~कमल प्रकाश पौडेल ~
झिङ्गे, माखे सरापले, डिङ्गो कैल्यै मर्दैन नि
वकम्फुसे धाक दिई, मलाई पीर पर्दैन नि ।।
अरू गन्नु परै जाओस्, आँफै मपाईं भन्ने रैछौ
रातो पहरोमा गाई , यो दुनियामा चर्दैन नि ।।
तिमी नहुँदैमा मेरो, के कति नै गुम्ला र खै
काँडा झ¥यो जीवन्बाट, फूल कैल्यै झर्दैन नि ।।
खेती गरेपछि आशा, जसले पनि गर्छन् तर
चट्टानको कापभित्र, पटमूर्ख वीऊ छर्दैन नि ।।
कहाँ त्यति सोझो छु र, तिम्ले जस्तो देखेपनि
जानी–जानी जिन्दगीमा, सोझै सुख हर्दैन नि ।।
तिमीसँग के माग्थेंर, पूरै खाली देखिरा’छु
खाली गाग्रीले त कैल्यै, लोहोटा पनि भर्दैन नि ।।
सोचेकी पो थ्यौ कि तिमी, यो दिलमा आउँछ भनी
छिट्टै मान्छे नचिनी त, प्रितको डेरा सर्दैन नि ।।
एम्बुस राखी पुलमाथि, सोच्यारैछौ नदी तर्छ
जाँचबुझ नगरी त, छोराले पुल तर्दैन नी ।।
मर्दको छोरा ठान्छु, मेरो मन्ले आँफैलाई
चेतावनी दिएपनि, यो मन त्यसै डर्दैन नि ।।
प्रयोग नगर’ भनेपनि, सकुला नि जिन्दगीमा
आँसु’ शब्दविना मेरो साहित्य त मर्दैन नि ।।
–रचनाकालः–२०६१÷१२÷….
(स्रोत : रचनाकारको ब्लगबाट सभार)