~राजा पुनियानी~
नसोध्नू उसलाई
महङ्गो आइसक्रीमको स्वाद।
भर्खरै
ब्याट-बल-विकेट बोकेर जाने
सुकिला केटाकेटी कहाँ पुगे होलान्?
फुच्चा प्वाँख पल्हाएको
तिम्रो इच्छाको पखेटाले
आकाशतिर हेर्छ?
साँच्चै भन त,
तिमीलाई कहाँ दुख्छ बाबु?
– जस्ता बेइमानप्रश्नहरू गर्दै नगर्नू।
नछाम्नू उसका आलो घाउ
कुनै ओढ़ारको आदिम चित्र मुसारेझैँ।
ढुङ्गिलो छ भन्दै
उसको लड़ाकू मनको खिल्ली नउड़ाइदिनू।
उसलाई पढ़ाइ-लेखाइ,
स्कूल र आदर्शका कुरा बारे
देखिरहुँ-देखिरहुँ लाग्ने
जगमग-जगमग सपनाबारे
कहिल्यै केही नसोध्नू।
मात्र उसको नामको विस्फोटसित डराउनू।
साँझपख मनभरि
साँझै भरेर एकलो भित्ता हेर्दै एक्लैउसले कुन गीत गुनगुनाउँदो हो
– मात्र कल्पना गरिहेर्नू।
कुन धुन मन पर्छ उसलाई
– त्यो चाहिँ नसोध्नू।
कुन तालमा नाच्छ ऊ
– त्यो पनि नसोध्नू।
मात्र उसको नामको
विस्फोटसित डराउनू।
त्यसैले नसोध्नू
सोधिरहे उसले
एउटा देखिएको यथार्थ
उगेल्न लाग्दा अरूका अदेख यथार्थहरू एक-एक गर्दै
नाङ्गोझार बन्लान् यही
लफङ्गा इतिहासमा नाम लेखाउनलाई।.
मात्र उसको नामको
विस्फोटसित डराउनू।
उसको ठेगाना नसोध्नू जसरी
सोधिँदैन चराको।
उसको नाम समेत नसोधेकै राम्रो
जसरी नसोधेको राम्रो नाम अँध्यारोको।
उसको अनुहारविहीन अनुहारको
पृथिवी जत्रै आकार
उसको फोटो खिँच्नेको क्यामेराको स्मृतिमा नअँट्ला
त्यसैले उसको फोटो खिँचेर शताब्दीकै लावारिस समयको उपहास नगर्नू।
त्यसैले उसको अनुहारको रङ्ग पनि नसोध्नू।
आकार नखोज्नू र निराकार नजोख्नू।.
उसका प्रतिक्रिया शून्य आँखामा कसैले पढ़्न नखोज्नू
उसको हिजोविहीन भोलिको धमिलो मानचित्र।
मूर्दा ज्वालामुखीको मुखझैँ
उसको आजको ऊ हुनुको
बारुदी मुखमा नझोस्नू घमण्डी खिसीको माचिस।
ठूलो भएर के हुनु चाहन्छौ नानी – यस्तो मूर्ख भविष्यमुखी
प्रश्न गरेर उसको आजलाई नगिज्याउनू।
मात्र उसको नामको विस्फोटसित डराउनू।
मौन नदी किनार
दिन नउघ्रिकन डुल्न गएको
रोचक झझल्को नझिक्नू।
नसुनाउनू उसलाई
चिड़ियाखाना घुम्न गएको,
जादू हेर्नु गएको,
सिनेमा हेर्नु गएको।
उसको दमित ईर्ष्यालाई
आत्मभक्षी राक्षस बन्न नलगाउनू त्यसरी।
नउखेल्नू काँटीहरू
उसको सपनाको हातबाट।
सावधान,
थिच्न सक्छ उसको अघि उभिने कसैलाई पनि झरेर उसको सपनाको गह्रुँ शरीर।
मात्र उसको नामको विस्फोटसित डराउनू।
ऊ जब दुख्छ, नमुसार्नू उसको शिर।
सहानुभूतिको काँढ़े मुकुटले
उसलाई दुःखको सम्राट् नतुल्याइदिनू।
दयाको भीख नदिनू उसलाई।
सफाइको पाठ नघोकाउनू उसलाई किनभने
उसलाई धुलोको सत्य थाहा छ।
ऊ बोल्नेछैन।
बोल्दैन पनि।
कथङ्काल बोलिहालेछ भने
बोल्दा-बोल्दै उसको घर, गाउँ
र साथीहरूबारे
उसको स्वर सुक्छ-सुक्दैन
उसका आँखा भिज्छन्-भिज्दैनन्
– केहीनसोध्नू।
मात्र उसको नामको
विस्फोटसित डराउनू।
डम्म अघाउनुहरू,
ढुक्क निदाउनुहरू,
खितिति हाँस्नुहरू
उसका निम्ति घामको झुल्किनु र अस्ताउनुजस्तै रहस्य हुन्।
उसलाई अलादीन,
मेघकुमारी, सिण्ड्रेलाहरूको
कथा हुन्छ भनेर नभन्नू।
उसको मैला कोठा,
उसको लगातार बग्ने सिङान
र फाटिएको हाफप्यान्ट नै
उसका महाकथा हो।
तारा, बादल, फूल, पुतली, चराको कविता नसुनाउनू।
उसको भोको पेटभन्दा परर
बेनाम बाटोभन्दा उता
कुनै कविता छैन उसलाई।
मौसमको मूडबारे नसोध्नू उसलाई -मौसमको कसम
र मौसमको धोका दुवैसित
उसलाई के-को वास्ता?
घोमको पोल्नुले चिन्छ उसलाई
तर ग्रीष्म ऋतु जान्दैन ऊ।
बर्खामा भिज्नुले बुझ्छ उसलाई
तर वर्षा ऋतु चिन्दैन ऊ।
मात्र उसको नामको
विस्फोटसित डराउनू।
नसिकाउनू उसलाई चित्र
आँक्न
ुहुनसक्छ सड़कको पेटी उसले क्यान्भस छान्ला।
सबभन्दा उदास साँझ
उसले रङ्ग छान्ला।
त्यसैले
उसको फेबुरेट रङ्ग पनि नसेध्नू।
जसले देखेको छ आन्द्राभुँड़ीसम्म छर्लङ्ग ढोङ
जसले जिब्रोका सत्यको फर्स्टह्याण्ड अर्थ छिचोलेको छ
जसलाई न्यायजस्तो
शब्द सुन्नसाथ खटिरा चिलाउँछ
उसलाई नसोध्नू –
स्वतन्त्रताबारे।
गणतन्त्रबारे।देशबारे।
अनर्थ हुनुजाला
यस्ता जोखिम शब्दका
अर्थहरूबारे तबिर्सेर पनि केही नसोध्नू।
जसले चिनेको छ हाक्की तिरस्कारहरू जसले फरक मान्दैन
कुनै ईश्वर भन्ने धारणाको हुनु र नहुनुमा
जोस्वयम् हुन्छ आफ्नैआमा पनि र बाबा पनि उसलाई प्रेमबारे नसोध्नू।
उसलाई युद्धबारे नसोध्नू।
मात्र उसको नामको विस्फोटसित डराउनू।
बेहद शक्तिशाली भोको पेटको आवाज विस्फोट भएको पाईयो,
काँडैकाडाँ भएको जुत्ताले किचिएको धुलोको जिन्दगी को कथा पाईयो- जुन राजा पुनियानीमा पाईने काव्यिक शौन्दर्य हो…
बधाई छ- पृय आदरणीय कविज्यू…