~प्रमिशा केसी~
” हेर् कान्छी, अलि दिन यताउता हुने नर्मल होला, तर अहिले डेढ महिना हुन लाईसक्यो । आज आइतबार, भोली सोमबार दिँउसोसम्म तेरो पिरियड्स भएन भने हामी हस्पिटल जान्छौँ । ए सरी ! हामी हैन, तँ । भोली बेलुका तँ KMC जा, टिकेट काट् , डक्टरको मा जा, जेसुकै गर्, तर प्रेग्नेन्सी को टेस्ट गराएर आइज । “
मेरो मन अझै मान्न तयार छैन कि म गर्भवती छु । असारको पहिलो सातामा हामी बहकियौँ । यती अचानक भयो त्यो सब कि न सुरक्षित हुने हेक्का थियो न समय नै । आइपिल किनेर उसले मलाई जब ख्वायो , ढुक्कथियौँ हामी । त्यसबिचको एक महिनामा यती सब भयो कि ती दुइ चक्किमाथी आँखा चिम्लिएर बिश्वास गरेझैँ बिर्सियौँ सब । जब होशमा आएँ, तब याद आयो महिनावारी रोकिएको, अनि झास्किएँ । रोकिएको महिनावारिले हाम्रो रोकिएको बोलचाल भने ब्युँझाइदियो, तर यहाँ खुशी हुने कारण छैन ।
” तर सबिन, मैले दुइपटक टेस्ट गरिसकेँ किट किनेर, दुबै पटक नेगेटिभ भनिसक्यो,तर पनि तँ किन म प्रेग्नेन्ट छु भनिराख्छस् ? “
दुइपटक, सायद तीनपटक । पहिलो पटक स्कार्फले मुख छोपेर बसपार्क पुगेकी थिएँ, प्रेग्नेन्सी टेस्ट किट किन्न । जसोतसो हिम्मत जुटाएर, तयार भएर गएकी थिएँ म, झेल्नलाई घृणा भरिएका नजर एक केटीमाथी जो जवानीको जोशमा बहकिएर आएकी थिइ, यो जान्न कि त्यो गल्तिको परिणाम उसले भोग्नु लेखिएको छ या छैन । तर त्यहाँ त यो घटना यती सामान्य भयो, मानौँ म प्रेग्नेन्सी टेस्ट किट नभएर चकलेट किन्न गएकी थिएँ । सायद साहुजिलाई बानी थियो जवानिको जोशमा सुरक्षा जुटाउने र जुटाउन नभ्यायी मुख लुकाएर परिणामको डरले आउने ग्राहकलाई भिटामिन बेचेसरी यि सब बेच्न । साहुजिलाई सोध्ने कुरा भएन कसरी
प्रयोग गर्ने भनि, त्यो प्लास्टिक भित्रै कुनै कागजमा निर्देशण होला भनेर लगेँ घर, तर केहि थिएन । हेयर रिमुभरमा त हुन्थ्यो त, त्यसमा थिएन, सायद आजकलका युवा शरिरको रौँ हटाउन भन्दा प्यास मेट्न र गर्भ हटाउन खप्पिस छन् भन्ने सोचेर होला । बायोलोजी पढेकोले अलिअली त बुझेँ, तर टेस्टमा एक लाईन रातो आउँदा आत्तिएँ । धन्न गुगल थियो, एक लाईन नेगेटिभ, दुइ लाईन पोजिटिभ हुँदो रहेछ । त्यो तीनका लागी होला जसले गर्भ को आश राख्छन्, मेरो लागी त त्यो नेगेटिभ रिजल्ट जती पोजिटिभ यो दुनियाँमा केहि थिएन ।
दोस्रोपटक, उसैले किनिदिएको थियो, केटाले किन्न जाँदा मुख छोप्नै नपर्ने रहेछ, सायद मेडिकलका साहुजी पनि बिर्सिन्छन् कि कुनै केटा गर्भप्रतिरोधत्मक सामाग्री किन्न जान्छ त कुनै न कुनै केटीकै गर्भ रहन नदिन, तब त्यही केटी जाँदा यती अचम्म किन ? त्यो दिन मैले किनेको तिस रुपैयाँको टेस्ट किट चित्त नबुझेर उसले पचासको किनेर ल्यायो, तर त्यो बिस रुपैयाँ को फरक पनि सायद नभएको गर्भ देखाउन फेल खायो । दुइपटक आफ्ना आँखाअघी त्यस टेस्ट किटमा केवल एक लाईन देखेर मेरो डर अलि कम थियो, सायद अलिकती बिश्वास पनि, कि मेरो भविष्यमा यती सजिलै ग्रहण लाग्न सक्दैन । तर खै, उ मान्न तयार छैन । उसलाई लाग्छ मभित्र गर्भ छ, र यतिबेर महिनावारी नहुनुले मभित्र विश्वास हुँदाहुँदैँ पनि डर जन्माएको छ । आज फेरी टेस्ट गरेँ, सायद नियमित ग्राहक बन्न लागिसकेँ म, र प्रयोग गर्नमा खप्पिस पनि । फेरी नेगेटिभ आयो, र अलिअली आश जागेको छ मभित्र । पचास रुपैयाँँ मा आश बिक्दो रहेछ बजारमा ।
