~मनु ब्राजाकी~
कहाँसम्म पुगिएला यसैगरी खोच्याएर
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर ।
आवारा झैं भएपछि डुलुवा यो मन बोकी
आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर ।
फाँट बेंसी गाउँघरमा छँदा कति ठुलो थिएँ
धेरैमाथी पुगें क्यारे आफूलाई होच्याएर ।
मन चोर्ने बोल्या छैन, धन चोर्ने चाँही आज
साधु बनी बसेको छ कोकोहोलो मच्चाएर ।
ईश्वरसँग हिँड्यौ भने स्वर्ग पक्कै पुग्छौ होला
घर पुग्नु परे हिँड मनुलाई पछ्याएर ।
(रचना – १२ पौष २०६८ बि.सम्बत्)
-सैँबु, भैँसेपाटी, ललितपुर