~साम्ब ढकाल~
अन्नपूर्ण संरक्षण कोषको संरक्षण कविता यात्राले जुराइदिएको यात्राका रसिक कविहरू थिए । अजङ्गका चट्टाने पहाडको काखै-काख रेखिएको गोरेटोमा गोराहरूको दोहोरीलत्तो थियो । ढेस्सिएर हिँड्नुपर्ने । खोकिलामा हिमाली जडीबुटीको खुद्रापसल थाप्न र कलिला केटाकेटीलाई च्यापेर पढाउन बेँसी झरेका थिए, गाउँलेहरू । ढाडमा मरिकुच्चे भारीले लादिएर दुवै कन्चटबाट तर्तरी पसिनाको मस्र्याङदी बगाउने भरियाहरू पनि बाटामा भेटिए । त्यो लर्कनमा अनगिन्ती सपनाका बथान थिए ।
सेपिला खोँचबाट हाम्फालेका निख्खर सेता झरनाले हिँडाइको लखतरानलाई बिर्साइदियो । आकाश छुन हतारिएका पहाडले कतिपल्ट मन एकतमासको पनि बनायो । पदमार्गले कुनाकाप्चालाई सुगम बनायो । यस्तो घुमाइले मान्छेले सभ्यता र संस्कारलाई सँगै हिँडायो । एउटा भ्रमण सयौं किताब पढेभन्दा लाभकारी हुन्छ ।
लमजुङ र मनाङको सीमातालबाट हामीले कविता यात्रा सुरु गर्यौं । शिक्षाको दीयो बनेर बसेको थियो, यहाँको भानु मावि । तल मस्र्याङदी मडारिएको थियो । त्यहीं भेटिएका थिए, प्रधानाध्यापक हेम कार्की । उनको मनमा दुखेसो थियो, ‘मस्र्याङदीले कतिखेर स्कुलको आँगन, भित्ता र केटाकेटी रमाउने चउर भत्काउँछ भन्ने डर पालेर स्कुल रुँगिरहेका छौं ।’
स्यागेमा पहिलो रात कटाएपछि अर्को बासको मेसो मिलेको थियो, धारापानीमा । गोठभरि गाईभैंसी थिएनन् । याक, झुप्पा, गधा र घोडाले त्यो ठाउँ लिएको थियो । जति-जति उचाइ बढ्छ, त्यति-त्यति छानेशैलीका घरहरू क्रमशः मुन्डाशैलीमा देखिन्थे । टाकुरैपिच्छे माने र ध्वजापताका टाँगिएको थियो । हिउँले खाएको पातलो जंगल, होचा पोथ्रापोथ्री, धुपीका झ्याङ पहाडका आङभरि लडिबुडी खेलिरहेका थिए ।
स्याागे, च्याम्जे, ताल, धारापानी, बगरछाप, दानाक्यु र तिमाङ हुँदै हामी चामेको बाटो उक्लिरहेका थियौं । हिमालहरू चिसो ओढिरहेका देखिन्थे । एक्लै कहीं पुग्न हतारिएझैं महान सुसाइ बोकेर हिँडेको मस्र्याङदीले चामेलाई फनक्क बेरेको थियो । हल्का पातलो कुहिरोले चामे ओथारो बसेको कुखुराजस्तो भान हुन्थ्यो । ओसले भिजेका टारबारीमा स्याउका बोटभरि खिन्याउरा दानामात्र भेटिन्थे । पहरो कपेर मनाङ लैजाने सडकले पैदल यात्रुका सम्हालेका पाइलालाई लम्मेयात्राको शुभकामना बाँडिरहेको थियो । बल्ल चामे पुगेपछि मात्रै देखियो, फराकिलो आकाश ।
वरिपरि घेरिएका बलौटे बनावटका सुख्खा, अग्ला-होचा टाकुराशबीचको हुम्दे एयरपोर्टले शौखिन यात्रामा रौसिएका उतारिरहेको थियो ।
अक्करे भीर, पहाडको काखैमा टाँसिएर बसेका पातला घरहरू, हातमा माला जप्दै गुम्बा घुमिरहेका बूढाबूढीलाई नजिकबाट पढ्दै हामीले कविता यात्रालाई निरन्तरता दिइरहयौं । हिमाली हावाको झोक्कालाई छेक्नेगरी अन्नपूर्णमा चरण-चरणमा कविता सुन्ने-सुनाउने काम निरन्तर चलिरहयो । हिँडाइ र कविता संयोग रमाइलो थियो । सिर्जनाले थकानलाई मेट्थ्यो । जब हिँड्न थालिन्थ्यो, फेरि सिर्जनाका विषयवस्तु सबैका मनमा मडारिएर आउँथे । कविता सुन्नेमा थिए, कलिला बालबालिका, तिनका गुरुहरू र त्यहाँका वासिन्दा ।
कविता कार्यक्रम सकिएपछि थालिएको थियो, थोराङको यात्रा । याकखर्कको तपाइलो गोरेटो र फेदी पुग्दा ढुङ्गा गुल्टिने भयानक भीरमा सम्हालिँदै हिँडेका थिए कविहरू । ज्यान त बचाउनैपर्यो । मिर्मिरेमा नहिँडे पार गर्न गाह्रोमात्र होइन, लेक लाग्ने समस्या साथीहरूले सम्झाइरहेका थिए । हावाको बेजोड बहाव थेग्न मुस्किल पर्ने कुरा पटक-पटक दोहोर्याएका थिए । त्रासद्युक्त थोराङलापासलाई पाइतालाले नाप्न हामीले आफूभित्र आँटको अर्को थोराङलापास उभ्याएका थियौं । र ५ हजार ४ सय १६ मिटर अग्लो हिमाच्छादित प्रदेशको अपार हिउँ रासमाथिको यात्रा थालेका थियौं । ट्रेकिङको भाषामा बाल्कोनी रूट मानिएको यो थोराङलापास पार गर्नेहरूको घुइँचो देख्दा लाग्थ्यो, यो भूगोलका सबै मान्छे यही थोराङलापास आएका छन् । बाटामा पर्ने सबै टाकुरा हिउँले छोपिएका थिए । यस्तो सेताम्मे थियो, मानौं हामी हिउँकै गाउँ, हिउँकै संसार, पुगेका छौं । हिउँकै बस्ती, चोक र गल्लीबाट हिँड्दा साहसिक यात्रा पूरा गरेको आनन्द मनभित्र थियो ।
हिमालको अग्लाइसँगै बढेको थियो, श्वास-प्रश्वास र त्यसबाट प्राप्त हुने चरम आनन्द व्यक्त गर्न शब्दको अनिकाल पर्दोरहेछ । भावको खडेरी लाग्दोरहेछ । सहयात्री कविहरू भीष्म उप्रेती, रमेश श्रेष्ठ, ओम रोदन, मणि लोहनी, ठाकुर बेल्वासे, दूर्गा बाबा, उज्ज्वल र यज्ञ स्याँस्याँ र फयाँफयाँ गर्दै उक्लिरहेका थिए, थोराङलापास टेक्न । जब टेकियो, खुसीको सीमा खपिसाध्येको थिएन । खुसी भनिसाध्येको थिएन । गोराहरू अंकमाल गर्थे, चिच्याउँथे । ध्यानस्थ थोराङपिक र याकपिकको हिउँमय टाकुरीमा अल्झेका बादलका टुक्राहरू हेर्दै रमाउनेहरू देख्दा लाग्थ्यो, खुसी हुने ठाउँ यो पर्तिर केही छैन ।
(स्रोत : Pustaksansar.com)