~सागर कार्की~
निधारका पसिना पटुकीमा भिजाउदै
आमाले छर्नुभएका पे्रमका बिउ
जब टुसा बनेर आकाश चुम्न निस्कए
मैले आमाको चेहेरामा जुन देखे
र त्यो जुन मेरा आँखाका सपना बने ।
आमा !
म ठुलो मान्छे हुन्छु,
अनि तिम्रो मुहारको जुन बन्छु नि है ।
आमाले मुस्कुराउदै भन्नुभयो –
छोरा ! यहाँ ठुला मान्छेका बजार छन्,
जहाँ कयौँ आमाहरुको बोली लाग्नेगर्छ,
सक्छौ त असल मान्छे बन्नु,
सक्दैनौ त ठुलो मान्छे कहिल्यै नबन्नु,
माटो नै तिम्रो आमा हो,
अनि तिमी उसको जुन ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)