~टीकाराम उदासी~
छेपाराहरुको कुनै मौलिक रङ हुँदैन
छेपाराहरुको कुनै मौलिक संस्कृति हुँदैन
छेपाराहरुको कुनै आदर्श र नैतिकता पनि हुँदैन
छेपाराहरुको कुनै आस्था र विश्वास पनि हुँदैन
छेपाराहरुको कुनै पहिचान र सिद्धान्त पनि हुँदैन
छेपाराहरुको कुनै देश र सपना पनि हुँदैन
छेपाराहरुको कुनै यात्रा र गन्तव्य पनि हुँदैन
बस, बदलिरहन्छन् छेपाराहरु मौसमसँग
मौसमसँगै बदलिनु नै उनीहरुको पहिचान हो
मौसमसँगै बदलिनु नै उनीहरुको जीवन हो
मौसमसँगै बदलिनु नै उनीहरुको संस्कृति हो
तर अचम्मै भएको छ यो देशमा
निरन्तर बढिरहेका छन् छेपाराहरु
र, चलाइरहेछन् देश
हामीहरु सधैँ सधैँ
चुपचाप हेरिरहेका छौँ
रङविरङका छेपाराहरुलाई
र, छेपाराहरुले आफु खुसी चलाइरहेको देशलाई ।
छेपाराहरुले पनि चलाउँछन् राजनीतिक दल
छेपाराहरुले पनि चलाउँछन् प्रशासन
छेपाराहरुले पनि चलाउँछन् विश्वविद्यालय
छेपाराहरुले पनि चलाउँछन् रेडियो, पत्रिका र टेलिभिजन
छेपाराहरुले पनि चलाउँछन् एनजिओ र आइएनजिओ
उनीहरुले पनि गर्छन् नाराजुलुस
उनीहरुले पनि गर्छन् विद्रोह र क्रान्ति
उनीहरुले पनि गर्छन् परिवर्तनका बहस
तर जब फेरिन्छ मौसम
यथाक्रम बदलिन्छन् छेपाराहरु
र, यथावत् चलाउँछन् देश
हामी चुपचाप हेरिरहन्छौँ
छेपाराहरुले चलाइरहेको देशलाई ।
अहिले पनि उसरी नै चलिरहेछ देश
अहिले पनि उसरी नै चलाइरहेछन् देश छेपाराहरु
र, हामीहरु
उसरी नै हेरिरहेछौँ देश
उसरी नै चलाइरहेछौँ जिन्दगीको गुजारा
र, सायद
उसरी नै सोचिरहेछौँ हामीहरु
के देश आज जसरी
भोलि पनि
यसरी नै चलिरहने हो छेपाराहरुको हातमा ?