~विप्लव ढकाल~
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !
…
सिमसारमा बजिरहेको होला नौमती बाजा !
शिरमा बाबरी फूलको मुकुट लगाएर
पाल्कीमा चढिसके होलान् दुलाहा राजा !
जलकुम्भी झारको गुन्द्रीमा बसेर
जुहारी खेलिरहेका होलान् आदिवासी चराहरू !
छमछम बजाउँदै भुइँफूलको पाउजु
उडिसके होलान् लोकन्ती भँवरा !
हिलोमा ‘ट्यार्र ! … ट्यार्र !!’ मङ्गल गीत गाउँदै
सङ्गीतका राजकुमारीहरूले
बोकिसके होलान् सगुनको थाली !
हे गाइने किरा !
अँधेरी खोलामा जानु छ मैले, सिमसारतिर जानु छ
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !
…
म एउटा बूढो शङ्खे किरा
अहिलेसम्म बाटोमै घस्रिरहेको छु !
मेरो वरिपरि बसेर रोइरहेका छन् धानचरीहरू !
बाटो छेकेर उनीहरू प्रश्न गर्छन् मलाई—
‘हामीले त रोपेका थियौँ कलकलाउँदो धानको बोट
तर आज खेतमा कसरी फल्यो प्लास्टिकको चामल ?
गोठमा भैँसी दुहुन गएकी थिइन् राजमती
तर आज बाल्टीमा कसरी भरियो कोकाकोलाको झोल ?
काउलीको फूलमा बसेको माहुरी पातमाथि झर्छ किन ?
निधारबाट पसिना खस्दा दुबोको मुना मर्छ किन ?’
हे दमाईं किरा !
गैरी खेतमा जानु छ मैले, तालतलैया जानु छ
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !
…
बारीभरि लटरम्म फलेका छन् चाउचाउका प्याकेटहरू
जङ्गलमा किन दुश्मनहरू रोइरहेछन् ?
चिम्सा आँखाहरू रोइरहेछन् कतै, चुच्चा नाकहरू रोइरहेछन् !
अङ्गोछा खोलेर रोइरहेछन् कोही, टोपी झिकेर रोइरहेछन् !
उनीहरूको आँसुमा भरिएको छ साइनाइड
उनीहरूको शरीरबाट झरिरहेको छ अजिनोमोतो !
गोजीमा नागरिकता जस्तो सुसाइड नोट बोकेर
सिमाना काटी कहाँ हराए तिनका सन्ततिहरू ?
जलकुम्भीको आहालभित्र— को गर्दै छ भातको राजनीति ?
साइत नबिगार भन्छु— सुन्दै सुन्दैनन् उनीहरू
हे फकिरा !
लेकैको कानेमा जानु छ मैले, औलाको मानेमा जानु छ
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !
***
(साभार- हिमाल खबर पत्रिका, २०७३ आश्विन १६)