लघुकथा : जननेताको पराजय

~डा. कपिलदेव लामिछाने~Dr. Kapil Dev Lamichhane

चुनाउ प्रचारका बेलामा उनका पक्षमा व्यापक र स्वाभाविक जनलहर देखियो । घरदैलो कार्यक्रम लिएर उनी जहाँ जहाँ पुगे, मान्छेहरू अघि अघि ठेलमठेल भए । जनताका सुख दुखमा उनी जीवन भर सधैँ साथमा हुन्थे । उनलाई पूर्ण विश्वास भएको थियो– उनी पक्का जित्छन् । सबै त्यही भन्थे ।

उनको भन्दा जनताको जिताउने बढी चाहना थियो । प्रतिस्पर्धी नेतालाई निद्रा लागेन । जनविश्वास आफ्ना साथमा नभएको उनले निष्कर्ष निकाले । चुनाउ हुन्छ कि हुन्न– हुन्छ कि हुन्न भन्दाभन्दै चुनाउ भइछाड्यो । मतदानमा जनताको उत्साहजनक सहभागिता देखापर्‍यो । उनले जनताका अनुहारमा उत्साहभन्दा ममता पढे । किन यस्तो ? उनले ठम्याउन सकेनन् ।मतगणना सुरु भयो, तर उनले अग्रता लिन सकेनन् । मलिनो अनुहार लिएर उनी आफ्नै निवासमा पुगे । सारा मतदाताहरू पहिले नै उनका निवासमा पुगेका रहेछन् । उनले सबैलाई धन्यवाद दिँदै भने- कतै धाँधली भए जस्तो लाग्दैन, तर यस्तो अप्रत्याशित नतिजा कसरी आयो ?

फेरि पनि तपाईँहरू सबैलाई धन्यबाद छ । नआत्तिनुहोस् । चुनाउमा जित र हार त भइरहन्छ नि । …उनी बोल्दै थिए । हुलबाट एक जना अघि बढे र हात जोडेर भने- हामीलाई माफ गर्नुहोस् । हामीले अन्त्यमा निर्णय बदल्यौँ र तपाईँलाई होइन, त्यसलाई मत दियौँ । तपाईँ चुनिएर जानु र त्यो पराजित भएर यहाँ बस्नु हामी सबैका लागि अभिशाप हुन्थ्यो, हाम्रो गास लुटिन्थ्यो, बास उठ्थ्यो । हामीले त्यसलाई यहाँ राख्न चाहेनौँ र तपाईँलाई छाड्न सकेनौँ । यो हाम्रो छनौट हो । हामीलाई माफ गर्नुहोस् । हामी तपाईँका साथमा छौँ ।…
उनी स्तब्ध भए ।

लेखकको ‘बोन्साइ’ लघुकथा सङ्ग्रह (२०६८) बाट
डा. कपिल लामिछाने,
भैरहवा ।

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.