कविता : सम्झौता

~टिका भाई ~tika-bhai

१.
सेतो झन्डा बोकेर
आत्मीयहरूको सव बटुल्ने
कारुणिक क्षण।
तिमी हाँस वा रोऊ

असमान सम्झौताको
जुठो गाँस
निल्न खोज वा उगेल्न खोज
निसन्देह
तिमी/हामी
इतिहासको अर्को धब्बा हौँ।

२.
पहिला
गोली ठोकियो
भुइँमा ढलेको लाससित सहवास गरियो
अनि मृतकको बुडी-औंलाको थ्याप्चे अपहरण भयो
अन्तमा अपहरित थ्याप्चे ठोकिएको लिखित दस्तावेज
टालीदिए हाम्रो निधारको नोटिस बोर्डमा।

३.
यसचोटी नभुकी
पुच्छर हल्लायो

हड्डी नै हड्डीको
सम्झौता गरेर घर फर्कियो
र भन्यो

खा भाइ खा!
यही नै हाम्रो अनुहार हो।

४.
आत्म-पराजितहरू कान-कानमा साउती गर्छन
भन्छन:

हामी गर्जिन्छौँ
जसरी बाघ गर्जिन्छ।
बाघ नै त हौँ
तर
बन्द चिडियाखानामा

स्वाधिनता स्वादिलो होइन
हाम्रो निम्ति
सित्तैमा झर्ने मासु भन्दा

हाम्रो गर्जनले मक्काउन नसकेका फलामे किल्ला
हाम्रो भगवान हो।
कति-कति भोजहरूले पनि अघाउन नसकेको पेट
हाम्रो भगवान हो।

५.
हत्केलाको भर,
घाम छलेर
उ विश्वस्त छ
-‘मैले पुरै उज्यालो र एउटा दिन रोकिदिएँ’
निर्लज्ज,
यही विश्वासमा
एक-एक कपडा फुकाल्दैछ

भद्रहरूको बन्द आँखा र उसको नग्नता
एक अनौठो सम्झौता।
हेर्न लायकको छ।

कालेबुङ
July 11, 2012

(स्रोत : स्पन्दन अक्षर यात्रा )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.