” भोली हस्पिटल जा, टेस्ट गरा, अनि पैसा जम्मा गर्छु म । हस्पिटलामा त गर्दैन इल्लिगल्, पाटनतिर एउटा ठाउँ छ, पैसा टन्नै लाग्छ तर सेफ र सेक्रेट छ, त्यहिँ हुन्छ कान्छी अब तेरो अबोर्सन ! ”
हाँसखेल मा साथीहरुसँग यो फिल्मी डाइलग कती भनियो होला, “मेँ तुम्हारे बच््चेकी माँ बनने वाली हुँ”, तर यसको मर्म त तब बुझेँ जब त्यो दिन अचानक सबिनको नम्बर घुमाउन बाध्य भएँ । सोचेकी थिइँन मैले कि उसलाई फर्किएर पनि हेर्नेछु कहिले, तर सोचेको जस्तो कहाँँ हुन्छ र सधैँ । केहि हप्ता अघी जसको आवाज, स्पष्टिकरण, केहि सुन्न नचाही फोन काटेर नम्बर ब्लक गरेकी थिएँ, उसैलाई फोन गर्नुपर्ने, कतिसम्म बिवश थिएँ म समय को अघी । महिनावारी रोकिएको खबर सुनाएँ पहिले उसलाई, अनि शुरु भयो मेरो अग्निपरिक्षा । भन्छन् नि, ओराली लागेको बाघलाई मृगले पनि खेद्छ , त्यती तल झारेको थियो मलाई बाध्यताले । जसलाई मैले केहि हप्ता अघी अरु कुनै केटीसँग तन साटिरहेको भेटाएकी थिएँ, उहि सोध्दैथियो त्यो दिन मलाई “आर यु स्योर त्यो मेरै हो ?”
” हेर्, मन त मलाई नि छ त्यो तेरो टेस्ट किटले नेगेटिभ भनेको पत्याउन, तर तेरो पिरियड्स नि भाको छैन । त्यही पत्याएर बस्दा फेरी पछी प्रेग्नेन्ट भन्ने था भो भने झान् गाह्रो हुन्छ म्यानेज गर्न । सो भोली त जसरि पनि हस्पिटल जानै पर्छ कान्छी तँ ! “
यो जिन्दगी पनि इमोसनल अत्याचार नै गर्छ, न कहिले उसलाई पुरै मनले माया गर्न दिन्छ, न घृणा । उसले चाहेको भए मलाई एक्लो छोड्न सक्थ्यो यो अप्ठ्यारोमा, तर उ भागेन । कती गाह्रो थियो र भाग्न ? डेरा छोड्यो, नम्बर फेर्यो, अनि फरार, तर उसले झेल्यो । मेरो त्यो फोनकल पछी उसले चिनेजतिका सबलाई सोध्यो होला गर्भ रहेको नरहेको पत्ता लगाउने र छ भने तुहाउने तरिका । म पनि चुपचाप उसलाई उपाय खोज्न दिन्छु । चाहेँ भने त उसलाई हरेक प्रहर फोन घुमाएर रुदैँ अत्ताउन सक्छु, तर म चुप छु, ताकी उसलाई कुनै तनाव नदिउँ । अनि आज उ बिस हजारको खर्च उठाउन पनि तयार छ, उसलाई आदर गर्ने इच्छा जागेको छ मनमा ।
तर जब उसले मलाई दिएको धोखा सम्झिन्छु तब…………………किन मन कोमल हुन दिँदैछु म ? उसले यो हालतमा मलाई सहायता दिनुमा के अचम्म छ ? मेरो गर्भ रह्यो भने म मात्र होईन, उ पनि त अप्ठेरोमा पर्छ नि । जुन गर्भ म भित्र हुनसक्छ, त्यो छाडेको पनि त उसैले हो । मेरो साथ दिनु उसको कर्तव्य हो, र बाध्यता पनि । केवल यसको आधारमा म फेरी आफुलाई कम्जोर बनाइ उसलाई बिश्वास गर्न सक्दिँन । विश्वास्, यो समस्याको मामिलामा भने मसँग उसलाई विश्वास गर्नुको बिकल्प पनि छैन ।
” भोली के एम सि जा, अनि चेक-अप गरा है, म गेटबाहिर लगेर छोड्दिन्छु ! “
के एम सि को गेट, जहाँ बाट हिँड्दा पनि मेरो आङ सिरिँग हुन्थ्यो, सोचेर कि म अब यही कलेजमा डाक्टरीको पढाइ गर्नेछु इन्त्रान्स पुरा भएपछी । तर भोलि, भोली म त्यँही जानेछु प्रेग्नेन्सी टेस्ट गराउन । किन त्यही हस्पिटल नजिक हुनुपर्ने सबिनको डेराबाट ? के तीनले सम्झेलान् मेरो मुहार ? तीनकै हस्पिटल मा कसरी पढ्न जाउँला म ? सपनाको महल भत्किँदा आवाज सुनिदैँन भन्थे, मेरो कल्पनामा भने दृश्यचित्र नै घुम्दैछ । तर अब पछुताएर के फाइदा जब बहकिँदा मेरा लक्ष्य र सपना सम्झिँन मैले…..
