निबन्ध : मुस्ताङ एडभेन्ट

~गनेस पौडेल~

दिमागमा कुनै तिब्बती तान्त्रिकको कथा थियो, जसलाई म मुस्ताङको कुनै गुम्बाको लामा बनाउन चाहन्थेँ । उपयुक्त गुम्बा हन्टिङका लागि भदौको तेस्रो साता मुस्ताङ बाइकिङ गर्ने योजना बन्यो । तर निर्धारित दिन नआउँदै अवरोधक जानकारी आयो, ‘बेनीदेखि १० किलोमिटरमाथि बेगखोलाको पुल बाढीले बगाइदिएको छ । बाइक त के जिप समेत जान सक्ने सम्भावना छैन ।’ पाँच दिन लगातार पर्खिएपछि बेगखोलाको वेग थोरबहुत मत्थर भएको सूचना आयो । सूचना आउनेबित्तिकै केही दिनयताको अशान्त मन बोकेर भदौ मसान्तमा घरबाट हिडेँ ।

सात वर्षअगाडि पहिलोपटक मुस्ताङ बाइकिङ गरेको थिएँ । दशैंको माहौल थियो । तर गाउँमा दशैं थिएन । मुक्तिनाथ दर्शनका लागि हिडेँका गाउँलेहरू जिप दुर्घटनामा परी सामूहिक ज्यान गुमाएको अवस्था थियो । दुर्घटनाको प्रकृति र त्यसको न्यारेटिभ यति दर्दनाक थियो कि घरका मान्छेले मुस्ताङ बाइकमा जान अनुमति दिने अवस्था नै थिएन । तैपनि ४ थान बाइकमा सात थान मनुवाहरू मुस्ताङको बाटो नाप्न निस्केका थियौं । तिनताकाको बाटो यति भयानक थियो कि मान्छेले भन्ने रियल एडभेन्चरको अनुभूति भएको थियो । तल छङ्गाछुर कालीको भीर छ ।

माथि पहिरो खसिरहेको पहाड । बीचमा हिलाम्मे, साँघुरो चिप्लो बाटो । अहिले पनि भीर र पहाडको अवस्था उस्तै छ तर बाटोले कायापलट गरिसकेको छ ।

यसपटक म एकलै बाइकमा निस्केँ । बाटोको पुरानै चित्र आँखामा थियो । त्यसैले यसपटक झन् ठूलो एडभेन्चरको अनुभूति हुँदै थियो । तर बेनीबाट मास्तिर लाग्ने बित्तिकै थाहा भयो मुस्ताङ जाने बाटो पहिलेजस्तो एडभेन्चरस छैन । नाला र बाटो निर्माणमा खटिएका मजदुरलाई ठाउँ ठाउँमा देख्न सकिन्छ । बाटोका ठामठाममा बुलडोजरहरू खटिएका छन् । ट्र्याक्टर र ट्रकले निर्माण सामग्री ढुवानी गरिरहेका छन् । मुस्ताङको बाटोले पिच पर्खेर बसेको छ ।

बेनीदेखि मुस्ताङसम्मका प्रायः सबै खोलामा बेलीब्रिज हालिएको छ । बाटो चाक्लो पारिएको छ । ग्राभेलिङले हिलोलाई छोपेको छ । घाम लागेर बाटो सुक्खा भएको बेलामा ग्राउन्ड क्लियरेन्स कम भएका ट्याक्सीहरू समेत सजिलै ओहोदोहर गर्न सक्ने स–साना खाल्डा मात्रै छन् । जति जति माथि गयो बाटो उति राम्रो छ । मार्फादेखि माथिको बाटोमा त ४०÷५० किलोमिटर प्रतिघण्टाको दरले बाइक हुँइकाउन सकिन्छ ।

पहिलोपटक आउँदा कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा भयानक थियो । अन्यन्त ठाडो बाटोमा डबल लोड नतानेर ठाउँ ठाउँमा एकजना ओर्लर्दै धकेल्दै गरेका थियौं । कपाल खौरला जस्ता धारिला ढुंगाहरू बाटैभरि थिए । ‘धर्म भएकाले उक्लन सक्ने, पापीले कट्न नसक्ने’ किंवदन्ती भएको कागबेनी–मुक्तिनाथको ‘धर्म उकाली’ अब किंवदन्तीमै सीतित भएको छ । समग्र मुस्ताङ जिल्लाकै सबैभन्दा राम्रो बाटो यही उकालोमा बिछ्याइएको छ । चिम्ट्याइलो माटोले बनेको पहाड भएकाले खनिएको बाटोमा पानीको निकास लगाइएको छ । बाटोमा ग्राभेलिङ गरिएको छ । हाइवे स्तरमा चाक्लो पारिएको छ । तल कालीगण्डकीबाट बालुवा ल्याएर सिमेन्टका छेकवार लगाइएको छ । अबको एकदुई वर्षमा मुस्ताङ जिल्लाकै पहिलो पिच बाटो हुने अवसर यसले पाउँछ भन्ने अनुमान गर्न सकिन्छ ।

