~प्रभात राउत~
गत रात
म भत्किए भित्रसम्म .
अस्तित्वको मायावी भूलले
चौतारी झैँ बाचेको थिएँ बषौं-बर्ष
स्तुतिका टुडालहरु मक्किए
एउटा भित्तो जस्तै ,पर्खालजस्तो अग्लो म
खण्डहर छियाछिया वार-पार भैदिए .
सुम्सुम्याई रहन्थे म
काखमा मृदु-नानीझैँ
मेरा स्नेही आत्मविश्वासहरु
खै कताबाट
बाढी आयो आततायी अपराधी झैँ
काख रित्तियो सर्लक्क
मुटुमा राखेर हात
हेरिरहेछु एक-टक
रित्ता-रित्ता निरस
मेरा काखहरु
मेरा छातीहरु
मेरा स्वाभिमानहरु
मेरा अभिमानहरु
सुख जस्तै दुख पनि त
आफ्नै आगनमा फुलेका
मौसमी फूल हुन्
भैगो म भत्किए खेद छैन
छातीमा टासेर दुखलाई
प्रीतको स्तन चुसाईरहे
अपसोच !
भत्कियो
फेरि भत्कियो गर्लम्मै!-
सपना सखारै .
अत:
छैनन् म सँग जिजीविषाहरु
नत मृत्यु इच्छाहरु !
फराकिलिएनन् छातीहरू अब! उत्तानिए
छैनन् आफ्ना भनिएका-
सुख औं दुखहरु .
झन्डा गाडिएको मेरो
पर्खालका टुक्राहरु….
‘यार्सागुम्बा झैँ’
म कोपरिरहेछु भुईहरु
म कोपरिरहेछु पहाडहरु
कोपरिरहेछु-
छिमेकी सीमाहरू
अपितु
आज मेरा टुक्राहरु
आफै ‘म’ भैसके .
अब म,
नत म छु
नत म छैन
एउटा प्रदीप्त झिल्को
पर्खिरहेछु कुरिरहेछु –
पsss र
अलि प र ,क्षितिजमा
देखिरहेछु –
विस्मय ! क्यानभास रहस्यको .