~देश सुब्बा~
म यताको कोसेली पठाउँदैछु
एक बट्टा समय छ
त्यो बट्टामा पसिनाको मूल्य छ
समुद्रको वासना छ बाहिर
मरूभूमिको बालुवा छ भित्र
यता बग्ने
हावामा वरपिपलको वासना आउँदैन
समुद्रमा तिते माछा पनि पाइन्दैन
समय महँगो छ यहाँ
आफूसित भएको समय
बेच्यो भने
मुस्किलले खान पुग्छ
त्यसबाट
अलिकति बचाएको तिमीलाई पठाएँ है
हामी पैसामा डुबेका हुँदैनौ
प्रिया
पसिनाले निचोरिएका हुन्छौ
गालीले गलेका हुन्छौ
त्यसमा स्वाभिमान गालिन्दा
कस्तो हुन्छ तिमीलाई थाहा छ
ती सबैलाई चिसाउने
पानी पर्समा राखेको छु
पर्समा भएको तिम्रो तस्वीर
निकाल्छु र
बगाउँछु सबै धुलोमैलो
एकछिन भएपनि तस्बीरमै सुन्दर घर
बनाउँछु
अस्ति मसित काम गर्ने साथी
सुतेर नै यो संसारबाट बिदा भयो
यो घटनाले म धेरैदिन दुःखें
उसका पनि सपना थिए,
भन्थे, “नेपाल गएपछि अब आउँदिन”
प्रिया ऊ यता नआउने गरी गयो
तर नेपाल गएन संसारबाटै गयो
यो घटनाले तिमी मुटु नफुटाउनु
हल्लिन त हल्लिन्छ पक्कै
म यस्तो भइहाले
सम्झिन्छु वरपिपल
सम्झिन्छु तिम्रो ऐंसेलु
काँडामा अल्झेको पछयौरी
चिप्लेटी ढुङ्गामा चिप्लिएका खुट्टा
ऐंसेलु र बयर जोडेर
खाएको स्वादिलो समय
आमालाईभन्दा धेरै तिमीलाई
सम्झिन्छु
मेरो मुटुमा कसरी तिमीले जम्ने तलाउ
बनायौ
छेउछेउमा सेता फूलहरू छन्
कसरी बिर्सिन सक्छु
गोधली हुनुपर्छ समय
कुनै गोठालाले बजाएको बाँसुरीको धुन
त्यो ‘बेला’ तिहारमा फुल्ने
फूलभन्दा मोहक लाग्छ
सुनको टुक्रासित तुलना हुन सक्दैन
त्यो प्रिया
बालुवाको पैसाले त्यो समय किन्न
पनि सकिन्दैन
सम्झिन्छु हामीसित अनमोल समय
थिएछ
हिराजवाहरतले किन्न नसक्ने गाउँले
सुन थिएछ
प्रेमको ढुकुटीमा भएको प्रेमले
साँझबिहान पानी हाल्दै बचाएको छ
मलाई
जीवनको सास त्यसैमा अडेको छ
प्रिया मैले
साँचेका ती कम्ती समयलाई
कसैको हातमा नसुम्पिनु है
सुम्पिएको दिन मेरो सास चुटिन्छ
मेरो साथीको सास यसरी नै
चुटिएको हुन सक्छ
पर्खिनु जीवनको घाम रहिन्जेल
घाम अस्ताउन अगाडि नै आउनेछु
तिमीलाई दिएको वाचाको म
हत्यारा हुन सक्दिनँ
तिमीले गरेको प्रतिक्षालाई
खडेरीमा डढाउन सक्दिनँ
मलाई यो चमकदार शहरसँग वाक्क
लागेको छ
लालीपाउटरको जीवनसँग भाग्न मन
लागेको छ
सोकेशको खेलौना हुन सक्दिन होला
केही जेथा बोकेर आउने धोकोमा
यतै जीवन अल्झाएँ
अब पनि अल्झाए भने सधैंलाई
अल्झिने छु
भोकविलासले बाँध्न खोजिरहेकोछ
भोकविलास सबै चुटाएर ।