बाटोले मात्रै होइन मुस्ताङ जिल्लाको रूपान्तरणमा कृषिले पनि भूमिका खेलेको छ । परम्परागत उवा, तोरी, फापर, गहुँ, आलु आदि बाली लगाइने बारीमा अचेल स्याउका बोटहरू हुर्किरहेका छन् । आवधिक खेती गर्ने कामदार पाइन छोडेकाले किसानले बारीमा स्याउ रोप्न थालेका हुन् । स्थानीयहरूको मुख्य पेशा पर्यटन, व्यापार हुन थालेकाले पनि आवधिक खेतीप्रतिको आकर्षण कम भएको हो । मुस्ताङका धेरैजसो घरमा मान्छेहरू युरोप र अमेरिकामा छन् । अध्ययन र वैदेशिक रोजगारीका लागि गएका तिनीहरूको ज्ञान, सीप र अनुभवले पनि मुस्ताङको रूपान्तरणमा भूमिका खेलेको छ ।

मुस्ताङका समथर जस्तो परेका हरेक जमिनमा पानी पुर्‌याउने जोहो गरिएको छ । सिँचाइका लागि कालीगण्डकीका दजनौं क्यापिलरीलाई भरमग्दुर प्रयोग गरिएको छ । सके नहर नसके ठूल्ठूला पाइप प्रयोग गरेर बन्जर जमिन भिजाइएको छ । पाइपले गरिने सिँचाइले गर्दा उबडखावड बाटोबाट पनि पानीलाई बारीमा पुर्‌याउन सकिन्छ । सिँचित जमिनमा रोपिएका स्याउका हुर्कौला पोथ्राहरूले अबको दश वर्षपछिको मुस्ताङको रूप फेर्ने कुरा अनुमान गर्न सकिन्छ ।

हिमाल पारीको जिल्ला मुस्ताङ चिसो मरुभूमिका रूपमा विख्यात छ । तर प्राकृतिक मरुभूमिमा मानवीकृत हरियालीको हस्तक्षेप बढ्दो दरमा छ । प्राकृतिक धूपी र सल्लाको जङ्गल मार्फातिरै सकिन्छ । तर स्याउ, बैंश र भोटे पिपलको मानवीकृत जङ्गलले मुस्ताङको हरियाली ह्वात्तै बढाएको छ । सात वर्ष पहिलेसम्म मुक्तिनाथ क्षेत्र र नजिकै रानीपौवा बजारमा गिन्तीका केही रूख थिए । अहिले बाक्लो वनको झल्को दिने गरी अनगिन्ती रूख बढाइएका छन् । मुस्ताङका पशुपालनको आकर्षण नराम्ररी घटेको छ । यातायातको सुविधाले घोडा, खच्चड र गधा पाल्न छोडेका छन् । भेडा, च्याङ्ग्रा, झोपा, चौंरीको माग समेत डोल्पाले धान्न थालेको छ । लेकाली घाँस चर्ने पालुवा पशुको संख्या घट्दै गएकाले होला, अचेल पहाडहरू पनि घाँसे–हरियाली देख्न सकिन्छ ।

सात वर्षपहिले ‘धर्म उकाली’मा भएका विशाल चौरहरू पूरै ठूल्ठूला चुच्चे ढुंगाले भरिएका थिए । अहिले ती ढुंगालाई निर्माणमा प्रयोग गरिएकोले चौर पूरै खाली छ । चौरहरू जंगली धूपीका झुप्पाहरूले भरिएर हरिया देखिन्छन् । उत्तरपट्टिको चौरमा एउटा ठूलो स्याउ फार्म भर्खर सञ्चालनमा आएको छ । दक्षिणतिरका दुई चौरमा बाटोको नाला सोझ्याइएको छ । नालामा पानी बग्न थाल्नेबित्तिकै त्यहाँ पनि सामुदायिक स्याउ फार्म स्थापना हुने छाकछन्द देख्न सकिन्छ ।

बाटोले मात्रै होइन, मुस्ताङ जिल्लाको रूपान्तरणमा कृषिले पनि भूमिका खेलेको छ । परम्परागत उवा, तोरी, फापर, गहुँ, आलु आदि बाली लगाइने बारीमा अचेल स्याउका बोटहरू हुर्किरहेका छन् ।

