~डा.रुपक श्रेष्ठ~
वषौँसम्म
पानी ओढेर सुतिराखेको मलाई
भकभकी उम्लिरहेको
मेरै गर्भका लाभा
मेरै महासागर पिँंधबाट
झकझक्याउँदै भन्छ मलाई
उठ ! उठ !!
हिमालझैं उठ
सगरमाथाझैँ उठ
हो,
उठ्नुपर्छ पहिचानका लागि
उठ्नुपर्छ परिवर्तनका लागि
उठ !
म,
मेरै करकापले मुन्टो उठाउँछु
र
हिमाललाई हेर्छु
आफ्नै अभिमानले जलेर
खागखाग भएको देख्छु हिमाल
थामि नसक्नु पहिरो छातीबाट झरेको देख्छु
अनि
त्यही हिमाल रुँदैरुँदै गएर
उही सागरमा आफ्नै सतह खोजेको देख्छु
अनि म,
मलाई नै सोध्छु
त्यो लाभाको सगरमाथाझैँ उचाई खोजूँ
वा
शितल पानीझैँ आफ्नै शान्त सतह रोजूँ ?
(स्रोत : सत्यतथ्य मासिक)