~अविर खालिङ~
तिर्खा सुतेर हरेक
अनिंद्राका रातहरू
जब
ऐंठन व्युँझन्छन्
काँशका फ़ूलहरू
कहीं झरिसक्छन्
एउटा इतिहास खोजेर
बगर उदास
हाँसेको हुन्छ
उसको बलात्कृत
ऐकान्तिकता रोइरहेको
हुन्छ।
सपना बोकेर
बगेका गौरवशाली यात्राहरू
मान्छेका पाइलामुनि
पूरिइए
त्यो पवित्रता
कसकोनिम्ति
तिरोहित भो।
नदेख्नु रहेछ
पानीले सपना
मान्छेहरूको बस्तिमा।
त्यो नैसर्गिक गति,
त्यो रूमानी पल
खै कहाँ चुहयो ?
स्वतंत्रताको त्यो गीत
खै कसले
बन्द गर्यो ?