विदेशीले लगभग पचास हजार प्रवेश शुल्क तिरेर हेर्ने उपल्लो मुस्ताङ सित्तैमा पाउँदा किन नहेर्ने ? यही प्रश्नले होला, बाटोभरी नेपाली पर्यटकहरू प्रशस्त देखिए । विदेशी र स्वदेशीको सरोवरी थिए । त्यसो यो समय मुस्ताङमा च्याङ्ग्रा र भेडाको ठूलो व्यापार हुन्छ । सायद यसैले पनि नेपालीको तादाम्य ज्यादा देखिएको होला । व्यापारीहरू ज्यादातर जिपमा यात्रा गर्दा रहेछन् । त्यसो त पैदल, साइकल, मोटरसाइकल र जिप सबै यात्रीका आ–आफ्ना रोमाञ्चकता हुन्छन् ।

जान्नेहरू भन्छन्, कागबेनी मास्तिरको परिचय नै खासमा मुस्ताङको परिचय हो । कागबेनी मुन्तिरबाट जे मुस्ताङ देखिन्छ त्यो निथार पहिचान हो, मूल पहिचान होइन । सदरमुकाम जोमसोम, मार्फा र त्यस सेरोफेरोको टुकुचे, कोवाङ, कुञ्जो र लेतेमा मुलतः थकाली संस्कृति हावी छ भने कागबेनी मास्तिरको मुक्तिनाथ, झोङ, छुसाङ, घमी, चराङ, लोमान्थाङ, छोन्हुप, सुर्खाङ र छोसेरमा तिब्बती संस्कृतिको नेपाली संस्करण देख्न पाइन्छ । आधुनिक शिक्षा, सञ्चार र यातायातले पनि आजका मितिसम्म बिगार्न नसकेको जीवित ल्होपा संस्कृतिको सकल स्वरूपको झल्को पाउन पनि उपल्लो मुस्ताङ जानै पर्छ ।

तर कागबेनीमाथिको छुसाङ कटेर माथि जान सजिलो छैन । प्रवेशद्वारमै बाटोले सातो लिन्छ । कागबेनीदेखि चराङसम्मको बाटो डरलाग्दो छ । यो बाटोमा सार्वजनिक सवारीमा चारपांग्रे जिप चल्छन् । कहाली लाग्ने भीर काटेर बनाइएका साँघुरो बाटोमा दोहोरो मोटर पास हुने ठाउँ कतै कतै मात्रै छन् । सानो गल्ली भयो भने गल्ती सच्याउने अवसर समेत नपाइने अग्ला अग्ला पहाडको गल्छेडाबाट बाटो घुसाइएको छ । तर चराङ मास्तिर लागेपछि भने बाटो तेर्पायाँ तेर्पायाँ छ । लगभग समथर । लोमान्थाङबाट वरपरका सबै गाउँमा जाने बाटो पनि सुरक्षित र सजिला छन् ।

लोमान्थाङलाई छोएर बसेका चराङ, छोन्हुप, छोसेर र सर्खाङको जनजीवन मुस्ताङे संस्कृतिको मूल जरो हो । तर उपल्लो मुस्ताङको माटोलाई मोटरले कुच्चेपछि लोमान्थाङ क्षेत्र तीव्र शहरीकरणको चपेटामा छ । मान्छेहरूले खच्चड र गधा त पाल्नै छाडेका छन् । दश वर्ष अघिसम्म लोमान्थाङका बासिन्दालाई अन्न बोकेका खच्चड र गधा अहिले छँदै छैनन् । तिनीहरूलाई डोल्पा र रुकुमतिर बेचिएको बताउँछन् स्थानीय नोर्बु वाङचुक । मुस्ताङे संस्कृतिको अभिन्न अङ्ग हो घोडा ।

यहाँ वर्षेनि घोडा दौडको मेला पनि लाग्छ । तर घोडाहरू देखिन्नन् पहिले जसरी गिन्तीमा । घोडा पाल्ने आवश्यकता घट्दै जानुले मुस्ताङको संस्कृतिमा कस्तो प्रभाव पार्छ ? जो कोहीले अनुमान गर्न सक्छ । समरमाथिका प्रायः सबै घरमा अहिले चिनियाँ मोटरसाइकल देख्न पाइन्छ । बिल बुक र नम्बरप्लेटविहीन अर्थात् बिनादर्ताका चिनियाँ भट्भटेले घोडालाई नराम्ररी विस्थापित गरिरहेको छ ।

