पनालाई पढ्ने मान्छे, वास्तविकै सोचिदिए
स्रष्टा स्वयम्लाई रेट्ने, अक्षर नै धार हुन्छ ।।
धारा अनुरूप बग्छ, शब्द तरल भाषा बनी
प्रवृत्तिगत हसाउँने, हास्यरसको सार हुन्छ ।।
विपरितै मन भए, अक्षरको निहुँ झिकी
अवुझ् पाठक बीच त्यहाँ, सर्जककै हार हुन्छ ।।
–रचनाकालः–२०६२÷१२÷२३
(स्रोत : रचनाकारको ब्लगबाट सभार)