~सरोजराज गोसाई~
दृढतामा चट्टानझैं उनी
सङ्कल्पमा आगोजस्तै
लाजले शिर कहिल्यै नुहेन
न त आत्मसमर्पणमा।
निहित स्वार्थ रतीपनि छैन
इमानदारीको हिमाल उठाउँछन्
पुस्तकका ठेलीकोे ज्ञान छैन
सिकेजति दिन खोज्छन्।
क्रान्तिको यज्ञमा सब अर्पण गर्छन्
सपना–विपनामा क्रान्ति देख्छन्
सिद्धान्त जपमाला होइन
व्यवहारको कसीमा सिद्धान्त घोट्छन्।
सहोदरले कामचोर भने उनलाई
आमाबुबाले जोगी भने
सँगातीले एक्लो वृहस्पति
तर उनी अथक छन्, विश्वासमा उस्तै।
कसैले तान्न वा घचेट्न नपर्ने
न त कसैले बिउँझाउनै पर्ने
तातो होस् वा चिसो वास्ता नगर्ने
न त मिठो–नमिठो मान्ने फुर्सत हुने।
भोकले छुत्तिमा जिम्मेवारी नछोड्ने
अप्ठ्यारोमा दूलो नखोज्ने
काममा आजै मरुँला गर्ने
आराम सधैं उधारोमा राख्ने।
‘भूत’सित सिँगौरी खेल्ने
पूर्व–पश्चिमको दूरी नापिरहने
क्रान्तिको बीउ हाल्न खनिरहने
फक्रिँदो कोपिला झर्न नदिने।
तानाशाहहरूले ठिङ्गुरामा हाल्दा
कारागारको गोलघरमा कोच्दा
छिद्रको प्रकाशमा संसार चियाउने
छालै काढियोस्, गोप्यता कायमै राख्ने।
रिस साँध्ने कैयौं थाके
शत्रु कहिले अघि कहिले पछि
वैरीका कुकुर त भुकिरहन्छन्
उनी हात्ती पो त, लम्किरहन्छन्।
फलामका सधैं फलाम मित्र हुन्नन्
विभिषणहरूको धोकाबाट तङ्ग्रिएकै छन्
दुःखका सारा पहाडले थिल्थिलो होस्
उनी सतिसाल रुखझैं उभिएकै छन्।
(स्रोत : मजदुर दैनिक)