~हरिकृष्ण काफ्ले~
कहिले रुन्छ कहिले हाँस्छ, कहिले गुन्गुनाउँछ मान्छे
सुख खोज्न कहिले यता, कहिले उता धाउँछ मान्छे ।
सुख सयल मोज भन्नु केवल मृगतृष्णा रे’छ,
मजा खोज्दा-खोज्दै एक दिन, मृत्युलाई पाउँछ मान्छे ।
न त ऊर्जा न उमङ्ग, कुनै अट्टहास छैन ।
परझर सरी जिन्दगी छ, खुसीको आभास छैन ।
मान्छेहरूले मङ्गलमाथि, आधिपत्य जमाई रहँदा,
कतिको चाहिँ यो धर्तीमा, सानो एउटा बास छैन ।।
विषभन्दा विषालु ता, धाकधम्की फुइँमा हुन्छ
खुकुरी र खुँडा भन्दा, बढी शक्ति सुइमा हुन्छ ।
सफलतालाई चुम्नेहरू, धरातललाई बिर्सदैनन्,
रुख जति अग्ले पनि त्यसको जरा भुइँमा हुन्छ ।
-चन्द्रनिगाहपुर, रौतहट
(स्रोत : मधुपर्क २०६८ असार))