~गणेश कार्की~
भोक लाग्यो,
मैले भात माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”
मसँग पाखुरी छ,
मैले जमिन माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”
म बिरामी छु,
मैले औषधी माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”
म अज्ञानी छु,
मैले शिक्षा माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”
म यो देशको नागरिक,
मैले आफ्नो अधिकार माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”
मेरो आवाजमा तिमीले बिद्रोह देख्यौ
शान्तिको निकै लामो भाषण ग¥यौ
तिम्रो भाषणले मेरो पेट भरेन,
तिम्रो भाषणले मैले ओत लाग्ने छानो भेटिन,
तिम्रो भाषणले म निको भइन,
तिम्रो भाषण पछि पनि म उस्तै भएँ
भोको, नाङ्गो, रोगी र अज्ञानी
मैले फेरि भात माँगे
मैले फेरि जमिन मागे
मैले फेरि औषधी मागे
तिमीले मलाई अघि नै अज्ञानी भनिसकेथ्यौ
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”
तिमीले टन्न खाएकोमा म रिसाएको होइन
तिमीले लगाएको देखेर म रिसाएको होइन
खाली मैले पनि खान पाउँ भने
म मान्छे हुँ, मान्छे हुन देउ भने
तिम्रो ज्ञानले त्यस्तै भन्छ ?
खाली खुट्टा हिड्नेहरु मान्छे होइनन् भनेर
भोका नाङ्गा आङहरु बाँच्ने होइन भनेर
मेरो प्रश्नले तिम्रो शान्ति बिथोलिएछ
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!
मैले मेरो समस्याको कुरा गरे
तिमीले मलाई समस्या देख्यौ
मैले मेरो आवाज बोले
तिमीले बिद्रोह बोलेको सुन्यौ
म अज्ञानी, म नाङ्गो,
म असभ्य, म उदाङ्गो
हातमा जे थियो, त्यही लिएर उठे
ज्ञानका कुरा म बुझ्दिन
गीताका उपदेश म जान्दिन
तिमीले खान दिनु पथ्र्याे
तिमीले आफु जस्तै ठानेर
ज्ञान दिनु पथ्र्याे
तिमीले त चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”
(स्रोत : रचनाकारको ब्लगबाट सभार)