पोखरेलीहरूका माझ दशैंको मुख्य सपिङ हो, मुस्ताङे च्याङ्ग्रा । भेडा र बाख्राभन्दा पनि च्याङ्ग्राको आकर्षण बढी हुन्छ दशैंमा । तर आजकाल जोमसोम हुँदै जति खसीहरू पोखरा र अन्यत्र लगिन्छन् तिनीहरूमध्ये अधिकांश मुस्ताङका होइनन् । ‘मुस्ताङे लोकल’ भनेर बेचिने यी खसी च्याङ्ग्राहरू अधिकांशतः तिब्बतबाट अनधिकृत रूपमा भित्रिन्छन् । छोसेर मास्तिर सानो भन्सार छ तर भन्सारमा भन्सारका कर्मचारी छैनन् । भन्सारको अफिस धानेर बसेका एक प्रहरी सुरक्षाकर्मीका अनुसार व्यापारीहरू ‘एक सय खसी बोर्डरतिर चराउन लैजान्छन् । फर्किदा दुई सय ल्याउँछन् । हुलको खसी गन्ने कुरा र गन्न सक्ने कुरा पनि भएन ।’

भेडा च्याङ्ग्राको अर्को ठूलो हिस्सा डोल्पाले ओगटेको छ । पोखरेलीहरू ‘डोल्पाली च्याङ्ग्राले नुन बोक्छ । मिठो हुन्न ।’ भन्छन् । तर डोल्पाली च्याङ्ग्रा पनि जोमसोम उत्रेर पोखरा ओर्लिएका हुन्छन् भन्ने कुरा कतिलाई थाहै हुन्न । डोल्पाबाट भेडा च्याङ्ग्रा मात्रै होइन, चौरी, नाक, याक पनि आउँछन् । तिहारको बेलातिर मुस्ताङेले घरमा एउटा याक काट्छन् । मैले बाटोमा डोल्पाबाट ल्याइएका दर्जनौं याकहरू पनि देखेँ । यो वर्ष रोज्जा याकको मूल्य घटीमा एक लाख तीस हजार पुगेको डोल्पाली पशु व्यवसायी सुवास साहीले बताए ।

मुस्ताङको विकासको मुख्य साधक र बाधक कालीगण्डकी हो । वर्षेनि देखिने कालीको कहरलाई न्यूनीकरण गर्न सकिएन भने नदीको कोरिडोरमा बसेका तमाम बस्तीको भविष्य जोखिममा पर्छ । पोहोर मात्रै मुस्ताङ छिर्ने बाटोमा पर्ने बैशरीको पुरै बस्ती कालीगण्डकीले बगायो । यही भदौमा बेग खोलाले नजिकका सबै घर बगाएर लग्यो । कालीगण्डकीमा आउने अप्रत्याशित बाढीका कारण छुसाँङको खेतीयोग्य जमिन काटेको छ । यसले नजिकैको बस्तीलाई पनि धम्की दिएको देख्न सकिन्छ । कागबेनीमा कङ्क्रिट तटबन्ध गरिएको भए पनि सुरक्षा खतरालाई तटबन्ध पूर्णतया रोकेको विश्वास गर्न सकिन्न ।

मुस्ताङ पस्नेबित्तिकै यसमाथिको वैदेशिक चासो छरपस्ट देखिन्छ । यहाँका मिस्टिक गुम्बाहरूमा लगानी गरेर भारतले धार्मिक कूटनीतिमा हात हालेको छ । अमेरिकन हिमालयन फाउन्डेसनले मुस्ताङका पुरातात्विक र सांस्कृतिक सम्पदामा लगानी गरेको छ । दुवै देश कूटनीतिको विशेष अर्थ लगाएको चीनले भने भौतिक विकासमा लगानी गरेको छ । मुस्ताङको सांस्कृतिक सदरमुकाम लोमान्थाङका घरमा बल्ने बिजुलीको प्लान्ट चीनले हालेको हो । यसै वर्ष मात्रै चीनले उपल्लो मुस्ताङका संवेदनशील गाविसका घरघरमा टिभी चलाउन मिल्ने सोलार, २० बोरा सिमेन्ट र केही जस्तापाता बाँडेको थियो । धर्म, संस्कृति र भौतिकताको नामबाट भएका त्रिकोणात्मक कूटनीतिक लगानीको द्वन्द्वात्मक फाइदा उठाइरहेको छ, मुस्ताङ ।

यो हप्ता म लुरी जाँदै छु । तिब्बती शरणार्थी विद्रोहको एउटा हिस्सा । भन्नेहरू धार्मिक गुरु दलाई लामालाई यसै ठाउँमा लुकाएको थियो पनि भन्छन् । तर तथ्यले जे भने पनि लुरी गोम्पाकै वरपरको कुनै पहाडी गुम्बामा मेरो काल्पनिक गुम्बा बन्ने छ । जहाँ मेरो तिब्बती तान्त्रिकको होमेज हुने छ ।

शनिवार, असोज १५, २०७३

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.