~तीर्थ श्रेष्ठ~
बासनारहित
तर प्लाष्टिक होइनौ
तिमी लाहुरे फूल !
म यतिखेर
युद्धमा क्षत–विक्षत
मेरा पति संझिरहेकी छु
काँचो धागोले बेरिएको चिठ्ठी
लास गन्हाउने पेन्सन
त्यही पेन्सनको आडमा बाँचेको जिन्दगी
जेनतेन सोचिरहेकी छु
मेरो पतिको जिन्दगी भरिको कमाइ
म विधवाको टाउको लुकाउने थलो
र त्यसकै ढोकाअघि निर्लज्ज
फक्रिरहेको
तिमी लाहुरे फूल !
भो भैगो कति नुनचुक छर्छौ
– यो घाउमा
धेरै भयो जिन्दगी नै घाउ भएको
धेरै भयो जिन्दगी नै पीडा भएको
एकछिन सुस्ताउन देऊ
लाहुरे फूल !
म घाउको पत्र पल्टाएर
सन्धिको इतिहास फेर्न चाहन्छु
म घाउ थमथम्याएर
रगतको ब्यापार बन्द गर्न चाहन्छु
म इतिहासको यो कालो पानालाई च्यातेर
फाल्न चाहन्छु
पर्ख ! लाहुरे फूल,
म तिम्रो नाम फेर्न चाहान्छु ।