~गीताकृष्ण शर्मा “विनीत”~
कति मन दुखेको होला तिम्रो
कति मुटु दुखेको होला तिम्रो
सन्तानले एक्लै छोडे, मायामारे भनेर
तिम्रा मनहरु त लालीगुराँस संगै
तिम्रै मायालु काखमा फुलिरहेछन
म भने विरहको सुस्केरा हाल्दै
नियतिको पर्खालले घेरेको
अभागी पुर्पुरो लिएर
बाँच्नुकोको पीडामा
प्राण भन्दा प्यारो तिम्रो मायालाई
चिन्न नसकेर आफ्नै दुनो सोझ्याउदै
तिमीमाथि लात बजारीरहेका छु
अनि म……….
तिम्रो आकाश ,तिम्रो क्षितिज
मन भरी टाँगेर बाँचिरहेछु !!
जिन्दगी बाँच्नु र भोग्नुको पीडा भित्र
बाध्यता र बिबशताको हत्कडी र नेल
विवशतामा हात गोडामा लागिरहेछ
एउटा निरिह सन्तानको रुपमा
हुनसक्छ तिम्रो ठुलो मन भित्र
मेरो माया न अटाएको हुनसक्छ !!
तिमीले नचिनेको हो कि ???
हनुमन्ते जङ्गल गुरांशले रक्ताम्मे हुंदा
सिक्री खोला, खानी खोलाको किनारमा
सुसेली हाल्दै तामाकोशी संग
साइनो गास्ने म नै हुँ !!
कालिन्चोक को जंगलमा चिमाल फुल्दा
चरंगे खोलाले सुस्केरा हाल्दा
शैलुंगडाँडामा खुशीको गीत गाउने म नै हुँ !!
तर मेरो दोलखा …………..सुन त
तिम्रो चोट अनि व्यथा मेरो पनि त हो
तिम्रो मनमा पीडा हुँदा
मेरो पनि त आँखा रसाएर
तामाकोशी संग मिल्छ नि !!!
तिम्रो छातीमा डढेलो लाग्दा
म पनि त तिमी संगै जल्छु नि !!
म तिमी संगै बाच्न,मर्न सक्छु नि,
मेरा मनका अनगिन्ति सपनाहरु
तिमीसंगै साट्न सक्छु नि,
गौरीसंकर र च्छोरोल्पा संग
आत्मियता गास्दै
तिमी प्रतिको ममता
छातीमा गाँठो पारेर कस्छु नि ल !!!
गीताकृष्ण शर्मा “विनीत ”
काब्रे -३ मैनापोखरी
भाद्र – ३ , २०६८