~नेत्रबहादुर कुँवर ‘अशोक’~
नेताज्यू !
मैले पढेको छु तिम्रो घोषणा पत्र
लेखिएका थिए काला काला अक्षरहरूमा
देश यस्तो हुने छ
देश उस्तो हुने छ
बनाइएको थियो नक्सा
कोरेर राजमार्ग, हवाई मार्गका रेखा
तयार पारिएको थियो नयाँ नेपालको खाका ।
नेताज्यू !
मैले पढेको छु तिम्रो घोषणा पत्र
लेखिएका थिए काला काला अक्षरहरूमा
जनतालाई मुग्ध पार्ने नाराहरू
भनिएको थियो
देश गरि खानेकै हो
घन्काइएको थियो
गणतन्त्र, लोकतन्त्रको सङ्गीत
गरिएका थिए हजारौँ प्रतिबद्धता ।
नेताज्यू !
मैले पढेको छु तिम्रो घोषणा पत्र
लेखिएका थिए काला काला अक्षरहरूमा
मानव अधिकार, स्वतन्त्रता, भ्रातृत्व, न्याय
परिकल्पना गरिएको थियो
भविष्यको विकसित नेपाल
जनतालाई मक्ख पार्ने शैलीमा
उठाइएका थिए
राष्ट्रिय गौरवका सवालहरू ।
नेताज्यू !
मैले पढेको छु तिम्रो घोषणा पत्र
लेखिएका थिए काला काला अक्षरहरूमा
जनताका दुःखकष्ट
तिम्रै दुःखकष्ट हुने छन्
भोकाले भोजन पाउने छन्
वर्ग, जात, लिङ्गका आधारमा
विभेद गरिने छैन
सबैले समान अधिकार पाउने छन्
जनताका निम्ति राष्ट्र राष्ट्र जस्तै हुने छ
गर्दन गुमाउन तयार हुने छौ
तर
राष्ट्रको स्वाभिमान झुक्न दिँदैनौ ।
नेताज्यू !
मैले पढेको छु तिम्रो घोषणा पत्र
फुर्सद मिले तिमीले पनि पढ्नू
हेर्नू र मूल्याङ्कन गर्नू
कति पुरा ग¥यौ तिमीले आफ्ना प्रतिबद्धता ?
कतिसम्म बन्न सक्यौ जनमुखी ?
होस गर
फर्कनु छ फेरि जनता समक्ष
माग्नु छ भोट
यस पटक भोट माग्दा
तिम्रो फोस्रो घोषणा पत्र देखाएर
जनताले नलखेटून् तिमीलाई
आँगनबाटै
नलगाऊन् जुत्ताको माला
तिम्रो घोषणा पत्रका
काला काला अक्षरहरूलाई देखाउँदै
नपोतून् कालोमोसो
तिम्रो मुखैभरि ।
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )