~लता खरेल~
आज राति सपनामा
माथि माथि उँडेर पुगें
एउटा ठूलो सभा भईरहेको स्थानमा पुगें
अकस्मात ठूलो सभामा पुग्दा
अचम्म र अप्ठेरो महशूष भयो
न त मलाई निमन्त्रणा थियो
न मेरो तयारी नै थियो
साथमा साथिभाइ नभएको म एक्लो
फिरन्ते अनि घुमन्ते
सभाका सबैले मलाई हेरे
केहीलाई मैले चिनें
मुस्कुराउन खोजें
आँखा जुधाएँ, बोल्न खोजें
ओठ खुलाउन खोजें
सहजता नियालें
मलाई आँखाले नै चिथोरे जस्तो
हेराईले लघारे जस्तो, घोचे जस्तो आभाष भयो ।
मौनता पाएँ, खिन्नता भेट्टाएँ
इतिहासको पाना भित्र
कोतरिएको मानचित्र जस्तो
रगतै रगत पोतिएको देख्न थालें ।
यत्तिकैमा त्यहाँ भाषण शुरु भयो
हामीलाई न सत्ता न भत्ता,
न राज्य कब्जा,
हामीले देशको लागि रगत बहाएको
प्राणको आहुति दिएको,
ज्यानको बलिदान गरेको,
नेपालीको अस्तित्वको रक्षाका खातिर
सार्बभौम सम्पन्न बनाउनका लागि
अदम्य शाहस र बिरताका बलिदान हाम्रो
आदर्श मार्ग र मेलमिलापका लागि
बिकास र उन्नतिका लागि
राष्ट्र हितका लागि
नेपालीको अस्तित्व रक्षाका लागि
सिङ्गो राष्ट्रका लागि
सुन्दा सुन्दै बर्तमान राजनीति र
बर्तमान अबस्थाले मलाई घोच्न थाल्यो
रित्तो काख र उजाडिएको सिउँदोले गिज्याएको झैं लाग्यो
सहमति सहमतिका नाउँमा
देश बिखण्डन तिर गैरहेको याद आयो
संक्रमणकालिन नेपालको राजनीतिले
कन्चनजंघाको अदृष्य मोहकता खोक्रिएको झैं लाग्यो
मेरो घर र कार्यालय
अलग अलग राज्यमा पो पर्दैन ?
डर लाग्न थाल्यो
मेरो झापा भित्रको मूल घर पहाडमा म चाहिं मधेशमा ?
पृथकताबादी आन्दोलन चल्ने हो की ? शंका लाग्यो
भूगोल खोस्ने र जोड्ने दाउमा लागेकाले मेरो शरीर नै खोस्ने हुन् की ?
मेरा हात पाउ थरथराउन थाले
आँशाबाट आँशु बर्षन थाले
ठीक यही बेला पर सभामा
लखन थापा झोक्राएका थिए
धर्मराज, शुक्रराज, गंगालाल, दशरथ चन्द आँशु पुछ्दै थिए ।
कृष्णलाल, बल बहादुर, उमेश बिक्रम
सुँक सुँक गर्दै थिए
झापा आन्दोलनका शहीदहरु
………………..
………………………..
भक्कानिदै थिए ।
राम थापा, सुरज बिश्वास, राजन गिरी निउरिएका थिए ।
अनि बल्ल म बोलें
खबरदार ! शहिदको रगतको मोल तिर्नै पर्छ !
म झल्यास्स ब्युँझिएँ ।
भद्रपुर १४ झापा
मोवाइल ९८४२६३७२६०