कविता : म, हर्के र अर्को सालको दशैं

~धन लामा~

बि.ए.को सर्ट्टिफिकेट
सन्दुकमा कैद गरेर म,
बिहेको पहिलो मास नघर्कँदै
तरूणी दुलहीलाई चट्टक्क घरमा छाडेर
उ अर्थात हर्के
करिव-करिव एउटै समय
हामी दुवै अरब भासियौं,
पसिना सँग
अलिकति नुन र अलिकति मट्टितेल साँट्न ।
विमानस्थलको आवागमन द्वारमा
लासको दुई वटा बाकासलाई सलाम गर्दै
आस र आशंकाको पखेटा हालेर,
अरबको मरूभूमी चुमेको म,
जन्मभूमिलाई छाडेको गोटा साल भएछ ।
अण्डा उसिनिने मरूभूमीको तापमा
पसिनाको धारा तप तप चुहाउदै
रापिलो वालुवामा पैताला सेकेर
यता रंगीन सपना बुन्दै गर्दा,
हर्केको दुलही पोईला गईछ ।
हिजो मात्र जेठो दाजुको फोन आयो
र भन्नु भो फलाँटे वनको पाखाबारी यसपाली
बाँझै राखें मैले ।
साँधका सँधियार
बिल बहादुर र माईलोहरूले खेती गर्न छाडिसके
पालो, पर्म र पैंचो त एकादेशको कथा भयो,
पैसोले खेतालो पाईन्न,
बुबा र आमा बुढा बुढी हुनु भयो
पाखोमा बाँदरको बिगबिगी उस्तै
भाउजु र म मात्रा सब धान्न गाह्रो ।
नुन, तेल र महिनाको गोटा बोरा चामल त तिमीले धानेकै छौं नि !
आजै मात्र गोरखापत्रको अनलाईन संस्करणमा अर्थमन्त्रिको वक्तव्य पढ़ें मैले,
राष्ट्रलाई रेमिटेन्सले धानेको छ ।
करिव करिव एउटै समय
सपनाहरूको पोको पोकुन्तोरो काखी च्यापेरा
अरब भासिएको
बिहेको जन्ता र मर्दाको मलामी हर्के र म
सम्पर्क नभएको साँढे एक वर्ष भएछ ।
अस्ति साँझ थकाई लागेर
फ़ेसबुके डबलीमा यसो टहल्दै थिएँ,
नोटिफिकेसन् बारको बायाँ तिर
एउटा साथीको आग्रह
टुप्लुक्क झुल्कियो, साला हर्के पो रहेछ ।
हर्के बहकियो: मैले तिमीलाई कत्ति खोजिनँ,
प्रोफाइलमा आफ्नो तस्वीर त राख्नु पर्छ !
गुँरास तिम्रो मन पर्ने फूल हो,
त्यही अन्दाजमा एड गरेको
तिमी नै परेछ, ख़ुशी लाग्यो ।
मर्दा र पर्दा काम लाग्ने
हर्के र म फ़ेसबुके डबलीमा
एक अर्कालाई भेटेर औधी खुशी भयौं
फेसबुकको स्ट्याटस अपडेट र फोटाहरूमा
एक अर्काको लाईक र कमेन्ट पालो पैंचो गर्ने र
काम र दामको धपेडीमा परी,
काठको बाकसमा फर्कनु परेन भने
अर्को सालको दशैं आफ्नै गाउँमा
सँगसँगै मनाउने वाचा गर्यौं ।

हाल:अमेरिका

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.