” तर सबिन, मलाई डक्टरले केहि सोध्यो भने ? डिटेल दिनुपर्ला, अन्म्यारिड भनेर कतै केहि हुने त हैन ? अनि म के आफैँ जानु ? तँ आउँदैनस ? “
” लौ, म किन आउनु नि ? लोग्ने होर म तेरो ? “
सायद बिर्सियो उसले, लोग्ने त उ मेरो तब पनि थिएन जब हामीले एक-अर्कालाई यौवन सुम्पिएका थियौँ…..
ऐना अघी उभिएर नियाल्दैछु आफैँलाई आज, तयार हुने मन पनि छैन । प्रेग्नेन्सी टेस्ट गराउन जादैँछु, कसरी मुख लुकाउँ भन्ने समयमा सिँगारिने सोच किन आउँथ्यो र ? ४ बजे हस्पिटल पुग्न भनेथ्यो सबिनले मलाई, म अझै यहिँ अल्मलिएकी छु । हुन त उसले दिएको समयको के चिन्ता, उ त आउने पनि छैन मेरो लागी त्यहाँँ ।
अनायासै मेरा हात आफ्नो तल्लो पेट छाम्न पुग्छन् । के यहाँँ साँच्चै कुनै प्राण छ ? टेस्ट गर्नु अघी नै यती भावुक हुनु नपर्ने हो म, तर खै किन, आफुभित्र कोही छ भन्ने सोचले पनि अर्कै महसुस गर्छु आज म । बल्ल बुझ्दैछु, फिल्मी शब्दमा किन ‘ मायाको चिनो ‘ भन्छन यसलाई, यसको आभास मात्रैले पनि कहिल्यै नफर्किने गरी सबिनबाट भागेकी मलाई उसैको अघी उभ्याइदियो । तर यसको बारेमा सोच्दा पनि ग्लानिले भरिन्छ मेरो मन । १८ वर्ष त धेरै अघी काटेको हो मेरो उमेरले, तर कानुनको नजरमा नाबालक नरहे पनि के यो उमेर होर मेरो, आफ्नो गर्भमा कसैलाई जीवन बुन्न दिने ? जीवन बुन्न के, म त यहाँ त्यसले जिवन पाउनु अघी नै त्यसलाई मार्ने योजना बुन्न विवश छु ।
कसैसँग उसको जीवन खोस्दैछु म, के यो अपराध होईन र ? हत्या होईन र ? यौवनको जोशमा बहकिने त हामी थियौँ, तब सजाय यसले किन पाउँदैछ ? मेरो सट्टा अरु नै कुनै गर्भमा बास बसेको भए त यसले एक जीवन पाउने थियो । सुखी वा दुखी, म भन्न सक्दिँन , तर एउटा जीवन त पाउने थियो कमसेकम । यसको भाविले धोखा दिएर मकहाँँ पठायो होला यसलाई, या सायद म नै अभागी हुँ कि यसलाई जीवन दिने सुख पाउन सक्दिँन । गाइनोकोलोगिस्ट बनेर आफ्नै हातले अनेकौँलाई नयाँ जीवन दिने सपना बोकेकी म आज सायद आफ्नै कोख खाली गर्दैछु । ‘ सायद ‘ यस अर्थमा कि टेस्टलाई अझै समय बाँकी छ र मेरो मनमा अलिकती आश पनि……
” टेस्ट गराएर पुलनिर आइपुगेर फोन गर् मलाई, म भोलिसम्म सिक्री बेचेर पैसा जम्मा गर्छु, बिस हजार जती त आउँछ होला, अलिअली नपुगे यताउता बाट थप्नु पर्छ । अबोर्सन गर्ने ठाउँ जाउँला त्यताबाट, अँध्यारो मै आइज भन्या छ । घरमा जेसुकै भनेर भए नि मिला, आज एकदिन घरमा कुरा मिल्यो भने भोलिबाट कसैले केहि सोध्ने डर नै भएन । त्यो अबोर्सन गर्ने बेला डराएर भाग्न चाँही नभाग् है ! “
” म किन भाग्नु, भाग्न लागेँ भने नि तँ हुन्छस नि रोक्न । “
” म किन हुनु, फिल्मको डेलिभरी सिन हो र तेरो हात समातेर बसिराख्न ? मलाई फस्नु छैन यो सबमा, तँलाई त्यहाँ छोडेर पेमेन्ट गरेर हिँड्छु म । सकेपछी तँलाई दुख्ने होला तर म्यानेज गर् । जसरि जा, जतासुकै जा, तर अबोर्सन भएपछी मेरो ड्युटी सकियो, बाँकी मेरो काम हैन । “
हिजो सबिनको र मेरो च्याट यती थियो । मन लागेन कि उसको सिक्री बेचाउँ म, अलिकती उसको मायाले, त अलिकती उसको मद्दत लिन नदिने मनमा बसेको घृणाले । त्यो भन्दा बढी त कसैको प्राण लिने ग्लानिले आत्तिएँ । मनमा अझै पनि आश थियो कि म भित्र कुनै गर्भा नहोला, तीन टेस्ट किट सम्झिँदै गुगल गर्न थालेँ अनेक उपाय, ढिलो भएको महिनावारी चाँडै निम्त्याउने । के के मात्र गरिँन र मैले गुगलको कुरा मानेर, पाउँ खाएँ, भिटामिन सि का ट्याब्लेट्, अनि आज बिहानै मिश्री पानी । यती राम्ररी बरु परिवारको कुरा मानेको भए यो दिन देख्नु पर्ने थिएन । आकाशमा दैव खोज्दै हात जोडेर आजसम्म कसैले आफ्नो महिनावारी मागेको थिएन होला, मैले मागेँ । चाहना यती नै थियो, मभित्र कुनै गर्भ नै नहोस्, कसैलाई मार्नु नै नपरोस्, र त्यसको प्राकृतिक प्रमाण आइपुगोस् म कहाँ । तर केहि भएन, म जानै पर्छ अब ।
” नानी ! “
हिँड्न तयार भएका मेरा पाइला टक्क अडिए आमाको पुकारले । आजकल डर लाग्छ मलाई उनको प्रश्नसँग, आफ्नो मनमा चोर जो छ ।
” तेरो लुगामा रगत जस्तो छ, छुइ भको होला, जा बाथरुम अनि फेर् लुगा पनि ! “
अरु दिन हुँदो हो त किचकिच गरेजस्तो लाग्थ्यो होला मलाई आमाको यो कुरा, तर आज यो जती मिठो अर्ती केहि लागेन, यो जती खुशीको खबर केहि लागेन । कन्फर्म गरेर, आमाको कुरा मानेर दौडिएँ म कौसी तिर । सबिनलाई सुनाउन फोन घुमाएँ । हरेक महिना यो पिडाले किन नारिको शरीर पाएँ जस्तो लाग्थ्यो, सोचेकी थिइँन कुनै दिन यही पिडा यती मिठो हुनेछ । सबिन पनि कम खुशी छैन यो सुनेर । उसले सिक्री बेच्नु परेन । तर म खुशी छु किनकी न मैले त्यो प्राणको हत्या गर्नुपर्यो, न आफ्नै भविष्यको ।
” कान्छी, सुन् न, अब त बच्चावाला टेन्सन नि सकियो, तँ मसँग फेरी बोलिस् पनि, क्लोज नि भाछौँ फेरि, मलाई भेट् न एकपटक । कस्सम यस्पाली पुरा ध्यान दिन्छु, प्रोटेक्सन लेर के कान्छि, आइज न है ! ”
फोन काट्न समय लागेन मलाई । उसको माया, उसको साथ, देखिसकेँ मैले सब । पुगिसक्यो मलाई यि सब नाटकको डोज । भन्छन् दोस्रो मौका कमैले पाउँछन्, मलाई दोस्रो मौका दिएको छ मेरो जीवनले, खेर जान दिनुछैन यसलाई । केहि क्षणको बेहोशीमा भविष्यलाई धरापमा पारेर हेरिसकेँ, अब यो सबमा अल्झिनु छैन । सबिनको नम्बर फेरी ब्लक गरेर ओर्लिएँ तल । पढ्नु छ इन्ट्रान्स लाई, गाइनोकोलोगिस्ट बन्नु छ, यिनै हातले कती साना साना शरीरलाई डोर्याउनु छ यो संसारमा, जीवित ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)